कृषिमा अनुदान पाएपछि हेटौंडाका किसान हर्षित

 चैत ९, २०७८ बुधबार १३:५१:४१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ हटियामा रहेको साना किसान सहकारी संस्थालाई हेटौंडा उपमहानगरपालिकाले खेत, बारी जोत्न भनेर गएको वर्ष एउटा ठूलो ट्याक्टर दियो । सहकारी संस्थाले ट्याक्टर पाएपछि त्यो सहकारीसँग आबद्ध सबै किसानले खेत जोत्न त्यसैको प्रयोग गरे ।

सस्तो दरमा ट्याक्टर मार्फत खेत, बारी जोत्ने काम गर्न पाएपछी वर्षभरि गोरु पालेर परमपरागत खेती गर्नुपर्ने बाध्यता पनि हट्यो । पालिकाले नै ५० प्रतिशत अनुदान रकममा ट्याक्टर दिएपछि खेती गर्ने गाउँका किसानका लागि निकै सजिलो भएको सहकारीका अध्यक्ष कमला श्रेष्ठ बताउनुहुन्छ । 

यसैगरी चालु आर्थिक वर्षमा हेटौंडा–१३ पदमपोखरीमा त्रिवेणी कृषि सहकारी संस्थालाई प्रविधियुक्त टनेल निर्माणका लागि उपमहानगरपालिकाले १३ लाख रुपैयाँ उपलब्ध गराउने गरी सम्झौता गरेको छ । 

हटिया र पदमपोखरीका किसान मात्र होइन । हेटौंडा उपमहानगरपालिकाले पाँच वर्षको अवधिमा हेटौंडाका किसानहरुका लागि विभिन्न खालका अनुदान कार्यक्रम मार्फत सहयोग गरेको छ । विशेषगरी हेटौंडा उपमहानगरपालिकामा पछि  थपिएका वडाहरुमा रहेका किसानका लागि अनुदानका कार्यक्रमले निरन्तर रुपमा सहयोग गरेकोमा किसानहरु पनि उत्तिकै खुसी छन् । 

अनुदानका कार्यक्रमले विदेशबाट फर्किएका युवाहरुलाई खेती गर्नका लागि प्रोत्साहन गरेको हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत बताउनुहुन्छ । पाँच वर्षसम्म हेटौंडाका किसानलाई उन्नत जातका तरकारीका बिउ वितरण, कृषि चुन वितरण, कृषि फार्म प्रवर्द्धन कार्यक्रम, पुष्प खेती प्रवर्द्धन कार्यक्रम, फलफुलका बिरुवा वितरण, प्लास्टिकका टनेल निर्माण, व्यावसायिक खेती कार्यक्रम, कृषि बजार पूर्वाधार कार्यक्रममा सहयोग गरिएको मेयर महतले बताउनुभयो । 

यसैगरी कृषि सामाग्री ढुवानी कार्यक्रम, कृषि इन्जिनियरिङ प्रवर्द्धन कार्यक्रम, खाल्डो खन्ने मेशिन अनुदानका कार्यक्रम, कृषि सिंचाइ कार्यक्रम, कृषि उपज संकलन तथा बिक्री गर्नका लागि सहयोग कार्यक्रम, टनेल हाउस खेती कार्यक्रम, स्थानीय स्तरमा मिनी डिजीटल माटो ल्याब स्थापना गर्ने कार्यक्रम, बहुउद्येश्यीय नर्सरी स्थापना गर्ने कार्यक्रम, माटो जाँच शिविर कार्यक्रममा सहयोग गरिएको छ । 

पशुपन्छी पालनमा अनुदानका कार्यक्रम

हेटौंडा उपमहानगरपालिकाले पाँच वर्षको अवधिमा खेती गर्ने किसानसँगै पशुपालनका क्षेत्रमा काम गर्ने किसानका लागि पनि सहयोगका कार्यक्रम ल्याएको छ । किसानले पालेका पशुपन्छीका लागि आकस्मिक तथा संक्रमण रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गरेको छ । 

आन्तरिक तथा परजिवी रोग नियन्त्रण कार्यक्रम, एकल महिला, गरिब, असहाय पशुपालन प्रोत्साहन कार्यक्रम, विभिन्न प्रकारका खोप लगाउने कार्यक्रम, ग्रामीण कुखुरा प्रवर्द्धन कार्यक्रम, पशु आहार घाँस वितरण कार्यक्रम, पशु कृतिम गर्भाधान कार्यक्रम ल्याएको छ । यस्तै, पशु स्वास्थ्य शिविर कार्यक्रम, बंगुर प्रवर्द्धन कार्यक्रम अन्तर्गत पाठा, पाठी वितरण कार्यक्रम, महिलाहरुका लागि पशुपालन प्रोत्साहन कार्यक्रम, मासु पसल स्तरोन्नती कार्यक्रममा सहयोग गरिएको हेटौंडा उपमहानगरपालिका आर्थिक महासाखाका प्रमुख गंगा चौलागाईले जानकारी दिनुभयो । 

यसैगरी व्यावसायिक फर्म प्रोत्साहन कार्यक्रम अन्तरगत मिल्क ट्याङ्की तथा क्यान वितरण, सामुदायिक कुकुर व्यवस्थापन कार्यक्रम, युवा लक्षित पशुपालन कृषक अनुदान कार्यक्रम, औषधि खरिद तथा वितरण कार्यक्रम गरेको छ ।

दुधको खुवा बनाउने विद्युतीय मेशिन वितरण कार्यक्रम, समूहका किसानका लागि पशुपन्छी तौल मेशिन वितरण कार्यक्रम ल्याएको छ । यस्तै बोयर बोका वितरण कार्यक्रम, किसानका लागि खोर, गोठ सुधार कार्यक्रम, गाए प्रवर्दन कार्यक्रम, बंगुर प्रवर्द्धन कार्यक्रम लगायतका क्षेत्रमा सहयोग गरिएको महासाखाका प्रमुख चौलागाईले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षका कार्यक्रम

कृषि विकास तथा पशु विकास तर्फ उन्नत बाली विकासको लागि विभिन्न बालीको बिउ ३ हजार ४०० केजी र मौसम अनुसारका तरकारीको बीउ १ हजार ५ सय प्याकेट वितरण गरिएको छ । मूल्य श्रृंखला कार्यक्रम अन्तरगत कार्यक्रम लागु भएका वडा नम्बर–१७ र १९ का दुई वटा साना किसान कृषि सहकारीमा आबद्ध समूहका सदस्यहरुलाई मागमा आधारित भइ विभिन्न २ वटा आयोजना सञ्चालनका लागि सम्झौता सम्पन्न भएर कार्यान्यनमा गएको उपमहानगरपालिका कृषि तथा पशुपन्छी विकास साखाका प्रमुख दुर्गा न्यौपानेले जानकारी दिनुभयो ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्तरगत स्थानीय तहबाट सञ्चालन गर्ने गरी गएकाे वर्षदेखि सशर्त अनुदान प्राप्त भएको छ । यसबाट हेटौंडा–१८ लाई मेवा पकेट क्षेत्र र हेटौंडा–७ लाई तरकारी पकेट क्षेत्रका लागि छुट्याइएको छ ।

नगर क्षेत्रमा आवश्यक पर्ने अनुदानको रासायनिक मल वितरण गर्न ३५ वटा कृषि सहकारीहरुलाई बिक्रेताको लागि कार्य क्षेत्र सहित किटान गरी मल वितरण गर्ने व्यवस्था मिलाइएको छ । पशुपन्छी विकास तर्फ यस चालु आर्थिक वर्षमा ८०–२० को लागत साझेदारीमा साना किसान सहयोग कार्यक्रम अन्तर्गत काउ म्याट वितरण, पाडा पाडी अनुदान, युवा लक्षित अनुदान, माछा तथा हाँस पालन अनुदान, बंगुर पालन अनुदान, व्यावसायिक फर्म प्रोत्साहन कार्यक्रम गरी एक सय ११ जना किसानलाई अनुदान सम्झौता गरेर कार्यान्यनमा गएको न्यौपानेले बताउनुभयो ।

विगत वर्षहरुदेखि सञ्चालन हुँदै आएको पशुको कृतिम गर्भाधान कार्यक्रम चालु आर्थिक वर्षमा पनि सञ्चालन भइरहेको छ । नगरका ४ वटा सेवा केन्द्रहरु मार्फत पशुमा लाग्ने विभिन्न रोगको लागि आवश्यक औषधिहरु निःशुल्क वितरण कार्य भएको छ भने मौसम अनुसारको घाँसको बिउ सेवा केन्द्र मार्फत वितरण भइरहेको छ ।

पशुहरुमा आकस्मिक रुपमा लाग्ने खोरेत, पीपीआर, भ्याकुते रोगहरुको नियन्त्रणको लागि खोप लगाउने कार्य आवश्यकता अनुसार लगाउँदै आएको छ । 

चालु आर्थिक वर्षमा कृषि उत्पादनलाई व्यावसायिक बनाउने अभिप्रायले २५ वटा टनेल निर्माण कार्य, प्लास्टिक पोखरी ४ वटा, १० वटा साना सिँचाई आयोजना सञ्चालनका लागि सम्झौता भइसकेर कार्यान्वयन भइरहेको छ ।

कृषक समूह तथा सहकारीमा आबद्ध किसानहरुलाई कृषि पेशामा उत्साहित गराउन ५० प्रतिशत अनुदानमा साना ठूला गरी २४ वटा कृषि यान्त्रिक उपकरण उपलब्धताको लागि सम्झौतापछि कार्यान्वयन चरणमा छ । संघीय सरकारको सशर्त अनुदान ‘मासु मिसन’ कार्यक्रम अन्तर्गत पाडा पालन कार्यक्रमका लागि कृषक छनोट कार्य प्रक्रियामा रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

1 Comments

  • Shankar ghalan

    Sept. 3, 2023, 11:01 a.m.

    Hello sir namaskar म चिप्लेटी बाँसघारी बाट यहाँको जनताले पनि कृषि अनुदान प्राप्त गर्न सक्छु की

  •  0 Reply

तपाईको प्रतिक्रिया