ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी छानबिनलाई व्हाइटहाउसले नसघाउने

 असोज २२, २०७६ बुधबार ९:५७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

डेमोक्रेटिक दलका सांसदले थालेको राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगको छानबिनलाई नसघाउने राष्ट्रपति कार्यालय ह्वाइटहाउसले जनाएको छ ।

राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन भइरहेको छानबिन दलीय पूर्वाग्रहपूर्ण र असंवैधानिक भन्दै ह्वाइटहाउसले विपक्षी दलका सांसदले थालेको छानबिनलाई नसघाउने बताएको हो । डेमोक्रेटिक दलका शीर्ष नेताहरुलाई पत्र लेख्दै ह्वाइट हाउसका वकिलले पक्षपातपूर्ण एवं उचित प्रक्रिया नअपनाइएका छानबिनमा नसघाउने बताएको बीबीसीले जनाएको छ ।

यसअघि राष्ट्रपति ट्रम्पले युरोपेली संघका लागि अमेरिकी राजदूतलाई सदनले थालेको छानबिनमा बयान नदिन निर्देशन दिनुभएको थियो । तर सभामुख न्यान्सी पेलीसीले राष्ट्रपति ट्रम्पले छानबिनमा बाधा पुर्‍याएको बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको विवादास्पद फोन वार्ताको तयारी तथा अन्य विषयबारे सोधपूछ गर्न राजदुतलाई बोलाउने अमेरिकी सदनको तयारी छ । अमेरिकी संसदमा डेमोक्रेटिक पार्टी नेताको नेतृत्वमा रहेका तीनवटा समितिले राष्ट्रपति ट्रम्पमाथि महाअभियोय लगाउनेबारे छानबिन गरिरहेका छन् ।

युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध छानबिन गराउन दबाब दिएको आरोपमा ट्रम्पमाथि छानबिन भइरहेको छ । ट्रम्पविरुद्ध महाअभियोग लगाउन दुई वटा उजुरी समेत परेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया