सडक रेखाको सङ्केत

 माघ १०, २०७६ शुक्रबार १५:५४:३३ | राेशन केसी

काठमाण्डौ – सडकमा विभिन्न ट्राफिक सङ्केत रेखा कोरिएका हुन्छन् । सडकमा कोरिएका सेता र पहेँलो रंगका रेखाले विभिन्न सङ्केत जनाएका हुन्छन् । त्यही रेखाको आधारमा  सडकमा गाडी गुड्ने गर्छन् ।

सडकमा कोरिएको सेतो रेखाले लेन क्रस, जेब्राक्रस लगायतको सङ्केत गर्छ ।  यस्तै, पहेँलो रेखाले आपतकालीन अवस्थामा गाडी रोक्ने, बिग्रेको गाडीलाई रोक्ने र सचेत भएर गाडी चलाउने भन्ने सङ्केत गर्छ । 


सडकको बीचमा कोरिएको नछुट्टिएको एउटा समानान्तर रेखाले आउने र जाने गाडीको लेन छुट्याउने गर्छ । समानान्तर रेखाभित्र रहेर मात्रै चालकले गाडी चलाउनुपर्छ । यस्तो रेखा भएको ठाउँबाट गाडी ओभरटेक गर्न, मोड्न वा घुमाउन पाइँदैन । 
 
सडककाे बीचमा काेरिएकाे यस्तो समानान्तर रेखा कुनै–कुनै ठाउँमा टुटेको हुन्छ । यसरी टुटेको रेखाले गाडी मोड्न, घुमाउन वा ओभरटेक गरेर जान मिल्छ भन्ने सङ्केत गर्छ । 


सडकमा देखिने दोहोरो समानान्तर रेखाले सबैभन्दा मजबुत लेन हो भन्ने सङ्केत गर्छ । यस्तो समानान्तर रेखाले त्यहाँबाट पार गरेर जान वा त्यसलाई छुन समेत पाइँदैन भन्ने सङकेत गर्छ । प्रायः सडकमा केही खतरा छ है भन्ने सङ्केत जनाउन यो रेखा कोरिन्छ ।

प्रायःजसो, बढी दुर्घटना हुने सडकमा यस्तो सङ्केत राखिएको हुन्छ । कोटेश्वर–कलंकी सडकखण्डमा यो रेखा देखिन्छ । यस्तो रेखा भएको ठाउँमा चालकले ध्यान दिएर गाडी चलाउनुपर्छ ।

यस्तो रेखा भएको ठाउँमा कहिलेकाहीँ दुवै रेखा टुक्रिएको देखिन्छ । कतै एकातिरको मात्रै रेखा टुक्रिएको देखिन्छ । दुवै रेखा टुक्रिएको छ भने त्यहाँबाट आउने र जाने दुवैतिरको गाडीले सुरक्षित रुपमा ओभरटेक गर्न, मोडिन, यू–टर्न गर्न पाउँछन् । तर, रेखाको एकातिर मात्रै टुक्रिएको र अर्काेतिरको समानान्तर छ भने जतापट्टिको रेखा टुक्रिएको छ, त्यतापट्टिका गाडीले मात्रै ओभरटेक गर्न, मोडिन, यू–टर्न गर्न पाउँछन् । नछुट्टिएको रेखापट्टिका गाडीहरुले भने पाउँदैनन् । 

 
सडकमा देखिने यस्तो चिह्नलाई जेब्राक्रस भनिन्छ । यसले पैदल यात्रीलाई सुरक्षित रुपमा बाटो काट्न सकिन्छ भन्ने सङ्केत जनाउने गर्छ । पैदलयात्रीले जेब्राक्रसबाट मात्रै बाटो काट्न पाउँछन् । जेब्राक्रसमा गाडी रोक्न पाइँदैन । गाडी जेब्राक्रसभन्दा अगाडि हुने सेतो धर्साभन्दा पछाडि नै रोक्नुपर्छ । जेब्राक्रसभन्दा अगाडि कोरिएको सेतो धर्सालाई स्टप लाइन भनिन्छ । 


सडकमा कोरिएको साइकलको चित्रले यो सडक साइकल लेन हो भन्ने सङ्केत गर्छ । साइकल लेनमा साइकल नचलेको बेला मात्रै गाडी गुडाउन पाइन्छ । तर धेरै देशमा साइकल लेनमा गाडी गुडाउन पाइँदैन ।
 


सडकको छेउमा कोरिएको पहेँलो रेखाले चालकलाई सचेत रहने सङ्केत गर्छ । सडकमा कोरिएका यस्तो रेखाले सडक सकिएकाले ख्याल गरेर गाडी चलाउ भन्ने सङ्केत गर्छ ।

यस्तै सडकको छेउमा कोरिएको टुक्रिएको पहेँलो रेखाले आवश्यकता र आपतकालीन अवस्थामा केही समयको लागि गाडी रोक्न पाइने तर पार्किङ गर्न नपाइने भन्ने जानकारी दिन्छ । नटुक्रिएको समानान्तर पहेँलो रेखा कोरिएको ठाउँमा गाडी रोक्नसमेत पाइँदैन । 
 
यस्तो पहेँलाे रेखा भएको ठाउँमा गाडी बिग्रिएको बेला रोक्न पाइन्छ भने पछाडि आएको गाडीलाई अगाडि जान साइड दिनुपर्छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

राेशन केसी

केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया