दाङका प्रहरी प्रमुख भट्टराईविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

 पुस १८, २०७६ शुक्रबार १५:४२:१८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईविरुद्ध दाङ देउखुरी जिल्ला अदालतमा अदालतको अवहेलनाको मुद्धा दर्ता भएको छ ।

विप्लव समूहका नेता कार्यकर्तालाई अदालतले धरौटीमा छोड्न आदेश दिएपछि धरौटी बुझाउने क्रममा लछारपछार गर्दै फेरि गिरफ्तार गरेको भन्दै प्रहरी प्रमुख भट्टराई र जिल्ला प्रहरी कार्यालयविरुद्ध अवहेलनाको मुद्धा दर्ता भएको हो ।

घोराही-१६ की शिबा बोहरा, घोराही १७ की छिमा पुन, तुलसीपुर १२ की सीता ओली र लमही ३ का उमिरलाल चौधरीले अदालतले धरौटीमा छोडेका व्यक्तिलाई नियन्त्रणमा लिने कार्यले अदालतको अवहेलना भएकाे भन्दै प्रहरीविरुद्ध मुद्धा दर्ता गराउनुभएको हो ।

विप्लव समूहका नेताहरु तिलक पुन, एकराज चौधरी, धनबहादुर बोहरा र कुलबहादुर ओलीलाई अदालतले जनही १५ हजार रुपैयाँका दरले धरौटीमा छोड्न आदेश दिएको र प्रहरीले मुद्दा दर्ता कक्षमै अमानवीय ढंगले नियन्त्रणमा लिँदा अदालतको अवहेलना भएकाेले कारबाहीको माग गरिएको छ ।

निवेदनमा अवहेलना गर्नेहरुमाथि एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग गरिएको छ ।

गएको असोज ३० गते विप्लव समूहका २१ जना नेताहरुलाई पक्राउ गरिएको थियो । अदालतले पुस ७ गते जनही १५ हजारका दरले धरौटी माग भएको तर फेरि पक्राउ पर्ने भएपछि उनीहरु कारागार गएका थिए ।

अन्तिम अपडेट: चैत ८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया