परालको गुन्द्री बुन्ने परम्परा गाउँघरबाटै हराउँदै

 पुस ५, २०७८ सोमबार ९:२७:३२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ–पछिल्लो समय गाउँ घरबाटै परालको गुन्द्री बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै पाइने प्लास्टिकजन्य गुन्द्रीको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो ।

विगतमा विशेषगरी : पुस, माघ महिनामा पारिलो घाममा तान लगाएर परालको गुन्द्री बुन्ने प्रचलन रहेकोमा अहिले त्यो परम्परा हराउँदै गएको लमजुङ सुन्दरबजार नगरपालिका-६ की सन्तुमाया बुढाप्रिथीले बताउनुभयो ।

‘पहिले पुस लागेपछि तल्लो घर माथिल्लो घरका सबै मिलेर तान लगाइन्थ्यो । गुन्द्री बुनिन्थ्यो । अहिले त यो चलन हराउँदै गएको छ,’ उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

चोखो निधोमा परालको गुन्द्री 

उहाँका अनुसार हिन्दु संस्कारमा चोखो निधो कार्यमा परालको गुन्द्री आवश्यकता पर्छ ।

‘चोखो निधोमा परालको गुन्द्री नभइ हुँदैन,’ उहाँले भन्नुभयो, ‘साथमा पैसा भए अहिले बजारमा सजिलै प्लास्टिकका गुन्द्री पाइन्छ । त्यही किन्छन्। प्रयोग गर्छन् । गुन्द्री बुन्ने, प्रयोग गर्ने चलन त हराउँदै गएको छ ।’

उहाँका अनुसार तुलनात्मक रुपमा प्लास्टिकको गुन्द्री चिसो हुन्छ । विगतमा त झनै गाउँघरमा पाइने बाबियोको डोरीको तान लगाएर गुन्द्री बुन्ने चलन रहेको स्मरण गर्नुहुन्छ, लमजुङकी पूर्णीमाया परियार ।

उहाँका अनुसार अहिले कहीँकतै गुन्द्री बुन्दा सुतारीको डोरी प्रयोग गरिन्छ । सुतारीको डोरीमा बुनेको गुन्द्रीभन्दा बाबियोले बुनेको गुन्द्री धेरै राम्रो र टिकाउ हुने उहाँ बताउनुहुन्छ । 

‘हाम्रो पालामा त बाबियो काटेर । बाबियो बाटेर तान लगाइ गुन्द्री बुन्ने चलन थियो । अहिले त बाबियो पनि मासिँदै छ । बाबियो, परालको गुन्द्रीको प्रयोग घट्दै छ,’ उहाँले भन्नुभयो ।

यसरी बुनिन्छ, गुन्द्री 

सन्तुमायाका अनुसार घर नजिकै समथर बारी, आँगनमा तलमाथि चारवटा किला गाडिन्छ । तलमाथिका किलामा नै दुईवटा काठ तेर्स्याइन्छ । काठको हतासोभित्र डोरी छिराइन्छ । डोरी काठमा बाँधिन्छ ।

सर्लक्क परेका लामो परालको घान हाली दायाँबायाँ हातैले बिट मारिन्छ । अनि हतासोले ठोकिन्छ । यसरी नै गुन्द्री बुनिन्छ । लामो परालको गुन्द्री बुन्न सजिलो हुने र गुन्द्री राम्रो हुने उहाँले बताउनुभयो ।

निरन्तर बुनेमा एकदिनमै एउटा गुन्द्री बुन्न सकिने लमजुङ पैह्रेकी चिजा परियारले बताउनुभयो । तर गुन्द्री बुन्न दिनभरि नै टुक्रुक्क परेर बस्नुपर्ने भएकाले केही सकस हुने उहाँले बताउनुभयो । 

नयाँ गुन्द्री बिछ्याउँदा इज्जत

पुराना पुस्ताका अनुसार विगतमा घरमा आएका पाहुनालाई नयाँ गुन्द्री निकालेर बस्न आग्रह गर्दा प्रतिष्ठाको विषय हुन्थ्यो । इज्जत हुन्थ्यो।

तर अहिले परालको गुन्द्रीको सट्टामा प्लास्टिकजन्य गुन्द्रीको प्रयोग बढ्न थालेको छ । घरमा आएकालाई अचेल बस्नलाई आधुनिक कुर्सी, बेन्च दिइन्छ । 

गुन्द्री बुन्न जान्नेको सङ्ख्यामा कमी 

गुन्द्री बुन्नु आफ्नो आवश्यकता पूरा गर्नुमात्र नभइ आत्मनिर्भर पनि बन्नु हो ।

गाउँघरमै प्लास्टिकजन्य गुन्द्रीको प्रयोगले परनिर्भर बनाउनुका साथै पुर्ख्यौली सिप, हस्तान्तरण गर्ने संस्कृतिमा पनि कमी आएको छ । 

नयाँ पुस्ताले चासो नदिनुका साथै परम्परागत सिप हस्तान्तरणको अभावमा गाउँघरमै अहिले गुन्द्री बुन्न जान्नेको सङ्ख्या निकै कम छ । 

नेपाली समाजमा विवाह गरेको घर तथा कोही बितेको एक वर्ष नपुगेसम्म गुन्द्री बुन्न नहुने धार्मिक परम्परा रहिआएको छ ।

मौलिक परम्परा, संस्कृति संरक्षण गर्नु जरुरी

आधुनिकता र सजिलोको नाममा हाम्रा मौलिक संस्कृतिसँग जोडिएका परम्परागत गुन्द्री, थर्कटी र चकटी बुन्ने, प्रयोग गर्ने चलन हराउँदै गएकोमा पुराना पुस्तालाई दुःख लाग्छ । यसको संरक्षण गर्नु जरुरी छ ।

नयाँ पुस्ताले चासो दिनुका साथै पुराना पुस्ताले पनि पुर्ख्यौली सिप हस्तान्तरण गर्न जागरुक भएमा हराउँदै गएका यस्ता हाम्रा मौलिक परम्परा, संस्कृति संरक्षण गर्न सकिने सरोकारवालाहरु बताउँछन्।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया