घोराहीमा एक सय बेडको क्वरेण्टीन बन्दै

 चैत १६, २०७६ आइतबार ११:२८:१ | हेमराज शर्मा
unn.prixa.net

दाङ– दाङको घोराही उपमहानगरपालिकाले कोरोना भाइरसको  सङ्क्रमण फैलिन नदिन करिब एक सय जनालाई राख्न सक्ने क्वरेण्टीन बनाउन सुरु गरेको छ । 
उपमहानगरपालिकाले तत्कालको लागि तीन स्थानमा क्वरेण्टीन बनाउने निर्णय गरेको छ । 

वडा नम्बर ३ को कुइरेपानीमा रहेको प्रेरणाका लागि अभियान नेपालको भवन, वडा नम्बर १५ मा रहेको नेपाल परिवार नियोजन संघको भवन र वडा नम्बर १६, सर्रामा रहेको बाल अस्पतालको भवनलाई क्वारेण्टीन बनाउने निर्णय भएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । 

नगर प्रमुख चौधरीसहित उपप्रमुख सीता सिग्देल न्यौपाने, नेकपाका केन्द्रिय सदस्य जीवन गौतम, प्रदेश सभा सदस्य इन्द्रजित थारु, घोराही उपमहानगरपालिकाका प्रेस संयोजक निमु संगम घर्ती, पत्रकारहरु नरेन्द्र केसी र भुपेन्द्र वलीसहितको टोलीले कुइरेपानीमा क्वरेण्टीन बनाउने भवनको निरीक्षण गर्नुभएको छ । 

सोही स्थानमा थप टेन्टहरु निर्माणको थालनी छिट्टै गरिने नगर प्रमुख चौधरीले बताउनुभयो । त्यहाँ डाक्टरसहितको १४ जना स्वास्थ्यकर्मी खटिने छन् । 
यस्तै परिवार नियोजन संघको क्वरेण्टीनमा पनि डाक्टरसहितको टिम हुनेछ भने बाल अस्पतालको भवनमा सञ्चालन गरिने क्वरेण्टीनमा पनि डाक्टरसहितको स्वास्थ्यकर्मीहरु रहने छन् । 

स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारले दिने सेवा सुविधाबराबरकै सेवा सुविधा दिने र नगरका सफाइकर्मी एवं नगर प्रहरीलाई नगरको निर्णयअनुसार थप सुुविधा दिने निर्णय भएको नगरप्रमुखको भनाइ छ । 

ति क्वरेण्टीनमा उपचारपछि चिकित्सकले दिने सुझावअनुसार बिरामीलाई घरमै राख्ने या अन्य अस्पतालमा पठाउने वा क्वरेण्टीनमै राख्ने टुङ्गो लाग्ने छ । 
साथै स्थिति जटिल बन्दै गए नगरका ठूला विद्यालयहरुलाई क्वरेण्न्टीनको  रुपमा व्यवस्थापन गरिने चौधरीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया