कश्मीर मुद्दामा चीन पाकिस्तानको साथमा छ : पाकिस्तानी विदेश मन्त्री

 साउन २५, २०७६ शनिबार ७:४१:५१ | एजेन्सी
unn.prixa.net

भारत प्रशासित कश्मीरलाई प्राप्त विशेष राज्यको दर्जाको संवैधानिक प्रावधान धारा ३७० हटाएको विरोधमा पाकिस्तानले लगातार आवाज उठाइरहेको छ । भारतको पछिल्लो कदमको पाकिस्तानले आलोचना गर्दै आएको छ । 

पाकिस्तानले यस विषयमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने भरमग्दुर प्रयास गरिरहेको छ । 

यसैबीच पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशी चीन पुगेका छन् । बेइजिङमा उनले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् । भारतले लद्दाखलाई केन्द्रशासित प्रदेश बनाएको चीन पनि रिसाएको छ । उसले आफ्नो असन्तुष्टि भारतसामु राखिसकेको छ । 

पाकिस्तानी विदेश मन्त्री कुरैशीले चिनियाँ समकक्षीसँगको घेटघाटपछि भारतको आक्रामक कदमले दक्षिण एसियालाई नै खतरामा पारेको चीनको धारणा रहेको बताएका छन् । कुरैशीले चिनियाँ समकक्षीसँगको भेटघाटको तस्बिर सार्वजनिक गर्दै ३ वटा ट्वीट गरेका छन् । 

पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले पहिलो ट्वीटमा लेखेका छन्, ‘आज मैले चीनका विदेश मन्त्री वाङ यी तथा अन्य अधिकारीका साथ निर्णायक छलफल गरेँ । पाकिस्तान र चीनबीचमा भाइचाराको सम्बन्ध रहेको छ । चीनले आज पाकिस्तानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’

त्यस्तै अर्को ट्वीटमा कुरैशी चीनका विदेश मन्त्रीले भारतको पछिल्लो कदमले कश्मीरी नागरिकलाई कष्ट पुगेको तथा उनीहरुको आवाज दबाइएको मान्ने बताउँछन् । भारतको पछिल्लो कदमले पुरै क्षेत्रलाई खतरामा धकेलेको चिनियाँ धारणा रहेको पाकिस्तानी विदेश मन्त्री कुरैशी दाबी गर्छन् । 

तेस्रो ट्वीटमा कुरैशी भन्छन्, ‘पाकिस्तान शान्ति र स्थिरत ल्याउन चाहन्छ ।  त्यसमा चीनले समर्थन गरेको छ । हामी मिलेर कश्मीरका नागरिकको आवाज विश्वसामु उठाउनेछौँ ।’

यसभन्दा पहिले चीनले कश्मीर मुद्दामा भारत र पाकिस्तानले संयमता अपनाउनु पर्ने बताएको थियो । चीनले दुवै देशले यथास्थिति परिवर्तन हुने खालका एकतर्फी कदम चाल्न नहुने बताएको थियो । 

चीनको बयानको प्रतिक्रियास्वरुप भारतले आफूले दोस्रो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरुबाट पनि त्यही अपेक्षा गरेको बताएको थियो । 

भारतको पछिल्लो कदमबाट रिसाएको पाकिस्तानले प्रतिक्रियात्मक कदम चालिरहेको छ । उसले भारतसँगको द्विपक्षीय कारोबार बन्द गरिसकेको छ । पाकिस्तानले इस्लामाबादमा रहेको भारतीय उच्च आयुक्तलाई फिर्ता पठाउने तथा नयाँ दिल्लीमा रहेका आफ्ना उच्च आयुक्तलाई फिर्ता बोलाउनेसमेत निर्णय गरिसकेको छ ।

त्यस्तै पाकिस्तानले लाहोरबाट भारतको अटारीबीच चल्ने रेल ‘सम्झौता एक्सप्रेस’ सधैँका लागि बन्द गर्ने घोषणा गरेको छ । पाकिस्तानका रेल मन्त्री शेख रशीद अहमदले आफूले सम्झौता एक्सप्रेस ‘सधैँका लागि बन्द गर्ने’ घोषणा गरेको बताएका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया