१३ औंँ सागको तयारीका लागि संसदीय उपसमिति गठन

 साउन १९, २०७६ आइतबार १२:२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३ औंँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको अनुगमन गर्न संसदीय उपसमिति पनि गठन गरिएको छ । 

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंंहदरबारमा बसेको बैठकले राष्ट्रको इज्जतसँग जोडिएको सो खेलकुद प्रतियोगिता सफल बनाउने गरी सरकारलाई आवश्यक निर्देशन दिन ५ सदस्यीय उपसमिति गठन गरेको हो । प्रतियोगिता राष्ट्रको इज्जतसँग जोडिएको विषय भएकाले त्यसलाई तोकिएको समयमा सफलतापूर्वक सम्पन्न हुनेगरी तयारी गर्ने कार्यमा सरकारलाई सघाउ पुर्‍याउने उद्देश्यका साथ समितिका सदस्य जीवनराज श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो ।

उपसमितिका अन्य सदस्यहरुमा नमिताकुमारी चौधरी, गजेन्द्रबहादुर महत, नविना लामा र नारायणप्रसाद  मरासिनी रहनु भएको छ । खेलकुद प्रतियोगिता आउँदाे मंसीर १५ गतेदेखि २४ गतेसम्म नेपालमा आयोजना हुँदैछ । त्यसको तयारीको कामको अनुगमन गरी सरकारलाई आवश्यक निर्देशन दिने कार्यादेश पनि उपसमितिलाई दिइएको समितिकी सभापति घर्तीले बताउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडीहरुको तयारीका लागि आवश्यक तालिम, प्रशिक्षणको उचित व्यवस्थापनको काममा तीव्रता दिन  सरकारलाई सचेत गराउनु भएको थियो । समितिका सदस्य खगराज अधिकारीले प्रतियोगिताका खेलाडीहरुको तयारी र पूर्वाधार विकासका लागि आवश्यक व्यवस्थापनको काममा तीव्रता दिन सरकारलाई सचेत गराउनु भयो ।

समितिका अर्का सदस्य उमेश श्रेष्ठले खेलकुद प्रतियोगिताको तयारीका लागि अन्तराष्ट्रिय खेलकुद संघ, संस्थाहरुसँग सहयोग लिन पनि सरकारलाई सुझाव दिनुभयो । उहाँले देशको प्रतिष्ठासँग जोडिएका यस्ता खेलकुद प्रतियोगिताको तयारीको कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने पनि स्पष्ट पार्नुभयो ।

समितिका सदस्यहरुले खेलाडीहरुलाई आवश्यक पोषणको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भएको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया