सडकमा हुने सम्भाव्य दुर्घटनाबाट बच्न यी कुरामा ध्यान दिऔँ

 फागुन ४, २०७६ आइतबार १४:३५:३४ | विपिन गाैतम
unn.prixa.net

काठमाण्डाै - सडक दुर्घटनाबाट दैनिक ७ जना मान्छेले ज्यान गुमाउने ट्राफिक प्रहरीकाे तथ्याङ्कले देखाउँछ ।

दुर्घटना कम गर्नको लागि भनेर ट्राफिक प्रहरीले विभिन्न सचेतनाको कार्यक्रम र कक्षाहरु सञ्चालन गरेको छ । यस्तो कदम चाले पनि सडक दुर्घटनामा ज्यान गुमाउनेको सङख्यामा खास कमी आएको छैन । दुर्घटनाको जोखिमबाट बच्नको लागि ट्राफिकको मात्रै नभइ सडक सञ्जालसँग जोडिएका सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।

यसमा विशेष भूमिका सडक प्रयोगकर्ता अर्थात् गाडी चालक, मोटरसाइकल चालक, पैदलयात्रीकाे हुन्छ । सडक प्रयोग गर्दा सडक प्रयोगकर्ताले केही कुरामा मात्रै ध्यान दिने हो भने सुरक्षित हुनुका साथै जाम पनि कम हुने ट्राफिक प्रहरीका पूर्व डीएसपी विपिन गौतम बताउनुहुन्छ । उहाँका अनुसार यी केही कुरा सडक प्रयोगकर्ताले विशेष ध्यान दिनुपर्छ ।

समय राखेर घरबाट निस्कने

सबैजसो दुर्घटना तीव्र गतिका कारण हुने गर्दछ । चालकले समयको ख्याल नगरेका कारणले गति तीव्र पारेकाे पाइने गरेकाे छ । समय छ भनेर बेवास्ता गरेर ढिला निस्कँदा चालकले गति बढाउँछन् । यसले दुर्घटना र त्यसबाट हुने क्षतिको जोखिम पनि बढ्छ । यसलाई कम गर्नको लागि घरबाट निस्किँदा समय राखेर अलि छिटो निस्कनुपर्छ ।

१० बजे पुग्ने ठाँउमा ९:५० मा पुगेर सुरक्षित बन्न सकिन्छ । १० मिनेटले ज्यान जोगिन्छ भने छिटो निस्किने बुद्धिमता हो । हतारमा हुँदा सडकमा रहेका गाडीहरुकाे सङख्या, गति र अवस्था, पैदल यात्रीहरुको बारेमा ध्यान कम जान्छ । अरु गाडीको गति र अवस्थामा भन्दा आफू पुग्ने ठाँउ र हतार भएको कुरा ख्यालमा रहने भएकोले दुर्घटना हुने जोखिम हुने हुँदा घरबाट चालक अलिक छिटो निस्किनुपर्छ ।

गाडीको दूरी र गतिका बारेमा बुझ्ने

चालकले गाडी वा मोटरसाइकल चलाउँदा आफ्नो गाडीको साथै अरु गाडीको बारेमा बुझ्नुपर्छ । कहिलेकाहीँ दुर्घटना अरुको कारणले पनि हुने गर्दछन् । त्यसैले चालकले आफ्नो अगाडि र पछाडि रहेको गाडीहरु, तिनको गतिका बारेमा ध्यान दिनुपर्छ । चालकले गाडी वा मोटरसाइकल लिएर निस्किँदा अगाडिको गाडीले रोकेको खण्डमा आफूले रोक्दा अगाडिको गाडीसँग नठोक्कियोस् भनेर आफ्नो गति र दूरीमा विचार गर्नुपर्छ । सधैँ अगाडि रहेको गाडीसँग केहि दूरी राखेर हिड्नुपर्छ ।

गाडीको अवस्थाको बारेमा बुझ्ने 

गाडी लिएर निस्किँदा त्यो मोटरको अवस्था कस्तो छ भन्ने कुरा जान्नुपर्छ । मैले कहिले यसको सर्भिसिङ गरेको छु, त्यो बेलामा के के जाँच गरे? अहिले चलाइराख्दा कस्तो अवस्थामा कुदिरहेको छ ?  लगायत त्यो गाडी वा मोटरसाइकलका हरेक अवस्थाको बारेमा चालक जानकार हुनुपर्छ ।

अवस्था ठिक नभएको गाडी वा मोटरसाइकल हाँक्दा चालक आफैँ, चालकसँग भएको यात्रु, सडकमा गुड्ने गाडी , पैदलयात्री सबैलाई जोखिमा पुग्ने भएकोले आफ्नो साधनको अवस्था एकदमै राम्रो राख्नुपर्छ । मर्मत सम्भार, सरसफाई सबै समयसमयमा गरी राख्नुपर्छ । 

ट्राफिकको आदेशको पालना गर्ने

काठमाण्डौमा ट्राफिक बत्ती भएका केही ठाँउमा बाहेक सबैजसो ठाँउमा ट्राफिकले नै गाडीहरुको चाप व्यवस्थापन गर्ने गरेको छ । ट्राफिकले सीटि फुक्दै, हातको इशाराले ट्राफिक व्यवस्थापन गरिरहेका छन् । त्यसैले चालकले ट्राफिकको सङ्केतअनुसार रोकिने इशारा पाएपछि ठ्याक्कै रोकिनुपर्छ ।

ट्राफिकले इशारा गर्दागर्दै अगाडि बढ्दा अर्काे आउने सङ्केत पाएको गाडीमा ठोकिने जोखिम बढ्छ । विशेषगरी यस्तो कुरामा मोटरसाइकल चालकहरुले ध्यान दिनुपर्छ । त्यसैले ट्राफिकको आदेश, ट्राफिक बत्ती, तथा सडक अनुशासनको पालना गर्नुपर्छ । 

पैदलयात्रीले बाटो काट्दा ग्रीन क्रस कोडको पालना गर्ने

पैदल यात्रीले बाटो काट्दा सधैँ ट्राफिक प्रहरी वा ट्राफिक बत्तीले गाडी रोकेपछि र बाटो काट्ने इशारा पाएपछि मात्र बाटो काट्नुपर्छ । नेपालमा देब्रे प्रणाली (लेफ्ट ह्याण्ड ड्राइभिङ)मा गाडीहरु चल्ने भएकोले पैदल यात्रीले बाटो काट्दा दाहिनेपट्टि बिशेष ध्यान दिनुपर्छ ।

बाटो काट्ने मान्छेले देब्रे प्रणाली (लेफ्ट ह्याण्ड ड्राइभिङ)मा गाडीहरु चल्ने भएकोले आफूलाई ठक्कर दिने गाडि अपवाद बाहेक दाहिनेबाट आउँछ भन्ने कुरा दिमागमा राख्नुपर्छ । 

बाटोमा हिँड्दा पनि पैदलयात्रीले गाडीसँग आमने सामने हुनेगरी हिँड्नुपर्छ । यसको अर्थ भनेको नेपालका सबै सडकमा हिँड्ने मान्छेले दाहिनेबाट हिँड्नुपर्छ । यसो गर्दा आएको गाडीले पनि मान्छेलाई देख्छ अनि चालकले पनि मान्छेलाई देख्छ । साथै बाटो काट्ने मान्छे गाडी रोकिएको बेलामा मात्रै बाटो काट्ने र गाडी चल्दा रोकिने गर्दा पनि हुनसक्ने दुर्घटना टर्न सक्छ ।

अन्तिम अपडेट: चैत १९, २०८०

विपिन गाैतम

गौतम ट्राफिक प्रहरीका पूर्व नायब उपरीक्षक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया