भारतका आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्...
पुस २७, २०८१ शनिबार
काठमाण्डाै - सडक विभागले चक्रपथको विस्तार भइसकेको खण्डमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । विभागले दुई वर्ष पहिले चीन सरकारकाे आर्थिक सहयोगमा विस्तार भएको कोटेश्वर–कलङ्की सडकमा सात ठाउँमा बत्ती राख्न लागेको हो ।
विभागले गाडीको चाप बढी भएका र पैदलयात्रु बढी भएका सडकमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । यस सडकमा चालु आवभित्रै सम्झौता गर्ने योजना रहेको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिनुभयो ।
चक्रपथका विभिन्न खण्डमा बत्ती राख्न चालु आवमा बजेट नभए पनि अर्को वर्ष निरन्तर हुने गरी सम्झौता गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'यो वर्ष ठेक्का सम्झौता भइसकेर अर्को वर्ष बनिसक्नेछ ।'
सरकारले दुई वर्ष पहिलेदेखि उपत्यकाका विभिन्न सडकमा र जेब्राक्रसिङमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । बढी गाडी चाप भएका ठाउँमा बत्तीका कारण गाडी व्यवस्थापन गर्न सजिलो भएको देख्न सकिन्छ । विभागले चालु आवभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गर्दैछ ।
उपत्यकाका बढी गाडी चाप र यात्रुले सडक पार गर्ने ठाउँ छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । पाँच चोक र त्यहाँका आठ जेब्राक्रसिङमा बत्ती जडान गरिने गाडी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख ओझाले जानकारी दिनुभयो । ती बत्ती जडानका लागि एक करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेका थिए । पहिले थापाथलीमा एउटा निजी संस्थाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । यस प्रविधि सफल नभएपछि संस्थाले बत्ती निकालेर लगेको उहाँले जानकारी दिनुभयो ।
तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले जडीबुटीमा बत्ती जडान गरेको थियो । बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।