विश्वकपको सेमिफाइनल प्रवेशका लागि रसिया र क्रोएसिया खेल्ने

 असार १८, २०७५ सोमबार ७:१५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबलको सेमिफाइनल प्रवेशका लागि रसिया र क्रोएसिया खेल्ने भएका छन् । आइतबार रातिका आ–आफ्ना खेल जित्दै दुवै देशले क्वार्टरफाइनलको भेट पक्का गरेका हुन् ।

आइतबारको दोस्रो खेलमा क्रोएसियाले डेनमार्कलाई ३–२ ले हराएको हो । नाटकीय रहेको पेनाल्टी सुटआउटमा क्रोएसियालाई क्वार्टरफाइनल पुर्याउन गोलकिपर डेनियल सुबेसिचले उत्कृष्ट प्रदर्शन गरे । उनले पाँच मध्ये तीन पेनाल्टी बचाएका थिए । चार जनाले पेनाल्टी प्रहार गर्दासम्म २–२ गोलको स्थितिमा रहेको खेलमा क्रोएसियाका ईभान राकिटिचले गोल गर्दै क्रोएसियालाई विजयी गराए ।

खेलको अतिरिक्त समयको अन्तिम समयमा क्रोएसियाले पेनाल्टी पाए पनि गोल गर्न नसक्दा पेनाल्टी सुटआउटबाट निर्णय गर्नुपरेको थियो । कप्तान लुका मोड्रिचले प्रहार गरेको पेनाल्टी डेनमार्कका गोलकिपर क्यास्पर सेमाइकलले बचाएका थिए ।

नोभ्गोरोड स्टेडियममा खेल सुरु भएको चार मिनेटमै २ गोल भए पनि बाँकी १ सय १६ मिनेटसम्म दुवै टोलीले गोल थप्न सकेनन् । खेलको पहिलो मिनेटमै माटिस होर्गेनसनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । तर चौथो मिनेटमै मारियो मान्जुकिचले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

किपरको करामत 

पेनाल्टीमा दुवै टिमका सुरुका एक एक प्रहार किपरले बचाएका थिए । डेनमार्कका क्रिष्टियन इरिक्सन र क्रोएसियाका मिलान बादेलको प्रहार गोलकिपरले बचाएका थिए । त्यसपछि डेनमार्कका सिमाने कार र माइकल क्रोन तथा क्रोएसियाका अन्द्रे क्रामारिक र लुका मोड्रिचले गोल गर्दा खेल २–२ को स्थितिमा पुग्यो । 

त्यसपछि डेनमार्कका लास्से सोन र क्रोएसियाका जोसिप पिभारिकको प्रहार पनि गोलकिपरले विफल बनाए । निकोलाई योर्गेनसनको पाँचौं पेनाल्टी गोलकिपर सुबेसिचले बचाए । तर इभान राकिटिचको पाँचौं पेनाल्टी गोलमा परिणत भएपछि क्रोएसिया क्वार्टरफाइनलमा पुगेको हो ।

आइतबारको पहिलो खेलमा आयोजक रसियाले स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टर फाइनलमा पुगेको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया