राष्ट्रपति र प्रधानमन्त्रीले आज विशिष्ट व्यक्ति तथा शुभेच्छुकहरुलाई टीका लगाइदिनुहुने

 असोज २१, २०७६ मंगलबार ८:५१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आज दशैँको टीका लगाइदिनुहुने भएको छ ।

राष्ट्रपति भण्डारीले आज दिउँसो १ देखि २ बजेसम्म सरकारका वरिष्ठ अधिकारीहरुलाई टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पहिलो चरणमा उपप्रधानमन्त्री, मन्त्री, सांसद, न्यायाधीशहरु र संवैधानिक निकायका पदाधिकारी र उच्च सरकारी अधिकारीहरुलाई टीका लगाइदिने कार्यालयले जनाएको छ । दोस्रो चरणमा दिउँसो साँढे दुईदेखि साँढे तीन बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजेपछि कार्यकर्ता र शुभेच्छुकलाई सरकारी निवास बालुवाटारमा टीका लगाइदिनुहुने भएको छ । उहाँले दिउँसो २ देखि ४ सम्म मन्त्री, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई टीका लगाईदिने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहाकार कुन्दन अर्यालले जानकारी दिनुभयो

। यस्तै दिउँसो ४ देखि बेलुकी ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाइदिनुहुनेछ । यो वर्ष आज मात्र टिका लगाइदिने उहाँले बताउनुभयो । 
प्रधानमन्त्री ओलीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिनुहुनेछ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया