प्रदेश-१, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा वर्षा : सुदूरपश्चिममा मात्रै मनसुन सक्रिय हुन बाँकी

 असार ११, २०७९ शनिबार ७:५९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रदेश-१, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रदेश-१ का धनकुटा, इलाम, ताप्लेजुङ र सुनसरीमा पानी परिरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । गण्डकी प्रदेशका पोखरा, स्याङ्जा, म्याग्दी, बाग्लुङ लगायतका ठाउँ र लुम्बिनी प्रदेशका प्युठान, अर्घाखाँची, रुपन्देही, दाङ लगायतका ठाउँमा पानी परिरहेको छ ।

गण्डकी प्रदेशमा मनसुनी वायुको अलि बढी नै प्रभाव रहेको मौसमविद् भट्टराईले जानकारी दिनुभयो । अन्य दिनको तुलनामा आज र भोलि अलि धेरै पानी पर्ने देखिएकाले बाढी/पहिरोको जोखिम रहन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । 

आज दिउँसो प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । प्रदेश-१ का एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ । 

देशका ६ वटा प्रदेशमा मनसुन फैलिएको छ । कर्णाली र लुम्बिनी प्रदेशमा हिजोदेखि मनसुन फैलिएको र अब बिस्तारै सक्रिय हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब सुदूरपश्चिम प्रदेशमा मात्रै मनसुनी बायु पुग्न बाँकी छ । सुदूरपश्चिममा एक/दुई दिन भित्रै मनसुनी वायु पुगेर सक्रिय हुने अनुमान छ ।

नेपालमा गएको जेठ २२ गते प्रदेश-१ बाट मनसुन भित्रिएको थियो । त्यसको झण्डै तीनहप्तापछि लुम्बिनी र कर्णालीमा मनसुन सक्रिय भएको हो । मधेस प्रदेश, वाग्मती र गण्डकीमा जेठ २६ गते मनसुन फैलिएको थियो । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।
 

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया