डोटीमा भत्काइयो २८ छाउगोठ

 पुस २७, २०७६ आइतबार १७:५:५८ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीमा एक हप्तादेखि स्थानीय जनप्रतिनिधि र प्रहरीको सक्रियतामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ ।

परम्पराका रुपमा मानिँदै आएको छाउपडी प्रथाको अन्त्यका लागी छाउगोठ भत्काउने अभियानलाई सक्रिय रुपमा अगाडि बढाइएकाे हाे । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाका अनुसार अभियान अन्तर्गत बडिकेदार गाउँपालिकामा रहेका १८ वटा छाउपडी गोठ भत्काइएको छ ।

पालिका–३ सिदुरेपानीमा रहेका १० वटा छाउपडी गोठहरु स्थानीय आफैँले भत्काएको प्रहरीले जनाएको छ । गोठ भत्काउनको लागी विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको छ ।

उपरीक्षक देउवा भन्नुहुन्छ ‘प्रहरी आफैँ छाउपडी गोठ खोज्दै हिँडेको छ । गोठ देख्ने बित्तिकै भत्काउन आदेश दिएका छौँ । केही ठाउँमा स्थानीय आफैँले गोठ भत्काउन थालेका छन् ।’ छाउगोठ भत्काउनका लागी सरकारी र गैरसरकारी संस्थाले समेत सहयोग गरिरहेका छन्  । 

अभियानलाई सफल पार्न पालिकासँगको समन्वयमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘छाउगोठ कहाँ–कहाँ कति छन्, सूचना लिएका छौँ । त्यही आधारमा गोठ भत्काउन प्रहरी टोली परिचालन गर्ने गरेका छौँ । अब, छाउगोठ बनाउनेलाई कडा कारवाही गर्छौँ।’

डोटीलाई आउँदो फागुन महिनाभित्र छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने योजना रहेको छ । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजनामा हालै सम्पन्न छाउपडी प्रथा उन्मूलन संयन्त्रको बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधिले डाेटीलाई फागुन मसान्तसम्म छाउपडी गोठमुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए ।

अभियानलाई बेवास्ता गर्नेलाई पालिकाबाट दिइने सम्पूर्ण सेवा सुविधाबाट बञ्चित गर्नुका साथै कानुनी कारवाही गरिने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘छाउपडी कुप्रथाले समग्र सुदूरपश्चिमकै शीर निहुँर्‍याएकाे छ । त्यसैले शसक्त रुपमा छाउपडी गोठ भत्काउन लागी परेका हौँ ।’

आफ्नो पालिकामा प्रहरीसँग सहकार्य गरेरै जनचेनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले छाउपडीका नाममा मानिँदै आएको यस विकृतीको अन्त्यका लागी छाउगोठ भत्काउन सबै पालिकालाई पत्राचार गरिसकेको छ । डाेटीमा कम्तीमा पनि एक सयको हाराहारीमा छाउगोठ रहेको अनुमान गरिएको छ ।  
 

अन्तिम अपडेट: चैत ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया