उत्तरसहितकाे प्रश्नपत्र बाँडेपछि परीक्षा रद्द

 असोज १०, २०७६ शुक्रबार १५:२५:४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – शिक्षक सेवा आयोगद्वारा शुक्रबार लिइएको माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाअन्तर्गत अंग्रेजी विषयको समूह ‘घ’ को प्रश्नपत्रमा त्रुटि भेटिएको छ । 

परीक्षार्थीहरुलाई बाँडिएको वस्तुगत प्रश्नपत्रमा उत्तर पनि सँगै प्रिन्ट भएर आएपछि परीक्षा केही समय स्थगित गरी फेरि सञ्चालन गरिएको छ । परीक्षार्थीहरुले गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसको ‘ख’ परीक्षा केन्द्रमा ४० पूर्णाङ्कको समूह ‘घ’ को प्रश्नपत्र हल गरिरहेको १५ मिनेट बितेपछि त्यो कुराको जानकारी पाएका हुन् ।

प्रश्नपत्र त्रुटिपूर्ण रहेको केन्द्रबाट खबर आएपछि त्यो उत्तर पुस्तिका रद्द गरी, आयोगको निर्देशनअनुसार समय थप गरी, फेरि परीक्षा सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख महेन्द्र सुवेदीले बताउनुभयो ।  

देशैभरि सञ्चालन भएको अंग्रेजी विषयको समूह 'घ' अन्तर्गतका सबै वस्तुगत प्रश्नहरुमा एकै प्रकारको समस्या आएपछि आयोगले त्यो उत्तर पुस्तिका संकलन गरी फेरि प्रश्नपत्र पठाएपछि ४० मिनेटको समयावधि थप गरेर परीक्षा सञ्चालन गरिएको हो । 

कार्यालयको प्रयोजनको लागि प्रकाशन गरिएको वस्तुगत प्रश्नपत्रमा एकातर्फ प्रश्न थियो भने अर्कोतर्फ उत्तरलाई बोल्ड अक्षरमा छापिएको थियो । परीक्षार्थीहरुले भने आयोगको यस्तो प्रकारको लापर्वाहीका कारण आफूहरुलाई समेत समस्या परेको बताएका छन् । 

अध्यापन अनुमति पत्रका लागि अंग्रेजी विषयको परीक्षा दिने एक सय ४६ जना परीक्षार्थीहरु मध्ये ‘ख’ केन्द्रका ४० जना विद्यार्थीहरुले मात्र फेरी परीक्षा दिएका हुन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया