एक महिनापछि खुल्यो बझाङको जयपृथ्वी राजमार्ग

 मंसिर ४, २०७८ शनिबार १७:२४:११ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङको जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । असोज ३१ देखि कात्तिक ३ गते सम्म परेको बेमौसमी वर्षाका कारण सेती नदीले राजमार्गमा क्षति पुर्याएपछि सडक अवरुद्ध बनेको थियो ।

सेती नदीमा आएको बाढीले नारुगौडा र जाल्या बगरको सडकखण्ड बगाएपछि अवरुद्ध बनेको राजमार्ग शनिबारबाट सञ्चालनमा आएको हो । नारुगौडामा बम विस्फोट गरेर र जाल्या बगरमा सेती नदीको धार नै परिवर्तन गरेर राजमार्गलाई सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । 

बाटो खुलेसँगै शनिबार बिहान देखि साना तथा ठूला गाडीहरु नियमित रुपमा चल्न थालेका छन् । राजमार्ग अवरुद्ध बनेपछि सदरमुकाम चैनपुर लगायतका स्थानीय बजारहरुमा महंगी बढ्नुका साथै कालो बजारी मौलाएको थियो ।

सडक पुनः सञ्चालनमा आएपछि जिल्लाबाट बाहिरिने तथा भित्रने यात्रुहरुलाई समेत सहज भएको छ । यो भन्दा पहिला पैदल यात्रा गरेरै बस वा जीप भएको ठाँउसम्म पुग्नु पर्ने बाध्यता थियो । 

अहिले जाल्या बगरमा धार परिवर्तन गरेर सडक सञ्चालनमा ल्याइएको भए पनि यो दिगो नभएकाले यस प्रति सरोकारवाला निकायको ध्यानाकर्षण हुनुपर्ने स्थानीय कलकबहादुर बोहराले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया