बझाङ घटना : बालिकाले कानको मुन्द्रा निकालिदिन आग्रह गरेकी थिइन्

 असोज ११, २०७७ आइतबार ११:५६:२५ | डीबी बिष्ट
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बझाङ  - झण्डै एक वर्षअघि मष्टा गाउँपालिका वडा नं. २ खिकालाका  ११ वर्षीय विमल कामी गाउँ नजिकै मृत भेटिए । मृत भेटिँदा कानको मुन्द्रा गायब भएको थियो । बालकका आफन्त र छिमेकीले यसबारे प्रहरीलाई जानकारीसम्म गराएनन् ।

बालका बुबा शेरबहादुर कामीले आफू त्यतिबेला भारतमा भएकाले केही गर्न नसकिएको बताउनुभयो । त्यो घटना सम्झँदै उहाँले भन्नुभयो, ‘छोरोको मृत्यु लडेर भएको हो भन्ने आशंका गर्यौं । मुखबाट रगत आएको थियो । गाउँभन्दा पारि रहेको गोठबाट बेलुकासम्म घरमा नआएपछि खोजी गर्दै जाँदा मूल बाटोभन्दा अलि तल मृत फेला परेको हो । टाउकोमा चोट थियो । मुख पुरै सुन्निएको थियो ।’ 

छोरालाई कसैले हत्या गर्यो भनेर आशंका नै नभएर प्रहरीलाई जानकारी नगराएको उहाँको भनाइ छ । तर कानको मुन्द्रा गायब भएकाले उनको हत्या नै भएको हुन सक्ने धेरैको आशंका छ ।
गएको बुधबार मष्टा २ कै १२ वर्षीया बालिकाको हत्याको घटनापछि धेरैले अघिल्लो वर्षको यो घटना सम्झेका छन् ।

बलात्कारपछि हत्या भएकी १२ वर्षीया बालिकाले केही दिनअघि मात्रै आफ्नो कानमा भएको मुन्द्रा खोलिदिन आग्रह गरेकी थिइन् । बालिकाकी हजुरबाले भन्नुभयो, ‘नातिनीले मुन्द्रा खोलिदिन भनिन् ।

हामीले किन खोल्नुपर्यो भनेर सोध्दा उनले 'गाउँकै १८ वर्षीय राजेन्द्र बोहोराले मुन्द्रा नदिए चुँडेर लैजान्छु र तँलाई मार्छु भनेर धम्की दिएको छ भनेकी थिइन् ।’ तर आफूहरुले नातिनीको कुरालाई गम्भीर रुपमा नलिँदा यस्तो घटना हुन पुगेको उहाँ बताउनुहुन्छ । 

‘नातिनीले आग्रह गर्दा हामीले केही हुँदैन, उसले फेरि माग्यो भने सुनको होइन भन्देउ केही गर्दैन भन्यौँ । उनको कुरा सुनेनौँ । नातिनीले भनेअनुसार कानको मुन्द्रा निकालिदिएको भए यो घटना हुँदैन थियो कि’ हजुरबाले आँसु झार्दै भन्नुभयो ।  

बुधबार साँझ गाईवस्तुलाई घाँस दिन गोठ हिँडेकी बालिकाको शव मन्दिरभित्र फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । बालिकाका बाबुआमा मजदुरीको क्रममा भारतमा छन् ।

उनी दुई बहिनीको साथमा हजुरबा र हजुरआमासँग बस्दै आएकी थिइन् । प्रहरीले राजेन्द्र बोहोरालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । बालिकाको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै यहाँका बासिन्दा प्रदर्शनमा उत्रिएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया