राहत बाँड्न सङ्घीय सरकारले दुई पैसा पनि दिएन : मेयर महर्जन

 बैशाख १०, २०७७ बुधबार १०:३५:२९ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ - सरकारले गरेको लकडाउनको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको जोखिमको कारण सरकारले गएको चैत्र ११ गतेदेखि लकडाउन गरेको हो । लकडाउनको पूर्ण कार्यान्वयन गर्न काठमाण्डौ उपत्यकाका २ महानगरपालिका र १६ वटा नगरपालिकाले संयुक्त रुपमा हातेमालो गरी पहल गरिरहेका छन् । लकडाउन सुरु भएपछि पहिलो चरणको राहत बाँड्ने काम पनि सकिएको छ ।

पालिकाले आफ्नो नगरभित्र रहेका विपन्न वर्ग, मजदुर र असहायलाई दोस्रो चरणको राहत बाँड्ने तयारी गरेका छन् । तर ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सरकारले राहत वितरण गर्न पैसा नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ । दोस्रो चरणको राहत बाँड्न सङ्घीय सरकारले बजेट निकासा गर्नुपर्नेमा उहाँको जोड छ ।

काठमाण्डौ उपत्यका मेयर फोरमका उपाध्यक्ष समेत रहनुभएका मेयर महर्जनले सरकारले दोस्रो चरणको राहत बाँड्न पालिकाको क्षमता नरहेको बताउनुभयो । ‘सरकारले राहत बाँड्न भनेर अहिलेसम्म दुई पैसा पनि दिएको छैन,’ उहाँले भन्नुभयो, ‘सरकारले पैसा दिएन भने हामी राहत बाँड्न सक्दैनौँ ।’ 

काठमाण्डौ उपत्यकाका तीन जिल्लामा दुई महानगरपालिका, १६ वटा नगरपालिका र तीनवटा गाउँपालिका गरी २१ वटा पालिका छन् । काठमाण्डौमा एक महानगरपालिका र १० नगरपालिका, भक्तपुरमा ४ नगरपालिका र ललितपुरमा १ महानगरपालिका, २ नगरपालिका र ३ गाउँपालिका छन् । 

काठमाण्डौ महानगरपालिकाले झण्डै ५० हजारलाई राहत वितरण गरेको जनाएको छ । तर छिमेकी ललितपुर महानगरपालिकाका मेयर महर्जनले सबै पालिकाको काठमाण्डौ महानगरपालिकाजस्तो क्षमता नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै पालिकाको क्षमता एउटै छैन । अब सरकारले पैसा दिएमात्रै बाँड्न सक्छौँ ।’

‘सरकारले थैलीमा मुठी बाँध्यो’

मेयर महर्जनले सङ्घीय सरकारले आफ्नो थैलीमा मुठी बाँधेको टिप्पणी गर्नुभएको छ । विपद्को बेला मुठी कसेर बस्न नहुने भन्दै उहाँले पालिकाको क्षमता छैन भनेर बुझ्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले प्रश्न गर्नुभयो, ‘चुनाबकै लागि गठन भएका कतिपय पालिकाले विपद् व्यवस्थापनमा १० लाख रुपैयाँ छुट्टाएका छन् । अहिलेको महामारीसँग जुध्न त्यो १० लाख रुपैयाँले पुग्छ ? तैपनि २ महागरपालिका र १६ वटा नगरपालिकाले क्षमताअनुसार कोरोनाविरुद्ध काम गरेका छन् ।’

विपद्लाई १० लाख रुपैयाँ मात्रै छुट्टाउने पालिकालाई राहत बाँड्न महाभारत भएको उहाँको भनाइ छ । ‘अब पनि सरकारले गुठी खोलेन भने राहत बाँड्न सकिँदैन । सरकार गुठीमा मुठी बाँधेर बस्ने अनि देउ भनेर पालिकालाई भन्न मिल्दैन ।’

हरेक वडामा ‘मेस’ 

ललितपुर महानगरमा कसैले पनि खान नपाएको गुनासो नगरेको मेयर महर्जनको दाबी छ । २९ वटै वडामा चुलो बनाएर खानाको व्यवस्था गर्ने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो । खान पाएनौँ भन्नेहरुलाई बिहान बेलुका नै खुवाउने उहाँको तयारी छ । सरकारले पैसा नदिएपनि भोकाएर आउनेलाई पेटभरि खुवाएर पठाउने मेयर महर्जनले बताउनुभयो । सरकारको मुख ताकेर नबस्ने बरु क्षमताअनुसार व्यवस्थापन गर्ने तयारी गरेको जानकारी उहाँले दिनुभयो ।

‘खान पाएनौँ भन्नेहरुलाई महागरपालिकाभित्रको आफ्नो वडामा गए रित्तो हात नर्फकाउने निर्णय भएको छ,’ उहाँले भन्नुभयो, ‘निर्णयअनुसार हरेक वडामा एउटा ‘मेस’ खोल्ने र खान दिने महानगरको तयारी छ ।’ उहाँले सरकारले पैसा दिए फेरि पनि राहत बाँड्न भने नरोक्ने बताउनुभयो । पालिकाहरुले नहेरेकै कारण धेरै गरिब र मजदुरले काठमाण्डौ उपत्यका छाड्नुपरेको गुनासोप्रति मेयर महर्जनले भन्नुभयो, ‘उहाँहरु बेकामे बस्नुभन्दा खेतीबाली लगाउने बेला भएकोले गाउँ जानुभयो ।’
 

अन्तिम अपडेट: चैत २६, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया