राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरुद्वारा विजयादशमीकाे शुभकामना प्रकट

 असोज २१, २०७६ मंगलबार ६:४९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विजयादशमीको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री र विभिन्न दलका नेताहरुले शुभकामना दिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास गर्नुभएको छ ।

सुख, शान्ति र समृद्धिको कामना गर्दै दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले चाडपर्वको सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान एवं गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गर्नुभएको छ । उहाँले सामाजिक सु-सम्बन्ध र सु-प्रबन्धमा यस्ता चाडपर्वले विगतदेखि नै योगदान गर्दै आएको भन्दै यसरी नै योगदान गर्दै जाओस् भन्ने कामना गर्नुभएको छ ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक पर्व विजया दशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने चाडका रुपमा मनाइँदै आएको दशैँको शुभकामना दिनुभएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया