म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उच्च गतिको विद्युत् प्रवाह हुँद...
बैशाख १७, २०८१ सोमबार
काठमाण्डौ - सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ । यातायात व्यवस्था विभागले नयाँ निर्देशिका बनाएर अब सञ्चालनको तयारी गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवसायी र मजदुरसँग निर्देशिकाबारे छलफल गरेर छिटै टुङ्गो लगाउने विभागका महानिर्देशक गोगन हमालले जानकारी दिनुभयो ।
तर कोरोना भाइरस सङ्क्रमितको संख्या दिनदिनै बढिरहेका बेला चालक र सहचालकको स्वास्थ्य सुरक्षाको सुनिश्चितता सरकारले नगरेसम्म सार्वजनिक गाडी चलाउनु जोखिमपूर्ण रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयाे।
उहाँले विभागले बनाएको निर्देशिकाले यातायात मजदुरको स्वास्थ्य संवेदनशिलतामा ध्यान नदिएको आरोप लगाउनुभयो । उहाँँले भन्नुभयो, ‘विभागले बनाएको निर्देशिकाको आधारले गाडी चल्न सक्दैन, मजदुर र यात्रुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी हुँदैन ।’
निर्देशिकामा सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने, सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने, गाडीमा बस्ने सबैले स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्ने लगायतका प्रस्ताव छन् ।
सरकारले व्यवसायी र मजदुरलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ । व्यवसायी र उपभोक्ता दुवै मारमा नपर्नेगरी भाडा बढाएर सार्वजनिक यातायात खुला गर्ने तयारी छ । तर कहिलेदेखि कुन मोडलमा सार्वजनिक यातायात खुला गर्ने भन्ने निर्णय नभएकाले प्रस्तावित निर्देशिका छलफलमै सीमित छ।
बसमा आधा मान्छे लिएर गुडेपछि आफूहरुको खर्च समेत नउठ्ने भन्दै निर्देशिकाले व्यवसायी र मजदुरलाई अघि बढ्ने उत्साह नदिएको सिटाैलाकाे भनाइ छ।
सरकारले भाडा वृद्धि गर्ने मात्र नभइ अनुदानको व्यवस्था पनि गर्नुपर्ने महासंघको माग छ । ठूला बसबाहेक ट्याक्सी, ट्याम्पोको पनि न्याय गर्ने व्यवस्था ल्याउनुपर्ने भन्दै महासंघले अनुदान दिएर लगानीको सुरक्षा दिनुपर्ने माग गरेको छ । माग सम्बोधन भए सरकारले भनेकै मितिदेखि गाडी चलाउन थाल्ने व्यवसायीको भनाइ छ ।
विभागले यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा तीव्र छलफल भइरहेको र छिटै टुङ्गो लगाएर गाडी चलाउने तयारी भएको भने पनि यातायात व्यवसायी भने परिणाममुखी छलफल गर्न सरकारले तदारुकता नदेखाएको बताउँछन् ।
विभागले पनि माथिल्लाे निकायले सार्वजनिक यातायात कहिलेदेखि सञ्चालन गर्ने भन्ने कुराको टुङ्गो नलगाउँदा अन्योल रहेको जनाएको छ ।
लकडाउन खुकुलो भए पनि सार्वजनिक यातायात सञ्चालन नभएकाले अहिले बजार, पसल र कार्यालयहरु जानुपर्ने धेरै जना लामो पैदल हिँड्न बाध्य छन् । निजी गाडीलाई जोर बिजोरको आधारमा खुला गरिए पनि सार्वजनिक गाडी प्रयोगकर्ता अहिले मारमा परेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।