कोरोनाको असर : धरहरा र रानीपोखरीको पुनर्निर्माण निर्धारित समयमा नसकिने

 चैत २८, २०७६ शुक्रबार ९:१३:३६ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – धमाधम काम भएको भए चैत महिनाभित्र धरहरा पुनर्निमाणको काम ११ तलासम्म सकिसक्थ्यो । अहिले ९ तला बनिसकेको धरहराको काम १० औं तलाको ढलानमा पुगेर रोकिएको छ । सरकारले ‘लकडाउन’ लागु गरेको चैत ११ गतेभन्दा दुई दिनअघिदेखि नै धरहराको काम रोकिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कोरोना सङ्क्रमणको जोखिमका कारण धरहराको काममा बाधा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरु क्षेत्रमाजस्तै पुनर्निर्माणको काममा पनि असर परेको छ । धरहरा र रानीपोखरीको काम अहिले बिथोलिएको छ ।’

धरहरा पुनर्निर्माण ९ महिनामा असम्भव 

अघिल्लो वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको शिलान्यास गरेपछि प्राधिकरणको ५ वर्षको अवधि पुग्ने आउँदो पुससम्ममा धरहराको पुनर्निर्माण पनि  सक्नेगरी काम अगाडि बढेको थियो । 

पुरानो धरहरा झण्डै साढे ४ रोपनी क्षेत्रफलमा थियो । नयाँ धरहरा ४२ दशमलव ३ रोपनी क्षेत्रफलमा बन्दैछ । प्राधिकरणका विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आउनुभएका राजुमान मानन्धरले भन्नुभयो, ‘पुरानो धरहरा ९ तलाको थियो । नयाँ धरहरा पनि झट्ट हेर्दा ९ तला नै देखिन्छ । स्वरुप पनि पुरानै रहन्छ ।’ 

तर सुन्धारामा बन्दै गरेको धरहरा पुनर्निर्माणको काम अबको ९ महिनामा नसकिने भएको छ । कोरोना सङ्क्रमणको असरका कारण धरहराको काम प्रभावित भएको छ । बि. स. २०७७ साल पुस महिनाभित्र धरहराको काम सक्ने लक्ष्य भएपनि गएको चैत ९ गतेदेखि काम प्रभावित भएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कोरोना सङ्क्रमणको जोखिमका कारण पुनर्निर्माणको काममा असर परेकोले धरहराको काम निर्धारित समयमा नसकिने बताउनुभयो । उहाँले धरहरा र रानीपोखरीसहित पुनर्निर्माणका अरु काम पनि प्रभावित भएको जानकारी दिनुभयो । 

बि.स. २०७२ सालमा भुइँचालोले धरहरा भत्काएपछि ठुटो मात्रै बाँकी थियो । धरहरा बनाउने काम सुरु भएको डेढ वर्ष भइसक्यो । झन्डै ३ अर्ब ८ करोड रुपैयाँ लागत अनुमान गरी पोहोर असोजमा काम सुरु भएदेखि अहिलेसम्म धरहराको झण्डै ५० प्रतिशत काम भइसकेको प्राधिकरणका विज्ञ मानन्धरले बताउनुभयो । उहाँका अनुसार ‘लकडाउन’पछि धरहरा पुनर्निर्माणमा खटिएका झण्डै २ सय कामदारमध्ये धेरैजसो घर फर्किएका छन् भने घर जान नपाएका केहीले फाट्टफुट्ट काम गरिरहेका छन् । 

जम्मा २२ तला बन्नुपर्ने धरहराको काम १० तलामा पुगेर रोकिएको छ । जतिमथि तला थपिदै जान्छ, त्यति सानो हुँदै जाने भएकाले आधा काम सकिएको उहाँको दाबी छ । मानन्धरले फास्ट ट्रयाकमा २, ३ ‘सिफ्ट’मा काम गर्ने विकल्प रहेको तर कोरोना सङ्क्रमणको जोखिम सकिएपछि मात्र यसबारे छलफल गर्न सकिने बताउनुभयो । 

रानीपोखरीको काम पनि पछि धकेलिने 

कोरोना सङ्क्रमणको असर धरहराको काममा मात्र होइन, रानीपोखरी पुनर्निर्माणमा पनि परेको छ । त्यसैले रानीपोखरीको उद्घाटन आउँदो बैशाख १२ गते नहुने भएको छ । बि.स. २०७२ सालमा भूकम्पले क्षति गरेको रानीपोखरी भूकम्प गएकै दिन अर्थात आउँदो बैशाख १२ गते उद्घाटन गर्ने तयारी थियो । तर सरकारले गरेको ‘लकडाउन’को असर रानीपोखरीको काममा परेको प्राधिकरणले जनाएको छ । अघिल्लो वर्ष फागुनदेखि सुरु भएको रानीपोखरी पुनर्निर्माणको काम ‘लकडाउन’को कारण थप पछि धकेलिने निश्चित रहेको प्राधिकरणका विज्ञ मानन्धरले बताउनुभयो । 

रानीपोखरीमा पोखरी र पर्खाल, पोखरीकोबीचमा रहेको बालगोपालेश्वर मन्दिर, मन्दिरसम्म पुग्ने पुल र बाहिरी सौन्दर्यीकरणको काम निर्माण व्यवसायी सीएम तुलसी कन्स्ट्रक्सन जेभीले गरिरहेको छ । गएको असारमा १० महिनाभित्र अर्थात यही चैतभित्र ठेकेदारले काम सक्नुपर्ने भएपनि ढिलासुस्ती भएको छ । रानीपोखरीको सम्पूर्ण पुनर्निर्माणको खर्च झण्डै २५ करोड रुपैयाँ लाग्ने छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया