हटलाइन ११३१ र ११८० मा भोकै परेकादेखि घर जान नपाएकाका गुनासै गुनासा

 बैशाख ६, २०७७ शनिबार १८:२२:१६ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यका नगरपालिका फोरमले लकडाउनको बेला समस्यामा परेका नागरिकलाई दुईवटा हटलाइन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ । काठमाण्डौ उपत्यकाभित्र रहेका तर खर्च सकिएर अप्ठ्यारोमा परेका नागरिकले हटलाइन नम्बर ११८० र ११३१ मा सम्पर्क गर्न सक्छन् । 

काठमाण्डौ महानगरपालिकामा ११८० र ललितपुर महानगरपालिकामा ११३१ नम्बर सञ्चालन गरिएको छ । यसअघि यी नम्बरमा फोन गरेर कोरोनाबारे जानकारी र अत्यावश्यक बिरामीका लागि एम्बुलेन्स सेवा लिन सकिन्थ्यो । यी टोल फ्रि नम्बर चौबिसै घण्टा उपलब्ध छ । 

हटलाइन नम्बर ११८०

लकडाउनका बेला हृदयघात र मृगौला रोगीलगायतलाई अस्पताल लैजान र ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको लागि काठमाण्डौ महानगरपालिकाले यसअघि ११८० नम्बर सञ्चालन गरेको थियो । महानगरपालिकाभित्र बसोबास गर्नेहरु बिरामी परे यही नम्बरमा सम्पर्क गर्ने गरेका थिए ।  

हिजो अस्ति एम्बुलेन्सको लागि बढी फोन आउने गरेकोमा शनिबार बिहानदेखि राहतबारे बुझ्नेहरुको धेरै फोन आउन थालेको महानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी ज्ञानबहादुर ओलीले बताउनुभयो । काठमाण्डौमा डेरा गरी बस्ने विद्यार्थी, मजदुर, अति विपन्न वर्ग, असहायका साथै बोडिङ स्कुल पढाउने शिक्षकहरुले समेत समस्या राख्ने गरेका छन् । बोडिङ पढाउने शिक्षकहरुले तलब नपाउँदा अप्ठ्यारोमा परेको गुनासो गरेका छन् । 

त्यस्तै विद्यार्थी र मजदुरलगायतले लकडाउन लम्बिँदै गएपछि खर्च नभएकोले समस्यामा परेको गुनासो गर्ने गरेको र यसरी फोनमा सम्पर्क गर्नेहरुलाई जहाँ छन् त्यहीँको वडा जनप्रतिनिधिलाई जानकारी गराएर राहत लिन सुझाव दिने गरिएको ओलीले बताउनुभयो । 

‘सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुस् । त्यहाँबाट राहत पाउनुहुन्छ भनेका छाँै,’ ओलीले भन्नुभयो, ‘कसैलाई जनप्रतिनिधिको नम्बरसमेत दिने गरेका छौँ ।’ हटलाइन नम्बरमा काठमाण्डौ उपत्यकाभन्दा बाहिरबाट पनि फोन आउने गरेको उहाँको भनाइ छ ।

हटलाइन नम्बर ११३१  

हटलाइन नम्बर ११३१ मा आउने फोन ललितपुर महानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीको टोलीले उठाउने गर्छ । यो नम्बरमा पनि काठमाण्डौ उपत्यकाभित्रबाट मात्र होइन, बाहिरबाट समेत फोन आउने गरेको छ । 

आज बिहानदेखि काठमाण्डौ उपत्यकासहित चितवन, बाजुरा र कञ्चनपुरबाट फोन आएको स्वास्थ्यकर्मी गुरु शर्माले जानकारी दिनुभयो । हटलाइनमा फोन गर्नेहरुले भोकभोकै परेको, घर जान नपाएको र राहतका लागि कहाँ कसरी सम्पर्क गर्ने जानकारीसमेत नभएको गुनासो गरेको शर्माले बताउनुभयो । 

तर उनीहरुलाई अहिले लकडाउनको बेला घर जानेभन्दा जहाँ छन् त्यहीँबाट आवश्यक सहयोगको माग गर्न भनिएको छ । सहयोग घरधनी, टोल समिति र सङ्घसंस्थासहित वडा कार्यालयबाट माग्न आग्रह गरिएको शर्माको भनाइ छ । गुनासा राख्ने र राहत माग्नेबाहेक कोरोनाबारे जानकारी माग्नेहरुलाई समेत सहजीकरण गर्ने गरेको स्वास्थ्यकर्मी शर्माले भन्नुभयो ।

काठमाण्डौ उपत्यका नगरपालिका फोरमले लकडाउनको बेला समस्यामा परेर काठमाण्डौ नछाड्न र अप्ठ्यारोमा परेको अवस्थामा वडा कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ । लकडाउनको बेला सङ्घीय सरकारले एक जिल्लाबाट अर्को जिल्ला, एक पालिकाबाट अर्को पालिका र एक प्रदेशबाट अर्को प्रदेशमा जान रोक लगाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

1 Comments

  • Purna Bahadur Rai

    April 20, 2020, 5:49 a.m.

    राम्रो प्रगती भएको छ ....लकडाउनको अवस्था लम्बिएकोले समस्यामा सबै छौं / नेपालको राजधानी बाहिर बस्दैआएको छु, म पनि समस्यामा छु /मसंग दुइजना भाइ पनि छन् / हामी पढाइको लागि खोटांगवाट इटहरी आएर बसेका हौँ / हामीलाई पनि सहयोग गरिदिनहुन अनुरोध गर्दछु /

  •  0 Reply

तपाईको प्रतिक्रिया