वीर अस्पतालमा मैले जे देखेँ...

 पुस ४, २०७६ शुक्रबार १४:३२:५ | विना न्याैपाने
unn.prixa.net

वीर अस्पतालको मुख्य गेटबाट भित्र छिर्नेबित्तिकै अन्दाजी ६० वर्षीय आमा देखेँ, सुतिरहनुभएको थियो । यो चिसोमा एक जोर लुगा लगाएर बोरामा मस्त निदाएको देखेर अघि बढेका मेरा पाइला त्यहीँ रोकिए ।

दायाँबायाँ हेरेँ, उहाँको आफन्त कोही देखिनँ । मभन्दा पहिला पुग्नेहरुसँग सोध्दा उल्टै ‘कसको ठेक्का कसले लिएर को छ र ?’ भन्ने जवाफ आयो । लाग्यो, साँच्चै मानवता हराएछ । अरु ठाउँमा त यस्ता धेरै गतिविधि हुन सक्लान् । तर अस्पतालमा पनि यस्तो हुन्छ भन्ने सोचेको थिइनँ । मस्त निद्रामा भएकाले उहाँलाई बिउँझाउन चाहिनँ ।

म आफू पनि उपचारका लागि पहिलो पटक वीर अस्पतालमा गएको थिएँ । अन्य अस्पतालमा उपचार गराउँदा कुनै सकारात्मक संकेत नदेखिएपछि वीर अस्पताल पुगेको थिएँ । 

दुखाइ धेरै भएकाले एक घण्टा लाइनमा बस्दा झन् पीडा भयो । भित्र छिरेपछि बस्ने ठाउँसमेत थिएन । कुन डाक्टरकोमा कता जाने, पत्तो भएन । सबैतिर हेरेँ । बस्ने कुर्सीदेखि उभिने ठाउँसम्म घुइँचो । सबैलाई बाहिर लाइनमा राखेर व्यवस्थित देखाउन खोजे पनि भित्र त्यस्तो अवस्था देखिएन ।

ढोकाबाट छिरेपछि ‘जसको शक्ति उसकै भक्ति’ भनेझैं देखिन्थ्यो । मभन्दा नाजुक अवस्था भएकालाई अगाडि जान भनेर सबैतिर हेरेँ । दुखाइले सीमा नाघ्दै थियो, पालो आयो । 

सबै कुरा डाक्टरलाई भनेपछि ‘रगत र खकारको रिर्पोट आएपछि मात्रै औषधि दिन मिल्छ’ भन्ने जवाफ आयो । डाक्टरको जवाफले झसंग बनायो, कतै केही गम्भीर रोग त होइन ? त्यहाँबाट फर्किएर रगत र खकार दिने ठाउँमा गएँ । त्यहाँ पनि उस्तै अव्यवस्थित लाइन थियो ।

दुई घण्टा लाइनमा उभिएपछि बल्ल पालो आयो । जाँचका लागि रगत र खकार बुझाइसकेपछि सोधेँ, रिपोर्ट कतिबेला आउँछ ? आदेश आयो, ‘भोलि यही समयमा आउनु ।’ त्यो पनि राम्रोसँग भनेको भए हुन्थ्यो नि ! आज दिएको रगत र खकारको रिपोर्ट भोलि आउने, रनभुल्लमा परेँ । महसुस भयो, यही कारणले भनिएको रहेछ ‘सरकारी अस्पताल’ ।

त्यसबेला नै दुखेर अस्पताल गएको म भोलि फेरि त्यही समयसम्म कसरी पीडा खपेर बस्न सक्छु र ? सामान्य बिरामी भएर गएको बिरामीको त यस्तो अवस्था छ भने मभन्दा धेरै पीडितको हालत के होला ? 

फेरि उनै डाक्टरलाई भेट्नुपर्ने थियो । जसले मलाई सुरुमा भनेका थिए, रिर्पोट नआइ औषधि दिन मिल्दैन । डाक्टर’साब मेरो दुखाइ धेरै छ, तपाईंलाई रिपोर्ट भोलि नै देखाउन नसकिने रै’छ  । फेरि भोलि तपाईंको ओपीडी तालिका देखिनँ, के गरौं ? 

डाक्टरको जवाफ आयो, ‘त्यसो भए म औषधि लेखिदिन्छु तर छातीको एक्सरे पनि हेर्नुपर्छ ।’ एकछिन पर्खिनु म अहिले नै एक्सरे गरेर आउँछु भनेर तल्लो तल्लामा गएँ । पहिला बिल काट्नु पर्ने भएकाले त्यहाँ पनि लाइनमा बस्नुपर्‍यो ।

१५ मिनेट लाइन बसेपछि बल्ल पालो आयो तर काउन्टरबाट ‘एक्सरे चलेको छैन होला एक पटक बुझेर आउनु’ भन्ने जवाफ आयो । अचम्मै लाग्यो । एक्सरेको काउन्टरमा बस्नेलाई मेसिन चलेको नचलेको पत्तो छैन ! यस्तो पनि हुन्छ र कतै ? काउन्टरमा बस्ने हैसियत भएकाले जाबो मेसिन चलेको नचलेको बुझ्न सक्दैन ? कि सरकारी अस्पतालमा यस्तै गरे पनि चल्छ ? यस्तै प्रश्नको झटारो हानेर आफै गएँ बुझ्न, तर एक्सरे मेसिन चलेको रहेनछ । 

फेरि डाक्टरकोमा गएँ । डाक्टर सा’ब मेसिन नचलेको धेरै भैसकेको रहेछ । कुनै पहल गर्नु भएन ? प्रश्न सोध्न नपाउँदै डाक्डरको जवाफ आयो, ‘यो सरकारी अस्पताल हो, प्राइभेट होइन ।’

त्यसो भए तपाईं सरकारीमा किन काम गर्नुहुन्छ ? जानुस् प्राइभेटमा । के सरकारीमा आउने नागरिकले सेवा पाउनै हुन्न भन्ने छ ? यति मात्रै के भनेको थिएँ डाक्टरले उल्टै प्रश्नको भावमा भने, ‘तपाईं केमा काम गर्नुहुन्छ ? आजसम्म कसैले यसरी प्रश्न गर्न सकेको थिएन । हामी भोलि नै पहल गर्छौं ।’ मेरो कामसँग भन्दा पनि औषधिसँग सरोकार राख्नुहोस्, डाक्टर’साब भनेपछि एक हप्ताको लागि तीन वटा औषधि लेखिदिए ।  

औषधि किन्न फार्मेसीमा जाँदा त्यसपछि त्यहाँ पनि उस्तै लाइन । २० मिनेट पछि बल्ल पालो आयो । पालो त आयो, तर फार्मेसीमा एउटा मात्रै औषधि रहेछ ! एउटा औषधि लिएर अन्य औषधिको लागि बाहिरको फार्मेसीमा गएँ । त्यहाँ औषधि त थियो तर मूल्य लेखिएको थिएन । मूल्य नभएको औषधि लैजान्नँ भनेर अर्कै पसलमा गएँ । त्यहाँ औषधि पनि थियो  मूल्य पनि । दुवैको मूल्य हेरेँ । कति पर्छ भनेर मैले हिसाब निकालेको थिएँ, तर पसलेले त्योभन्दा धेरै भने ।

अरुलाई औषधिमा १० प्रतिशत छुट हुन्छ भन्ने कुरा थाहा रहेनछ । मैले भनेपछि मभन्दा अगाडि जाने अन्दाजी ४५ वर्षीया महिलाले अचम्म मानेर सोध्नुभयो, ‘यो तपाईंलाई मात्रै हो कि हामीलाई पनि मिल्छ ?’ मैले सबैले औषधिमा १० प्रतिशत छुट पाउनुपर्छ । यो हाम्रो अधिकार हो भनेपछि उहाँले पनि छुट माग्नु भयो । 
उहाँले समेत छुट पाएपछि दुखाइ हराएको महसुस भयो । थोरै भए पनि खुशी लिएर घर फर्किएँ ।

अन्तिम अपडेट: जेठ १२, २०७७

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

1 Comments

  • Padam

    Dec. 23, 2019, 10:43 a.m.

    Its an example of mismanagement of public institution. If this is the case of famous Bir Hospital - Kathmandu, can't think about other areas. No one to question the public servant surviving with the taxpayers money. Hope the voices will be heard/ recognized and one day we will have better services and place to live in. Thank you for compiling the factual report and Get Well Soon Bina.

  •  0 Reply

तपाईको प्रतिक्रिया