बझाङमा मतदान अधिकृत सम्पर्कविहीन, कांग्रेस अधिवेशन अन्याेल

 असोज १७, २०७८ आइतबार २०:३२:२३ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – नेपाली कांग्रेसका नेताको आपसी लडाइँका कारण बझाङका कार्यकर्ताले सास्ती खेप्नुपरेको छ । हिजो शनिवार राति नै निर्वाचन अधिकृत चेतराज भट्ट सम्पर्कविहीन भएपछि आज आइतवार हुने भनिएको नेपाली कांग्रेसको जिल्ला चुनाव हुने वा नहुने भन्ने अन्योल भएको छ । 

यही विषयलाई लिएर जिल्लाका शीर्ष नेताहरू एकअर्का समूहलाई आरोप–प्रत्यारोप गरिरहेका छन् । निर्वाचन अधिकृत भट्ट भने चुनाव गराउन नसक्ने भन्दै शनिवार राति नै घर गएको आफूहरूले बुझेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । निर्वाचन अधिकृतले आफूहरूसँग यस विषयमा कुनै छलफल नगरेको उहाँको भनाइ छ । 

निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि मतदान गर्न जिल्लाका दुर्गम गाउँबाट सदरमुकाम आएका कार्यकर्ताको भने मर्कामा परेका छन् । सदरमुकाम चैनपुरमा क्षेत्रीय प्रतिनिधि भएर पुग्नुभएकी नन्नु विष्टले भन्नुभयो, ‘मतदान गरेर एकैछिनमा घर फर्किएर केही काम गरौँला भन्ने थियो । तर चुनाव नहुने भएपछि दुःख मात्रै पाइयो । गाडी भाडा मात्रै खर्च भयो, न घरको काम भयो ।’

यस्तै गएको शुक्रवारदेखि सदरमुकाम चैनपुरमा महाधिवेशन सम्पन्न गर्न तथा नेतृत्व चयन गर्ने आशामा घर नगएर त्यतै बस्नुभएका श्याम सिंहले आफूहरूका लागि कांग्रेस एउटै भन्ने लागे पनि त्यस्तो नभएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘यहाँ त व्यक्ति पिच्छे कांग्रेसजस्तो देखियो, यस्तै हो भने बझाङमा हाम्रो पार्टी समाप्त हुने सङ्केत देखिन्छ ।’ 

त्यस्तै क्षेत्रीय प्रतिनिधि भएर सदरमुकाम पुग्नुभएका शेरबहादुर रोकायाले यत्तिको सङ्घर्ष अन्य पार्टीसँग चुनाव लड्दा गरेको भए बझाङका सबै ठाउँमा कांग्रेसको जित हुने प्रतिक्रिया दिनुभयो । 

बझाङमा देउवा पक्षका दुई गुट चुनावमा उठेका छन् । पूर्व परराष्ट्र राज्यमन्त्री अर्जुन जंगबहादुर सिंह, पूर्व राज्यमन्त्री डाक्टर सुरेश मल्ल, संविधान सभा सदस्य चन्द्रादेवी जोशी र पार्टीका पूर्वसभापति सत्यराज भण्डारीसहितको टोलीले देउवा पक्षका खडकबहादुर बोहराको समूहलाई साथ दिएर चुनावमा उठेको छ । त्यस्तै पूर्व राज्य तथा खेलकुद मन्त्री नरेशबहादुर सिंह, पार्टीका पूर्वसभापति पृथ्वीबहादुर सिंहलगायत नेतृत्वको टोलीले रेमशबहादुर भण्डारीको समूहलाई अघि सारेको छ । 

पूर्व परराष्ट्र राज्यमन्त्री अर्जुनजंग बहादुर सिंहले चुनाव हार्ने निश्चित भएपछि अर्को पक्षकोले मतदान अधिकृतलाई भगाएको आरोप लगाउनुभएको छ । 

यता अर्को पक्षका पार्टीका पूर्व सभापति पृथ्वीबहादुर सिंहले देवराज शर्माले उम्मेदवारी फिर्ता गरेपछि अर्को पक्षले चुनाव हार्ने डरले निर्वाचन अधिकृतलाई धम्की दिएको आरोप लगाउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया