विदेशको जेलमा नेपाली : लागुऔषध सम्बन्धी मुद्दा र अदालतबाट फैसला भइसकेका बाहेकका लागि मात्रै कानुनी प्रतिरक्षा

 बैशाख १९, २०७६ बिहिबार १२:२७:१९ | मोहन पौडेल

काठमाण्डौ – उदयपुरका गंगाबहादुर मगर २०७४ असोज १४ गतेदेखि मलेसियाको जेलमा हुनुहुन्छ । सन् २०१५ मा मलेसिया गएका उदयपुरका गंगाबहादुर आफ्नै साथीको हत्या गरेको अभियोगमा जेल पर्नुभएको हो ।

सँगै बस्ने साथीलाई अरुले पेटमा चक्कुले हानेको र गंगाले पेटबाट चक्कु निकालेर अस्पताल लैजान खोज्दा त्यही समयमा प्रहरीले भेटेकाले उहाँ जेल पर्नुभएको हो ।
मोरङका सोनाम मगर पनि मलेसियामै जेल परेको एक वर्ष हुन लाग्यो ।

उहाँ पनि हत्याकै आरोपमा जेल पर्नुभएको हो । ६ वर्षअघि मलेसिया गएका सोनाम मगर बर्दियाका रोशन थापाको हत्याको अभियोगमा जेल पर्नुभएको हो ।गंगाबहादुर मगर र सोनाम मगर जस्तै वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली कामदार अहिले विभिन्न देशमा जेल जीवन बिताइरहेका छन् । 

गएको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार विदेशका विभिन्न जेलमा १९ महिला र ५ सय २६ पुरुष गरि ५ सय ४५ जना रहेका वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डको तथ्याङ्क अनुसार युएईमा जेल पर्ने १ सय ८५ जनामध्ये १२ महिला, कुवेतमा ५८ जनामध्ये ३ महिला, मलेसियामा २ सय ५ जना जेलमा रहेकोमा २ जना महिला छन् ।

यस्तै साउदी अरबमा  ५४ जना, कतारमा ३५ जना, ओमानमा तीन जना जेल परेका छन् । ओमानमा जेलमा रहेका तीन जनामध्ये २ जना महिला छन् । रोजगारीका लागि बहराइन पुगेका ५ जना जेल परेको बोर्डले जनाएको छ । 

सबैभन्दा बढी नेपाली मलेसियाको जेलमा रहेको सरकारी तथ्यांकले देखाउँछ । मलेसियाका विभिन्न जेलमा २ सय ५  बढी नेपालीले विभिन्न किसिमका अपराध अभियोगमा जेल जीवन भोगिरहेका छन् । मलेसियामा पनि सम्झौताभन्दा धेरै समय बस्ने, नक्कली कागजात र भागेर काम गरेको मुद्दामा नेपालीहरु जेल पर्ने गरेका छन् । 

यस्तै कुवेतमा जेल पर्ने नेपाली महिलालाई अनैतिक सम्बन्ध राखेर अवैध गर्भधारण गरेको झुटो आरोप लाग्ने गरेको छ । खाडीका देश र मलेसिया जाने नेपालीहरु सम्बन्धित  देशको नियम कानुन थाहा नहुँदा, झगडा गर्दा, श्रम अनुमति नलिई काम गर्दा र आफू खुशी काम गर्ने ठाउँ परिवर्तन गर्दा जेलमा पर्ने गरेको देखिएको छ । 

नेपालीहरु छुट्टा छुट्टै कारणले जेल परे पनि त्यसपछि अपनाउनुपर्ने कानुनी उपाय अपनाउन नसक्दा जेलमै बस्न बाध्य छन् । यही समस्यालाई ध्यानमा राखेर सरकारले विभिन्न मुद्धा लागेका तर अदालतबाट दोषी ठहर नभएकाहरुका लागि कानुनी प्रतिरक्षा गर्ने भएको छ । 

तर सरकारले गर्ने यस्तो प्रतिरक्षा जेलमा रहेका सबैका लागि हुने छैन । यस्तो प्रतिरक्षा हत्या र लागुऔषध ओसारपसार जस्ता गम्भीर प्रकृतिका मुद्दा लागेका र अदालतबाट आदेश भइसकेका बाहेकका लागि गरिने वैदेशिक रोजगार बोर्डले बताएको छ ।

‘हत्या र लागुऔषध ओसारपसार जस्ता गम्भीर  प्रकृतिका मुद्धा लागेका र अदालतले फैसला गरिसकेकाको हकमा हामीले केही गर्न सक्दैनौं’ बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले उज्यालोसँग भन्नुभयो, ‘हामीले सहयोग गर्ने भनेको आरोप लागेका तर निर्दोष रहेकाहरुका लागि हो ।’

हत्या आरोप लागे पनि प्रमाणित नभएको तर निर्दोष रहेको देखिएमा त्यस्ता व्यक्तिलाई पनि कानुनी प्रतिरक्षा गरिनेछ । आरोप लागेको व्यक्ति निर्दोष भए÷नभएको चाहिँ सम्बन्धित देशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले निक्र्यौल गर्नेछन् ।

‘दूतावासहरुले समय समयमा गर्ने जेल भ्रमणमा जेलमा रहेको व्यक्तिको गल्ती छैन भन्ने निष्कर्ष निस्कियो भने त्यस्ता व्यक्तिलाई हामीले कानुनी प्रतिरक्षाका लागि सहयोग गर्ने हो’ श्रेष्ठले थप्नुभयो । 

दूतावास र नियोगहरुले सिफारिस गरेपछि बोर्डले कानुनी प्रतिरक्षाका लागि १५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । अहिले बोर्डमा दूतावासहरुबाट विभिन्न देशमा रहेका ७÷८ जना नेपालीलाई कानुनी प्रतिरक्षाका लागि सिफारिस आएको बोर्डले जनाएको छ ।

यी सिफारिसका बारेमा बोर्डले अध्ययन गरेपछि कानुनी प्रतिरक्षाका लागि सम्बन्धित देशमै अधिवक्ता नियुक्त गर्न रकम उपलब्ध गराइने बोर्डका कार्यकारी निर्देशक राजप्रसाद श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया