मेरो पहिलो र अविस्मरणीय जहाज यात्रा : काठमाण्डाैबाट विराटनगर

 पुस १९, २०७६ शनिबार १७:५९:३९ | राेशन केसी
unn.prixa.net

सानोमा आकाशमा जहाज उडेको देख्नेबित्तिकै हात हल्लाएर त्यो जहाज क्षितिजमा नबिलाएसम्म ‘बाइ’ गरिन्थ्यो । मैले कताकता सानोमा सुनेको थिएँ, आकाशमा उडेको जहाजलाई ‘बाइ’ गर्‍यो भने जहाजबाट चकलेट, बिस्कुट, चाउचाउ दिन्छन् भनेर । 

कति ‘बाइ’ गरियो तर आकाशमा उडेको जहाजबाट एउटा चकलेटको खोलसम्म पनि कहिल्यै झरेन । अहिले सोच्दा लाग्छ बेकारमा बेवकूफ मात्रै बनिएछ । तर, सधैँ चकलेट, बिस्कुट, चाउचाउको लोभमा जहाजलाई ‘बाइ’ गरिरहँदा मनमा धेरै कुराहरु आउँथ्यो ।

‘त्यसरी जहाजमा बसेर उड्न कति मज्जा आउँछ होला ?’ ‘कस्तो देखिन्छ होला माथिबाट हेर्दा यो दुनियाँ ?’ यस्ता अनेकौँ प्रश्न, कौतुहल सधैँ मनमा आउँथ्यो ।

यदि जमिन छोड्नु र दशैँमा पिङ खेल्नुलाई उडेको मान्ने हो भने, त्यही पिङ खेल्दा हो म उडेकोे ।

एकपटक मनकामना जाँदा केबुलकार चढ्ने मौका जुर्‍याे । ओहो ! त्यो यात्रा अहिले सम्झिँदा पनि डरले मन सिरिङ्ग हुन्छ । खुट्टाको पैतालामा गह्रौ भएझैँ हुन्छ । एउटा डोरी, त्यसमा झुन्डिएको डब्बा । त्यहाँ बसेका मान्छे अनि त्यो डोरीमा झुन्डिएर हिँड्ने त्यो डब्बाबाट तल देखिने त्रिशूली नदी ।  

त्रिशूलीमा हुने भयानक घटनाको समाचार । त्यो उचाइ अनि कुहिरोमा पसेपछि कुनै पनि कुरा नदेखिनु र जाँदै गरेको भेउसम्म पनि नपाउनु । अब, केही अरु किन चाहियो डर लाग्न । त्यो निक्कै डरलाग्दो केबुलकारको यात्रा गरियो । यदि जमिन छोड्नु र केबुलकार चढ्नुलाई उडेको मान्ने हो भने, त्यही केबुलकार चढ्दा हो म उडेको । 

अब, उड्नलाई जहाज चढ्नैपर्ने हो भने चाहिँ मौका कहिल्यै जुरेको थिएन । तर, मनकामना जाँदा केबुलकारको डरलाग्दो यात्रा गरेपछि जहाज चढ्ने मन हुँदाहुँदै डर पनि लाग्न थालेको थियो । डर किन भन्दा, केबुलकारलाई त्यसरी त्यस्तो बलियो तारले समातेको हुन्छ र त्यो उड्ने उचाइ पनि कम हुन्छ । र त खस्ला भन्ने डर थियो मलाई ।

अब जहाजलाई न त समात्ने डोरी हुन्छ, न त समाउने हात । त्यसमाथि मैले सुनेको थिएँ, जहाज त ५०/६० हजार फिटको उचाइमा उड्छ । तर डर हुँदा पनि चढ्ने रहर एकदमै थियो । 

जहाज त मैले धेरै पटक चढेँ । तर, जहाजको यात्रा खासै मज्जा आउने खालको नहुने रहेछ भन्ने लाग्यो । आकाशमा उड्यो, बादलभन्दा अरु केही देखिँदैन होला । अनि, त्यसमा पनि ५ घण्टा, ६ घण्टा बसिराख्नुपर्ने । पट्यारलाग्दो हुने होला । अझ एकजना साथीले १४ घण्टा प्लेनको यात्रा गरेको सुनाइन् । यो सम्झेर त झन् कहाली लाग्यो । त्यसरी १४ घण्टा जहाजमा बसेर के गर्ने होला ?

बस चढ्दा त ठाउँठाउँमा रोेकेर चिया खान त पाइन्छ । तर, जहाजमा त त्यसो गर्न पनि नमिल्ने । अब, आकाशमा कहाँ साइड लगाउन मिल्नु । बसबाट यसो झ्याल बाहिर टाउको निकालेर चिसो हावाको आनन्द लिन पाइन्छ । अब जहाजमा त्यसो गर्न नमिल्ने होला । तर, जे भए पनि म कहिल्यै जहाज नचढेको मान्छेको लागि जहाज चढ्न पाए के–के न हुन्थ्यो भन्ने भावना चाहिँ थियो । 

यो त एकपटक पनि जहाज नचढ्दाको कुरा । यसबीचमा धेरैपटक जहाज चढेको छु । केही महिनाअघि मात्रै चीन गएर आएको हुँ । त्यहाँ रहँदा धेरैपल्ट जहाज चढेँ । तर आफ्नो पहिलो माया, पहिलो गाडी, पहिलो घर, पहिलो स्कुल, पहिलो साथी र यस्तै–यस्तै कुरा याद आउँछ भनेझैँ मलाई पनि मेरो पहिलो जहाज यात्राको निक्कै सम्झना आउँछ । 

चीनको यात्राबाट फर्किँदा गोन्जाउ एयरपोर्टमा शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटेको थिएँ । उहाँसँगै एउटै जहाजमा आएको सम्झना पनि छ । तर, यो सम्झनाभन्दा पनि मलाई काठमाण्डौदेखि विराटनगरसम्मको मेरो जीवनको पहिलो जहाज यात्रा निकै रोचक र यादगार लाग्छ । 

किनकि मेरो पहिलो जहाज यात्रा कुनै फिल्मको दृश्यभन्दा कम छैन । 

समयले कहिलेकाहीँ चाहेको कुरा दिन्छ भनेझैँ आजभन्दा दुई वर्षअघि काम गर्ने संस्थाबाट तालिमका लागि झापा जानुपर्ने भयो । तालिमका लागि रुपेश श्रेष्ठ र म झापा जाने कुरा भयो । 

फेसबुकमा च्याट गर्दा रुपेश सरले एउटा निकै रोचक कुरा भन्नुभयो, ‘आई थिन्क वि शुड टेक अ फ्लाइट ।’ यो सुन्ने बित्तिकै मेरो मन मस्तिष्कमा खुसी, डर, आश्चर्यको भावनाको बाढी आयो । तर यी कुराभन्दा पनि ज्यादा एउटा जिज्ञासा आयो ।

पढ्दा तपाईँलाई पनि हाँसो लाग्ला । जहाजमा जानुपर्ला भन्नेबित्तिकै मैले रुपेश सर र मेरो एकजना साथीलाई म्यासेज गरेँ, ‘डु आइ नीड पासपाेर्ट टु ट्राभल टु झापा, बिकज आइ डोन्ट ह्याभ पासपाेर्ट?’ (झापा जानलाई राहदानी चाहिन्छ कि चाहिँदैन, किनकि मसँग राहदानी नै छैन।’ 

जवाफमा रुपेश सरले ‘हाहा’ पठाउनुभयो । अनि मेरो साथीले ‘पर्दैन, नेपालभित्र घुम्न राहदानी चाहिँदैन, नागरिकता भए पुग्छ’ भनिन् । अनि त्यसपछि लाग्यो ए ! जहाज भन्या नि बस चढ्या जस्तै रहेछ । अनि घरमा फूर्तिसाथ भनेँ, ‘पर्सि हामी त जहाज चढेर झापा जाने रे ।’

ओहो ! त्यसपछि घरमा त मेरो शान नै बेग्लै । किनकि मेरो घरमा जहाज चढ्ने म पहिलो व्यक्ति बन्दै थिएँ ।

बिस्तारै दिनहरु बित्दै थियो र आयो ‘जहाज चढ्ने दिन’ । त्यो दिन बिहानैदेखि मौसम एकदमै रिसाएजस्तो धुम्म परेर मुख फुलाएर बसेको थियो । मलाई आज जहाज चढ्न पाइन्न कि भन्ने तनाव भयो । मैले सुनेको थिएँ, मौसम खराब हुँदा जहाज उड्दैन भनेर । तै पनि, हातमा पहेँलो ब्याग, ब्यागमा लुगा अनि मनमा डर र उत्साह बोकेर लागियो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ।

सायद मेरो जीवनको पहिलो उडान सफल बनाउन मौसमलाई मन थियो होला । मौसम पनि खुलेर आयो । मेरा तनाव पनि अलिक कम हुँदै गयो । तर डर बढ्न थाल्यो । 

डर लाग्दै गर्दा २ः३० बजेको जहाजमा म र रुपेश सर विराटनगर उड्न लाग्यौँ । यति सजिलै र बिना कुनै घटना मेरो पहिलो जहाज यात्रा भने पक्कै सकिएन । पहिलो यात्रा रोचक हुन्छ भनेर मेरो साथीले मलाई ‘सुरक्षित यात्रा’ भनेर भनिन् । उनको कुराले मलाई यात्रा रोचकभन्दा पनि डरलाग्दो हुन्छ जस्तो लागिरहेको थियो । 

प्रवेशद्वारबाट छिरेर उड्दा र विराटनगरसम्मको कुरा सम्झने हाे भने हिन्दी फिल्ममा देखाइने दृश्य र हाम्रो यात्रा ठ्याक्कै उस्तै छ । 

म र रुपेश सर सामान लिएर गेटमा पुग्याैँ । हामीलाई हाम्रो जहाज उड्ने समय बाहेक कुन जहाजमा उड्दैछौँ भन्ने नै थाहा थिएन । 

गेटबाहिर बसेर हाम्रो टिकट बुकिङ गरिदिने व्यक्तिलाई फोन गर्न थाल्याैँ । हाम्रो जहाज उड्ने समय थियो, २ः३० । घडीमा बज्यो २ः२० । अनि बल्लबल्ल आयो हाम्रो टिकट बुकिङ गरिदिने मान्छेको फोन । उनले भनेपछि थाहा भयाे हामी यति एयरको जहाजमा विराटनगर जाने रहेछाैँ। योे जानकारी र कागज उनले रुपेश सरको मेलमा पठाएको जानकारी गराए । 

हामी गेटबाट छिर्‍याैँ र ब्याग जाँच गरायौँ ।  यतिको काउन्टरमा पुगेर बुझ्दा हामीलाई बोर्डिङ पास थमाउँदै काउन्टरकी महिलाले जहाज रन वेमा जान तयार भएको भनिन् । उनले बोर्डिङसहित जानकारी पनि दिइन्, ‘जहाज छुट्ने संभावना छ ।’ 

उनको यो कुराले मेरो मनमा चिसो पस्यो । डर लागे पनि जहाज त चढ्न पाइन्थ्यो, तर यो मौका नि जाने भयो भन्नेझैँ लाग्यो । 
यसपछि भने सुरु भयो हाम्रो फिल्मी शैलीमा जहाजसम्मको यात्रा ।

काउन्टरबाट भित्र छिरेपछि दोस्रो सुरक्षा जाँच हुने रहेछ । त्यहाँ सामान जाँच गराएपछि ब्यागमा ट्याग लगाइने रहेछ । त्यसपछि सामान आफूले नभइ जहाज कम्पनीले लैजाने नियम हुने रहेछ । तर, हामी ढिला भएका कारण सामान हामी आफैँलाई लैजानको लागि जाँच गर्ने व्यक्तिले सुझाए । अनि, त्यसपछि छेउमा रहेका एकजना दाइ हामीभन्दा अगाडि कुद्न थाले । हामीले ती दाइको पिछा गर्‍यौँ । हामीलाई कुदाउँदै ती दाइले अर्काे कोठामा पुर्‍याए । 

यतिसम्म त ठिकै थियो तर अचम्म त त्यतिबेला लाग्यो, जब अर्काे कोठामा पुग्ने बित्तिकै एकजना युवतीले ढोकाबाटै हामीलाई हेरेर ‘विराटनगर’ भनेर सोधिन् । मैले र रुपेश सरले राम्ररी ‘हो’ पनि भन्न नपाउँदै उनी हतारमा आफैँ कुद्दै ढोका छेउको काउन्टरमा पुगिन् । बोर्डिङ पास हाम्रो हातबाट लिएर च्यातिन् ।

हतारमा कुदाउँदै बससम्म पुर्‍याइन् । बसमा म र रुपेश सर आफ्नो सामानसँगै छिर्‍यौँ । बसमा थियाैँ म, रुपेश सर, बस चलाउने दाइ । मेरो पहेँलो ब्याग, अनि रुपेश सरको गुडाउने ब्याग । बस गुड्न लाग्यो अनि सुरु भयो हाम्रो जहाजसम्मको बस यात्रा ।

त्यो दिन जहाज हामीलाई मात्रै कुरेर बसेको रहेछ । मानौँ कि हामी संसारका चर्चित सुपरस्टार हौँ । अरुलाई यस्तो नलागे पनि जहाजमा सवार अरु यात्रीलाई चाहिँ पक्कै लागेको हुनुपर्दछ ।

हामीलाई बसबाट झरेको देखेपछि पाइलट जहाजभित्र पसे । परिचारिकाले ढिलै आए पनि हामीलाई हाँसेर नमस्कार गरिन् । रुपेश सरको ब्याग उनले राखिदिने भनिन्, तर मेरो ब्याग आफैँ राख्नुस् भनेर भनिन् । म, मेरो पहेँलो ब्याग र घाँटीमा क्यामेराको ब्याग झुन्डाएर आफ्नो सिटमा बसेँ । मलाई रुपेश सरले झ्यालपट्टि बस्न दिनुभयो । 

बसेपछि अर्काे फिल्मी दृश्य । मलाई सीटपेटी लगाउन आएन । रुपेश सरले देख्नुभयो । मुसुक्क हाँसेर लगाइदिनु भयो । हरेक मान्छेको दिन आउँछ भनेझैँ पछि चीन जाँदा मसँगै रहेको एक भाइलाई पनि सीटपेटी लगाउन आएन । मैले पनि शानसँग मुसुक्क हाँसेर उसको सीटपेटी लगाइदिएँ । 

रुपेश सरले सिटपेटी लगाइदिएपछि सुरु भयो विराटनगरको यात्रा । ३५ मिनेट लामो, जमिनबाट १ हजार ३ सय ५० फिटमाथि, काठमाण्डौदेखि विराटनगरसम्मको मेरो पहिलो जहाज यात्रा ।  

जहाज रन वेमा कुद्न थाल्यो अनि डर बढ्न थाल्यो । डर लाग्दा–लाग्दै मोबाइल झिकेर आफ्नो पहिलो यात्रा कैद गर्ने प्रयत्न गरे । जहाज जमिनमा हुँदासम्म त ठिकै थियो । तर जब जहाजले गोठाटारतिरबाट जमिन छोड्यो, तब मुटु ढुकढुक हुन थाल्यो । पैतालामा करेन्ट लागे जस्तो भयो । अनुहार रातो भयो । सायद  रक्तचाप पनि बढ्यो होला ।

मनभित्रको ढुकढुक त बाहिरै सुनिन थालेको जस्तो भयो । 

जहाज र डर दुवैले बिस्तारै उचाई लिन थाले । जहाजले उचाई लिँदा त त्यति महशुस भएन । तर जबजब जहाजले आफ्नो उचाई अलि कम गर्थाे तब तब डर, पारोभन्दा छिटो माथि चढ्थ्यो ।

बादललाई छेडेर अघि बढ्दै गरेको जहाज जब कुनै बेला हल्लिनथ्यो ।  मन आत्तिन्थ्यो । अनि, बस र जहाजमा केही फरक रहेनछझैँ भन्ने पनि लाग्यो । किनकि बस पनि यसरी नै हल्लिन्थ्यो खाल्डोमा पर्दा । तर, फरक भनेको बस खाल्डोमा पर्दा हल्लिन्थ्यो भने जहाज बादलमा छिर्दा हल्लिने रहेछ । र त्यसलाई टर्बुलेन्स भनिने रहेछ । टर्बुलेन्सले जहाजसँगै मलाई पनि धेरै नै हल्लायो ।

सर्ट, पाइन्ट, घाँटीमा क्यामेराको ब्याग अनि रातो र डराएको अनुहार र सिटमा बलियोसँग टाँस्सिएर बसेको म जहाजमा हल्लिन पनि डराइरहेको थिएँ । 

जहाजमा एउटा रमाइलो घटना पनि भयो । परिचालिकाले बदाम, चकलेट दिएकी थिइन् । डरले हो कि भोकले त्यो चाहिँ खाएँ । त्यसपछि उनले पानी दिइन् । डरले भन्ने कि, उत्साहले या हडबडीले घाँटीमा झुण्डिएको क्यामेराको ब्यागले त्यो पानी मेरो सीटमा पोखियो । पाइन्टसहित मेरो सबै तल्लो भागमा लगाएको लुगा पुरै भिज्यो । 

त्यो देखेर रुपेश सरले हाँसेर भन्नुभयो ‘ओर्लिंदासम्म सुक्छ ।’

रोचक कुरा त, पानी पोखिएको ठाउँबाट उठ्न मलाई डर लाग्यो र त्यहीँ बसिरहेँ । रुपेश सरले भनेझैँ साँच्चिकै ओर्लिंदा मेरो पाइन्टसहितका लुगा पनि सुक्यो,

यो घटनाले पनि मेरो यात्रा अविस्मरणीय बनायो ।

डर यति लागेको थियो कि जहाजको पखेटा पनि मैले जहाज अवतरण हुनुभन्दा १ मिनेट अगाडि मात्रै होला पुरै हेरेको । नत्र त, सीटमा यसरी टाँस्सिएर बसेको थिएँ कि मेरो हलचलले जहाजले सन्तुलन गुमाउला जस्तो । लामो सास फेर्दा पनि साह्रै डर लागेको थियो ।

लगभग ३५ मिनेटपछि पाइलटले जहाज अवतरणकोे जानकारी दिएपछि डर लाग्दालाग्दै पनि कति चाँडो आयो विराटनगर भन्ने लाग्यो । तर, डरको करले कहिले बित्छ यो ३५ मिनेट भनेर दुई पटक घडी चाहिँ हेरेको थिएँ ।

जहाज अवतरण भयो । हामी ओर्लियौँ विराटनगर एयरपोर्टमा । ३१ डिग्रीको हावा र ढाकाको खादाले हाम्रो स्वागत गर्दै रहेछ । फेसबुकमा पोस्टिन र सम्झनाका लागि २–३ वटा फोटो लिइयो । त्यसपछि हामी बाहिर निस्कियौँ र लाग्यौं गन्तव्य इटहरीतर्फ ।

यसरी डरको घरको दलिनबाट बाहिर चिहाउँदै मैले मेरो जहाजको पहिलो यात्रा गरें । त्यो पनि सकुशल र रमाइलोसँग । कहिल्यै नबिर्सिने गरी ।

जहाजले जमिन छोडेर उड्दा म डराइरहेको देखेर रुपेश सरले मेरो डर कम गर्न रमाइलो शैलीमा भन्नुभएको कुरा म अहिले पनि सम्झन्छु, ‘विराटनगरको उडानमा अहिलेसम्म त्यस्तो केही भएको छैन ।’  

साँच्चै उहाँले भनेझैँ विराटनगरको उडानमा त्यस्तो केही भएन ।

अन्तिम अपडेट: फागुन ४, २०७६

राेशन केसी

केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया