‘लकडाउन’को बेला कसले लगायो वनमा डढेलो ?

 चैत २९, २०७६ शनिबार ११:६:१६ | मदन पौड्याल
unn.prixa.net

फोटो - रविन्द्रसिंह बानियाँ

काठमाण्डौ – ‘लकडाउन’लाई सदुपयोग गर्न गाउँ पुगेका फिल्मकर्मी रविन्द्रसिंह बानियाँको मन भतभती पोलेको छ । सरकारले दोस्रो पटक ‘लकडाउन’ थपेर उहाँलाई पिर परेको होइन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मूलपानीमा ‘लकडाउन’मा बस्नुभएका उहाँको गाउँनजिकै वन जलिरहेको छ । वनमा ह्वारह्वार्ती डढेलो र आगोसहित धुँवाको मुस्लो देख्दा उहाँको मन पोलेको हो । 

‘लकडाउन’ भएकोले छरछिमेकी समूहमा भेला भएर आगो निभाउन जाने अवस्था पनि छैन । अनि डढेलो घटेको छैन, बरु बढ्दो क्रममा छ । उहाँले भन्नुभयो, ‘बेलुकापख प्रायः सबैतिर आगो बलेको झल्झली देखिन्छ । आकाशमा तुवाँलो र धुँवाको मुस्लो फैलिएको छ ।’ 

सरकारले गएको चैत ११  गतेदेखि ‘लकडाउन’ घोषणा गरेपछि धेरैजसो मानिस घरभित्रै छन् । ‘लकडाउन’को कारण सहरबजार सुनसान छ । मानिस घरबाहिर ननिस्केको १८ दिन भइसक्यो । गाडी र कलकारखाना पनि चलेका छैनन् । धुँवाधुलो र फोहोर नहुँदा वातावरण भने सफा भएको छ । 

तर ‘लकडाउन’को बेला समेत वनजङ्गलमा डढेलो लाग्न रोकिएको छैन । ‘सहरमा धुँवाधुलो घटेको, चिल्ला सडक फोटामा देखिन्छ,’ बानियाँले भन्नुभयो, ‘तर गाउँघरमा खेतबारीमा मल हुन्छ भनेर फोहोर जलाउने र वनमा आगो लगाउनेजस्ता क्रियाकलापले आगलागीका घटनासँगै प्रदूषण पनि बढेको छ ।’

अनुमानभन्दा उल्टो

पछिल्लो २४ घण्टामा १६ जिल्लाका ५६ ठाउँमा डढेलो लागेको छ । सबैभन्दा धेरै मकवानपुरका ९ ठाउँमा डढेलोले वन जलिरहेको छ । चितवनमा ७, पर्सामा ६ र कञ्चनपुरका ५ ठाउँमा डढेलो लागेको छ । त्यस्तै दाङका ४, धादिङ, सर्लाही, उदयपुर र बाराका ३, ३ तथा काठमाण्डौ, डोल्पा र महोत्तरीका २, २ ठाउँमा लागेको डढेलो नियन्त्रण हुन सकेको छैन । 

वन विभागले ‘लकडाउन’को कारण यस वर्ष डढेलो घट्ने अनुमान गरेको थियो । तर अनुमान फेल खाएको वन विभागका उपसचिव एवं डढेलो सम्पर्क व्यक्ति सुन्दर शर्माले बताउनुभयो । ‘विगत दुई वर्षसँग तुलना गर्दा यो वर्ष आगलागी र डढेलोका घटना बढी भएका छन्,’ उहाँले भन्नुभयो, ‘म आफै छक्क परेको छु ।’ वन विभागका अनुसार चैत दोस्रो हप्तादेखि बैशाख दोस्रो हप्तासम्मको १ महिनामा सबैभन्दा बढी आगलागी र डढेलोका घटना हुन्छन् । मानवीय र प्राकृतिक कारणले वनमा आगो सल्किन्छ । 

मानिस नै मुख्य कारण 

‘लकडाउन’ भनेपनि सहरबजारमाजस्तो गाउँघरमा मानिसहरु घरभित्रै बसेका छैनन् । खेतीबारी र घाँसदाउराकै लागि वनमा जानेहरुको असावधानीले डढेलो लागेको वन विभागका उपसचिव शर्माको भनाइ छ । ‘काठदाउरा चोरी गर्नेले ध्यान अन्तै मोड्न पनि आगो लगाएको हुनसक्छ,’ उहाँले भन्नुभयो, ‘वन क्षेत्रमा सुरक्षाकर्मी कम भएको मौकाको फाइदा उठाएर अपराधिक गतिविधिले पनि चोरीकटानी गर्दा डढेलो बढी लागेको अनुमान गर्न सकिन्छ ।’ 

अहिले मानवीय व्यवहारकै कारण वनमा आगलागी बढेको भन्दै उहाँले जङ्गलमा आगो लगाउनु अपराध हो भनेर बुझ्न र बुझाउन आवश्यक रहेको बताउनुभयो । वनमा आगो लगाउनेलाई ५० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । वनमा लागेको डढेलो बेलैमा नियन्त्रण हुन नसक्दा गाउँबस्तीमा समेत पसेर क्षति पुग्ने गर्छ । 

धुँवाको कारण वातावरणमा समेत असर पर्ने गरेको छ । तर डढेलो नियन्त्रण गर्न सरकारसँग तालिम प्राप्त जनशक्ति र पर्याप्त उपकरण नभएकाले जानेर वा नजानेर जङ्गलमा लागो लगाउने काम नगर्न उहाँले आग्रह गर्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

1 Comments

  • रोशन लामिछाने

    April 11, 2020, 4:49 p.m.

    सुरक्षा कर्मीको सुविधा कटौति हुने, नेताको सुविधा थपिने देशमा यस्तै हुन्छ! बढी आलोचना खेप्न सरकारले सकेको छैन, अब डढेलोतिर ध्यान मोड़िये राम्रै पनि भयो!

  •  0 Reply

तपाईको प्रतिक्रिया