सीमा नाकाबाट महामारीको जोखिम : प्रदेश सरकार भन्छन् - उच्च सतर्कता अपनाएका छौँ

 बैशाख २, २०७७ मंगलबार १७:३५:२९ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ - लकडाउनपछि महाकाली नदीमा पौडी खेलेर भएपनि सुदूरपश्चिममा नेपालीहरु स्वदेश फर्किए । भारतबाट रातारात पैदलै हिँडेर घर फर्कनेहरुको सङ्ख्या कति छ र उनीहरु कहाँ, कसरी बसेका छन् भन्नेबारे तीन तहका सरकारसँग तथ्याङ्क छैन । जो देखिनेगरी आए उनीहरु मात्रै क्वरेण्टीनमा बसेका छन् भनेर सहजै अनुमान गर्न सकिन्छ । 

मङ्गलबार काठमाण्डौ उपत्यकामा दुई जना नयाँ कोरोना सङ्क्रमित भेटिएपछि सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ । यसअघि सोमबार मात्रै कैलाली र रौतहटमा दुई जना कोरोना सङ्क्रमण भेटिएका थिए । छिमेकी भारतमा भने १० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । सीमा नाकाबाट नेपाल भित्रिने नेपाली मात्र होइन, भारतीय नागरिक पनि छन् । नेपाल आएका तीन जना भारतीय नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भैसकेको छ । उनीहरु वीरगञ्जमा बसेका थिए । 

लकडाउनसँगै सीमा नाका बन्द भएका छन् । लकडाउनको सोमबार २२ औं दिन हो । अन्तर्राष्ट्रिय उडान र अवतरण अपवादबाहेक लकडाउनअगाडि नै रोकिएको छ । सरकारले लकडाउनलाई बढाउने निर्णय गर्दैछ । तर लकडाउनको कडाइ पनि उतिकै आवश्यक छ । 

नेपाल र भारतबीच खुला सीमा छ । रोजगारीका साथै वस्तु र सेवाको आदानप्रदान, खेतीबाली, मेला पर्व र आफन्तसँगको भेटघाटजस्ता कारणले सीमा क्षेत्रमा दिनहुँ आउजाउ भइरहन्छ । अहिले दुवै देशले लकडाउन गरेका कारण आवतजावत रोकिएको छ । तैपनि जोखिम भने कायमै छ । 

नेपालमा जोखिम उच्च हुनुका कारणहरु

–भारतमा कोरोना सङ्क्रमित बढ्दै जानु
–मुख्य सीमा नाका बन्द भएपनि आवातजावत नरोकिनु
–दुई देशबीच रोटीबेटीको सम्बन्धको प्रभाव
–बालीनाली लगाउने तथा पश्चिम क्षेत्रमा चाडपर्वको समय

तर सीमा नाकाबाट कोरोना सङ्क्रमण फैलिन नदिन झारा टार्ने नभई उच्च सर्तकता अपनाएको प्रदेश सरकारहरुले दाबी गरेका छन् ।

प्रदेश १

प्रदेश १ सरकारले सुरक्षा रणनीतिको कार्ययोजना बनाएर कार्यान्वयन गरेको जनाएको छ । ठूलो ‘प्रेसर’को अवस्था नरहेको मुख्यमन्त्रीको दाबी छ । झण्डै ४ हजार २ सयको सङ्ख्यामा अट्न सक्ने क्वरेण्टीन बनाएको र अहिले ६ सय जना क्वरेण्टीनमा रहेको मुख्यमन्त्री शेरधन राईले जानकारी दिनुभयो । प्रदेश सरकारले ४ सय ३२ वटा आइसोलेसन कक्ष समेत बनाएको छ । आइसोलेसनमा १० जना रहेका छन् । 

‘अहिलेसम्म हामी सुरक्षित छौँ,’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘भारतबाट धेरै नागरिक स्वदेश फर्केकाले उच्च जोखिम कायमै छ । त्यसैले लकडाउनपछि सिमानाकामा कडाइ गरिएको छ ।’ 

काँकडभिट्टा नाका बन्द छ । तर जोगबनी नाकाबाट अत्यावश्यक सामग्री आइरहेको छ । दुई देशबीच भएको सहमतिअनुसार वारिका मानिस वारि र पारिका मानिस पारि राखेर आवश्यक बन्दोबस्त मिलाएको मुख्य मन्त्री राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसैलाई पनि क्वरेण्टीनमा नराखेर छुट्टै ढङ्गले जाने सुविधा दिन सक्दैनौँ ।’

प्रदेश २

प्रदेश २ सहित वाग्मती, गण्डकी र सुदूरपश्चिमको भारत र चीनसँग सीमा जोडिन्छ । चीनतर्फकोभन्दा अलि धेरै भारततर्फ सचेत रहनुको विकल्प छैन । भारतसँग मात्रै सीमा जोडिएको प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले लकडाउनपछि गाउँमा चेतना बढेको बताउनुभयो । उहाँले भारतसँग सीमा जोडिएका स्थानीय निकायमा नयाँ व्यक्ति देखेपछि सुरक्षा निकायमा जानकारी गराउने र उनीहरुलाई क्वरेण्टीनमा राख्ने गरिएको बताउनुभयो । 
‘हामीले सुरक्षा निकायलाई परिचालन गरेका छौँ,’ मुख्यमन्त्री राउतले भन्नुभयो, ‘सीमा बन्द गर्नुका साथै धार्मिक कार्य पनि स्थगित गरिएको छ । सीमामा सुरक्षाकर्मी बढाइएको छ ।’ उहाँका अनुसार उता विहारमा पनि कडाइ छ भने  यता प्रदेश दुईमा पनि ‘लकडाउन’ सशक्त बनाइएको छ । 

प्रदेश ५

प्रदेश २ मात्र होइन, प्रदेश ५ पनि भारतसँग जोडिएको छ । प्रदेश पाँचका ६ जिल्ला भारतसँग जोडिएका छन् । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएकाले उताबाट स्वदेश फर्कनेहरुबाट सङ्क्रमणको जोखिम छ । सीमामा उच्च सर्तकता अपनाइएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले जानकारी दिनुभयो । स्थानीय सरकारहरुले बनाएका क्वरेण्टीनमा सम्भावित सङ्क्रमितहरुलाई राख्ने गरिएको छ । 

भैरहवाको बेलहिया र नेपालगञ्जको रुपैडिहा नाका वारि र पारि क्वरेण्टीन निर्माण गरी राख्ने काम भैरहेको मन्त्री बरालले बताउनुभयो । अरु विभिन्न ठाउँबाट लुकीछिपी आउनेबाट जोखिम रहेको भन्दै उहाँले स्थानीय सरकारहरुबाट अनुगमन गर्ने काम भैरहेको बताउनुभयो ।

कर्णाली र सुदूरपश्चिम

कर्णाली तथा सुदूरपश्चिमका धेरैजसो घरधुरीबाट कामका लागि भारत जाने चलन छ । उनीहरु यो बेला खेतीबालीको काम गर्न र चाडपर्व मनाउन घर फर्कने गर्छन् । कर्णाली प्रदेशका ७९ वटै स्थानीय सरकारहरु चनाखो भएर लागिपरेको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर पुण्यप्रसाद रेग्मीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा पनि लकडाउनको पूर्ण पालना गर्न लगाइएको सामाजिक विकास मन्त्री कृष्णराज सुबेदी बताउनुभयो ।

योजना आयोगका उपाध्यक्ष डाक्टर रेग्मीले भन्नुभयो, ‘सिमानाका बन्द हुँदा कतिपय नागरिक अलपत्र परेका छन् । सर्वोच्च अदालतले समेत सीमा नाकामा अलपत्र परेकालाई देशभित्र ल्याएर क्वरेण्टीनमा राख्न आदेश दिएको छ । सङ्कटको बेला गाउँघरबाट टाढा रहनेहरुले घरपरिवारसँगै बस्ने चाहना गर्नु स्वभाविकै हो । तर सर्तकता नअपनाउने हो भने परिवार र समुदायमा समेत सङ्क्रमण फैलिन सक्नेतर्फ सतर्क हुनु उतिकै आवश्यक छ ।’

अन्तिम अपडेट: बैशाख ६, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

1 Comments

  • अर्जुन परियार दाङ

    April 14, 2020, 6:53 p.m.

    अहिले सम्म जति पनि संक्रमित थपिएका छन सायद सिमा पारी बाट आएका हुन ।प्रदेश सरकारहरुले सिमा नाकामा कडाइ गरेका छौ भने पनि सिमा नाकाका स्थानिए तहहरु खुकुलो भए जस्तो लाग्यो । केन्द्र सरकार र प्रदेश सरकार भन्दा सिमा नाकाका स्थानीय सरकारको कडाइको आबस्यक्ता छ यति बेला ।

  •  0 Reply

तपाईको प्रतिक्रिया