कोदो खेतीलाई प्रवर्द्धन गर्दै इस्मा गाउँपालिका

 फागुन १७, २०७६ शनिबार १४:९:५१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - कुनै समयमा कोदोको रोटी र ढिंडो खानेहरुलाई गाउँमा गरिबहरुकाे संज्ञा दिइन्थ्यो । कोदो खानेहरुलाई निम्न परिवारका रुपमा हेर्ने प्रचलन समेत थियो ।कोदो खानेहरु गरिब र भात खानेहरु धनी हुन् भनेर पनि परिभाषित गर्ने चलन थियो ।

तर आजभोलि त्यही कोदो खानेहरुले भात खान थाले भने भात खानेहरु कोदो खान थालेका छन् । समय बदलिएसँगै विस्तारै विस्तारै मानिसहरुले कोदोको वास्तविक महत्व बुझ्दै जान थाले । यसका कारण गाउँको कोदो शहरको भान्सासम्म मिठो परिकारको रुपमा स्थापित हुन थालेको छ । 

अझै पनि गाउँमा कोदोलाई दुखको खेतीको रुपमा मानिन्छ। गाउँमा हजारौँ क्षेत्रफल खेतीयोग्य जमीनहरु बाँझाे पल्टिएका छन् । गाउँमा आजभोलि कोदो खेती गर्न धेरैले छाडिसकेका छन् । याे अवस्था अन्त्य गर्नका लागि गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले कोदोको प्रर्वद्धन गर्दै रैथाने बालीको रुपमा यसकाे संरक्षण थालेको इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले बताउनु भयो । 

कोदो खेतीमा कृषकलाई थप उत्प्रेरित गर्न अहिले इस्मा गाउँपालिकाले कृष

कहरुको घरमै पुगेर कोदो संकलन गर्ने र स्थानीय सहकारी मार्फत बजारीकरण गर्ने काम गरिरहेको छ । गाउँपालिकाले कोदोको मूल्य प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरेको छ ।

सहकारीले प्रति किलो एक रुपैयाँ गाउँपालिकाको तर्फबाट ढुवानी अनुदान पाउने व्यवस्था मिलाइएको छ । विगतमा गाउँमा बिचौलियाले आफूखुसी मूल्यमा कोदो खरिद गर्दै आएकोमा पालिकाको यो अभियानले गाउँमा कोदो बिचौलियाहरुको समेत अन्त्य भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी गराउनु भयो । 

गाउँपालिकाले इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्था र भविष्य निर्माण साना किसान सहकारी संस्था लिमिटेड मार्फत कोदो खरिद तथा बजारीकरणको काम गर्दै आएको छ । तर प्रचार प्रसारको अभाव भएर होला सहकारीले संकलन गरेको कोदो आवश्यक मात्रमा बाहिर निर्यात हुन नसकेका कारण यतिवेला सहकारीको गोदाममै थन्काएर राख्नु परेको गुनासो गर्नु हुन्छ इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्थाकी व्यवस्थापक तुलसा भण्डारी ।

इस्मा गाउँपालिकाले अहिले इस्मा गाउँपालिका भित्रका कार्यक्रमहरुमा खाजाको रुपमा कोदोको परिकारलाई अगाडि बढाउने अभ्याससँगैे बिदाइमा पनि कोसेलीको रुपमा कोदोकै पिठो उपहार दिन सुरु गरेको छ । तर अहिले गाउँपालिकाले सहकारी मार्फत उचित मुल्यमा कोदो खरिद गर्न थालेपछि किसानहरु भने कोदो खेतितर्फ थप उत्साहित हुन थालेका छन् ।

अन्तिम अपडेट: चैत ३, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया