बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महराकाे बयान दशैँपछि

 असोज २०, २०७६ सोमबार ७:५४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - बलात्कार प्रयास गरेको आरोपमा आइतबार पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान दशैँपछि मात्र सुरु हुने भएकाे छ ।

अहिले सरकारी वकिलको कार्यालयमा दशैँकाे बिदा रहेको र कार्यालय खुलेपछि मात्रै बयान महानगरीय प्रहरी परिसर,काठमाण्डाैका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

सरकारी वकिलकाे कार्यालयको दशैँ बिदा २६ गतेसम्म छ । त्यस्तै पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि अदालतमा बिदा दिइएको छ ।

महराको बयान प्रहरी परिसर टेकुले नै लिने एसएसपी उत्तमराज सुवेदीले बताउनुभयो । उहाँका अनुसार महराविरुद्ध जबरजस्ती करणी उद्योग र महिला हिंसामा मुद्दा चलाइनेछ । मुलुकी अपराध संहिता अनुसार यो आरोप पुष्टि भएमा उहाँलाई तीन वर्ष ६ महिना वा ५ वर्षसम्म कैद हुनेछ । 

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार साँझ नै प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्ला अदालत काठमाडौले पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले सभामुख निवास वालुवाटारबाटै महरालाई पक्राउ गरेको हो ।

पक्राउ परेका महरालाई महानगरीय प्रहरी वृत्त, सिंंहदरबारमा राखिएको छ ।

पीडित भनिएकी महिलाले बानेश्वर प्रहरी वृत्तमा उजुरी दिए पनि प्रहरी प्रधान कार्यालयको निर्देशनमा महरालाई सिंंहदरबारमा राखिएको हो । महरालाई बानेश्वर वृत्त र काठमाडौ परिसरको प्रहरी टोलीले पक्राउ गरेको हो । महरालाई पक्राउ गर्न प्रहरी भ्यानसहित वालुवाटार पुगे पनि महराले प्रहरीको गाडी नचढ्ने भने पछि उ‍हाँकै गाडीमा राखेर प्रहरीले हिरासतमा पुर्‍याएको थियो ।

कर्मचारी रोशनी शाहीले बलात्कारको प्रयास गरेको आरोप लगाउँदै महराविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । आइतबार काठमाण्डाै जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले महरालाई पक्राउ गर्न बाटाे खुलेकाे थियाे।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया