इजरायलले गाजामा गरेको पछिल्लो सैन्य आक्रमणमा ४६ जनाको ज्यान गयो
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – अर्थविद्हरूले देशकाे अर्थतन्त्रमा गम्भीर सङ्कट आउने गरी ओरालो लागेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आज शुक्रवार 'नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशा' बारे अर्थविद्हरूसँग गरेको छलफलका क्रममा उनीहरूले अर्थतन्त्रका धेरैजसाे सूचक नकारात्मक देखिएकाले देशकाे अर्थतन्त्र गम्भीर सङ्कटमा पर्न सक्ने सङ्केत देखिन थालेको बताएका हुन् ।
समितिको छलफलमा अर्थविद् डा. चन्द्रमणि अधिकारीले विश्व अर्थतन्त्रमा नै मन्दी आउने सङ्केत देखिएकाले त्यसकाे प्रभाव नेपालको अर्थतन्त्रमा पनि असर पारेको बताउनुभएको छ । अर्थविद् अधिकारीले विश्व अर्थतन्त्रमा नै उत्पादनमा कमी, मूल्य वृद्धि, बैंकहरूमा ब्याज दर बढ्दै गएको बताउनुभयो । उहाँले यसरी विश्व अर्थतन्त्र नै सङ्कटमा पर्ने अवस्था आएकाले त्यसको असर स्वाभाविक रूपमा नेपालमा देखिने बताउनुभयो ।
अधिकारीले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा अर्थतन्त्रका सूचकहरू सङ्कटतिर गइरहेकाे बताउनु भयोे । अहिले सरकारले विदेशी मुद्रा सञ्चिति राम्रो भएको, शोधन्नातर स्थिति राम्रो भएकाे, चालु खातामा बचत रहेको र राजस्व बढेकाले अर्थतन्त्र ठिक ठाउँमा रहेको बताउने गरेको भए पनि अहिले त्यस्तै अवस्था नभएको बताउनुभयो ।
अर्थविद् अधिकारीले भन्नुभयो, ‘विश्व अर्थतन्त्र नै मन्दीतिर जाने सङ्केत भएकाले त्यसको असर नेपालको अर्थतन्त्रमा देखिएको छ । कोरोना महामारीपछि विश्वभर नै मानवीय जनशक्तिको अभाव भएको छ । विश्वका ठूला–ठूला घरजग्गाको कारोबार गर्ने कम्पनीसमेत सङ्कटग्रस्त स्थितिमा पुगेका छन् । त्यसैले नेपाल आर्थिक, सामाजिक हिसाबले विश्वसँग जोडिएको र विश्वका प्रमुख अर्थतन्त्र भएका देशमा समस्या देखिँदा त्यसको असर स्वाभाविक रूपमा देखिएको हो ।
अर्थविद् अधिकारीले नेपालमा सङ्घीयता लागू भए पनि प्रणाली राम्रो नभएको बताउनुभयो । उहाँले संविधानले नै सङ्घीय संरचना भद्दा बनाएको बताउनुभयो । उहाँले सङ्घीयताका कारण प्रशासनिक हिसाबसमेत ठूलो बन्दै गएको बताउनुभयो । अधिकारीले एउटा प्रदेशमा १४ वटासम्म मन्त्रालय बनाउँदा देशमा थप समस्या आउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले व्यवस्थापकीय खर्च कटौती गर्नुपर्छ । अर्थतन्त्रसहित लयमा ल्याउनका लागि उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्छ । अहिले विश्व अर्थतन्त्र तथा आन्तिरिक कारण, उत्पादनमूलक क्षेत्रमा न्यून लगानी, न्यून रोजगारी, कोरोना महामारीको थप सङ्कट, सरकारसँग भएको स्रोत अनुत्पादक क्षेत्रमा मात्रै लगानी गर्दा अर्थतन्त्र सङ्कटतिर गइरहेकाे छ ।’
त्यस्तै अर्का अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक चङ्गुलले अर्थतन्त्र तहसनहस भएको बताउनुभएको छ । उहाँले विश्वका धेरै देशले अर्थतन्त्र राम्रो बनाउनका लागि राजनीतिक समझदारी बनाएर अगाडि बढ्ने गरेको बताउनुभयो । नेपालमा धेरै राजनीति मात्रै गर्ने तर देशको अर्थतन्त्रको विषयमा कुनै योजनाका विषयमा एजेन्डा नै बन्ने नगरेको बताउनुभयो ।
उहाँले नेपालमा राजनीतिक दलहरू सबै आफ्नो स्वार्थ केन्द्रित काम गर्ने भएकाले पछिल्लो समय देशको अर्थतन्त्र तहसनहस भएको बताउनुभयो । उहाँले नेपालका सबै राजनीतिक दलको विदेश नीति, प्रतिरक्षा नीति र आर्थिक नीतिमा न्यूनतम साझा धारणा नभएकाले अर्थतन्त्र राम्रो बनाउनका लागि आर्थिक नीति बनाउन आवश्यक रहेको बताउनुभयो ।
अर्थविद् क्षेत्रीले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कै आकारमा बैंकको निक्षेप रहेको बताउनुभयो । यस्तो अवस्थाले गर्दा अहिले बजारमा तरलता सङ्कट देखिनु स्वाभाविक भएको उहाँले बताउनुभयो । सरकारले पुँजीगत खर्च बढाउन नसक्नु पुरानै खर्च गर्ने प्रणालीको निरन्तरता भएको क्षेत्रीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक चङ्गुलले अर्थतन्त्र तहसनहस भएको छ । अहिले कुनै पनि अर्थतन्त्रका सूचक सकारात्मक छैन । सूचकहरू राम्रो बनाउनका लागि स्थिर राजनीति हुनुपर्छ । विश्वका धेरै देशले अर्थतन्त्र राम्रो बनाउनका लागि राजनीतिक समझदारी बनाउने गरेका छन् । नेपालमा धेरै राजनीति मात्रै गर्ने गरिन्छ तर देशकाे अर्थतन्त्रको विषयमा कुनै योजनाका विषयमा एजेन्डा नै बन्दैनन् । अब नेपालका राजनीतिक दलहरूले आर्थिक एजेन्डामा छलफल गर्नुपर्छ । नेपालका सबै राजनीतिक दलहरूको विदेश नीति, प्रतिरक्षा नीति र आर्थिक नीतिमा न्यूनतम साझा धारणा बनाउनुपर्छ । हाम्रो राजनीतिक प्रणाली मात्र होइन बजेट प्रणाली वर्षौँ वर्षदेखि उस्तै छ । यो सुध्रन सकेको छैन । आयोजना र कार्यक्रम छनोटदेखि कार्यान्वयन प्रक्रियासम्म समस्या छन् । सरकारको व्यापार नीति स्पष्ट छैन । नेपालले केही वस्तुको आयातमा प्रतिबन्ध नै लगाउनुपर्छ । राष्ट्रिय योजना आयोग पहुँचवालाको चङ्गुलमा नाचिरहेको छ ।’
अर्थविद् डिल्लीराज खनालले बैंकिङ क्षेत्रको लगानी बढेको तर उत्पादनमूलक क्षेत्रमा नगएकाले बजारमा तरलता अभाव भएको बताउनुभयो । खनालले बैंक तथा वित्तीय क्षेत्रले कर्जा लगानी व्यापक बढाउने तर कर्जा लिएको निजी क्षेत्रले उत्पादन उद्योग, आर्थिक क्षमता विकास गर्ने क्षेत्रमा लगानी नभएकाले अर्थतन्त्रमा सङ्कट आएको बताउनुभयो । उहाँले बैंकिङ कर्जा आयातमा लगानी हुदाँ आयात बढेको र राजस्व पनि बढेकाे बताउनुभयो । तर सरकारले राजस्व बढाएर पनि राजस्व बढेअनुसार पुँजीगत खर्च बढाउन नस्कनु दुःखद भएको खनालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय बैंकिङ क्षेत्रको कर्जा अत्यधिक बढेको तर कर्जा बढ्दा पनि उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसक्दा अर्थतन्त्र ओरालो लागेको छ । बैंकबाट कर्जा लिने निजी क्षेत्रले समेत उत्पादनमूलक क्षेत्रमा लगानी नगर्दा अर्थतन्त्रका सूचक सकारात्मक छैनन् । आर्थिक गतिविधि बढेकै बेला अर्थतन्त्रका सूचक खुम्चनु राम्रो होइन । गएकाे वर्ष कोभिड–१९ महामारीका बाबजुद पनि अर्थतन्त्र व्यवस्थापन गर्नका लागि मौद्रिक र वित्तीय नीतिले सहयोग गरेको थियो । तर अहिले सबै क्षेत्र चलायमान हुन थालेका बेला सूचकहरू खुम्चिए । ’
त्यस्तै अर्थविद् डा. पोषराज पाण्डेले सरकारी निकायबाट हुने अर्थतन्त्रको मूल्याङ्कन यथार्थवादी हुनुपर्ने बताउनुभयो । डा. पाण्डेले सरकारले आर्थिक सूचकहरू मूल्याङ्कन गर्दा यर्थाथमा गएर गर्ने नगरेको बताउनुभयो । उहाँले सरकारले नै यथार्थवादी भएर सूचक मापन नगर्दा थप समस्या आउने गरेको बताउनुभयो ।
उहाँले देशकाे अर्थमन्त्री पुँजीगत खर्च बढाउन नसक्ने तर ७ प्रतिशत आर्थिक वृद्धि दर हुने भन्दै हिँडिरहेका बताउनुभयाे । उहाँले विश्व बैंक लगायत अन्तर्राष्ट्रिय मापकहरूले नेपालकाे आर्थिक वृद्धि दर २ देखि ३ प्रतिशत हुन्छ भनी रहेको अवस्थामा ७ प्रतिशत हुन्छ भन्न नहुने बताउनुभयो । नेपालमा रेमिट्यान्सका कुरा धेरै हुने गरे पनि रेमिट्यान्स नै देशकाे अर्थतन्त्रको बाधक भएको बताउनुभयो ।
डा.पाण्डेले भन्नुभयो, ‘सरकारले नै अर्थतन्त्रका सूचक अनुमानका आधारमा गर्ने गरेको छ, त्यसलाई यर्थाथमा आधारित भएर गर्नु आवश्यक छ । राजनीतिका अगाडि अर्थतन्त्र निरीह भएको महसुस भएको छ । अर्थमन्त्रीले अहिले पनि ७ प्रतिशतको आर्थिक वृद्धि दर भनिराख्नुभएको छ । जबकि विश्व बैंक, एसियाली विकास बैंकले २–३ प्रतिशत पनि पुग्न नसक्ने प्रक्षेपण गरिरहेका छन् ।’
समितिको छलफलमा सहभागी सबै अर्थविद्ले देशकाे अर्थतन्त्र गम्भीर सङ्कटमा परेको बताएका छन् । उनीहरूले यसका लागि सरकारले आयातलाई रोक्नुपर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सुझाव दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।