समसामयिक विषयवस्तुमा व्यङ्ग्यात्मक प्रहार गर्दै सिस्नोपानी नेपालक...
कात्तिक १६, २०८१ शुक्रबार
नवलपरासी जिल्ला, सुस्ता गाउँपालिकाका – २ पनारा बजारका राम शुभक गुप्ताले २०६८ सालदेखि २०७० सालसम्म गाउँको जगदिश बानियाँ र सुनिल बानियाँसँग घरायसी कामकाजका लागि जग्गा धितो राखेर ४ लाख, २ लाख र १ लाख रुपैयाँ गरी ३ पटकमा ७ लाख रुपैयाँ ऋण लिनुभयो ।
यही बीचमा उहाँले जग्गा बेचेर ७ लाख रुपैयाँको सावाँ ब्याज गरेर १५ लाख १५ हजार रुपैयाँ तिर्नुभयो । तर, ७ लाखको १५ लाख रुपैयाँ तिरिसक्दा पनि बानियाँ दाजुभाइले ऋण चुक्ताको कागज दिएनन् । उहाँले पटक पटक तमसुक माग्दा अझै ३२ लाख रुपैयाँ तिर्न बाँकी छ भनेर बानियाँ दाजुभाइले भन्दा उहाँ एक पटक बेहोश समेत हुनुभयो । त्यस बेलादेखि आफू मुटु रोगी समेत भएको बताउने गुप्ता आश्चर्य मान्दै भन्नुहुन्छ, ‘७ लाख रुपैयाँको ४७ लाख रुपैयाँ त कहीँ पनि हुँदैन । डबल तिरिसक्दा पनि नसकिने यो कस्तो ऋण हो ?’
२०६८ सालमा उहाँले पहिलो पटक ४ लाख रुपैयाँ ऋण लिँदा उहाँलाई ८ लाख रुपैयाँको कागज गराइएको थियो । त्यसको २ वर्षपछि उहाँलाई ऋण तिर्न बानियाँ दाजुभाइले ताकेता गरे । उहाँको ऋण तिर्न सक्ने अवस्था नहुँदा उनीहरुले घर/जग्गा लिलाम गराइदिन्छु भनि धम्की दिए ।
घर/जग्गा लिलामी हुने डरले उहाँले सुनिल बानियाँसँग फेरि २० लाख रुपैयाँको कागज गर्नुभयो । यसरी उहाँको ७ लाख रुपैयाँको ऋण १५ लाख रुपैयाँ तिरिसक्दा पनि ४७ लाख रुपैयाँ पुग्यो । गुप्ता भन्नुहुन्छ, ‘जगदिश बानियाँले अब हामीबीच केही लेनदेन छैन भनेर कागज लेखेर दिएको छ । तर, पनि तमसुक भने दिएको छैन । अनि मेरो जग्गा पनि फुकुवा गरिदिएको छैन । यसको कारण के हो?’
आफू पीडित भएपछि उहाँले गाउँमा अरुहरुसँग पनि कुरा गर्न थाल्नुभयो । यसरी कुरा गर्दै जाँदा अरु थुप्रै मानिस बानियाँ परिवारबाट पीडित भएको पाइयो । कुरा हुँदै जाँदा प्रतापपुर र सुस्ता दुई गाउँका गरी ४/५ सय मानिस बानियाँ परिवारबाट पीडित भएको गाउँलेले जानकारी पाए । गाउँका धेरै मानिस पीडित भएको पाइएपछि यसका विरुद्धमा व्यक्तिगत लडाइँ भन्दा पनि सामूहिक लडाइँ लड्नुपर्छ भनेर एउटा समिति नै खडा भयो । जसको अध्यक्ष स्वयम् गुप्ता हुनुहुन्छ ।
यसका बारेमा उहाँहरुले गाउँपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, सम्पत्ति शुद्धीकरणदेखि मानव अधिकार आयोगसम्म उजुरी गरिसक्नु भएको छ । उहाँहरुले उजुरी गरेको ४ महिना भयो । तर, कतैबाट पनि समस्या समाधान नभएपछि मिटरब्याज पीडितहरु माइतीघर मण्डलामा १५ दिनदेखि धर्नामा बसेका छन् । अहिलेसम्म कुनै राजनीतिक दलका नेता, मन्त्री तथा अन्य कसैसँग पनि वार्ताको विषयमा कुरा भएको छैन।
माइतीघर मण्डलाको धर्ना स्थलमा हुनुहुन्छ सुस्ता गाउँपालिका – ५ का अर्का मिटरब्याज पीडित राम शुभक मुसहर । उहाँले छोरालाई विदेश पठाउन सुनिल बानियाँसँग १ लाख ५० हजार रुपैयाँ ऋण लिनु भएको थियो । १ लाख ५० हजार रुपैयाँका लागि उहाँले श्रीमतीको नाममा रहेको साढे तीन कट्ठा घडेरी ३ लाख रुपैयाँमा दृष्टिबन्धक राख्नुभएको हो।
छोराले विदेशमा राम्रो काम गर्न नसकेपछि फर्किए । ऋणको रकम तिर्न साहुले ताकेता तथा धम्की दिए । २० जनाको परिवार रहेको शुभकले परिवारसँग सल्लाह गरेर दुई पटक गरी धितो बाहेकको जग्गा बेचेर ९ लाख रुपैयाँ तिर्नुभयो । तर पनि अझै ऋण चुक्ता नभएको भन्दै साहुले धितोको जग्गा पास गर्न उहाँलाई दबाब दिन छोडेनन् । केही सीप नलागेपछि उहाँले बन्धकी राखेको जग्गा पनि पास गरिदिनुभयो । त्यसको कति पैसा आयो भन्ने पनि उहाँलाई थाहा छैन । मुसहर भन्नुहुन्छ, ‘मैले त सही मात्र गरेको हो । कति पैसा आयो के भयो थाहा छैन । म भने सुकुम्वासी भएँ ।’
सुस्ता, प्रतापपुरका मिटरब्याज पीडित न्यायका लागि असार २ गतेदेखि माइतीघर मण्डलामा धर्नामा बसिरहेका छन् । धर्नाका लागि भनेर ७० जना काठमाण्डौ आए पनि खाने बस्ने उचित व्यवस्था नहुँदा वृद्ध र महिला गरेर ४० जना भने गाउँ नै फर्किए । बाँकी ३० जनामा पनि ठाउँ नहुँदा १२/१५ जना मात्र धर्नास्थलमा उपस्थित हुने गरेका छन् । अहिलेसम्म उनीहरुको बस्ने, खाने व्यवस्थाका लागि कुनै पनि सङ्घसंस्थाले सहयोग गरेको छैन ।
उनीहरु आफूले ल्याएको खानेकुरा सकिएकोले अब भोकै बस्नुपर्ने हो कि भन्ने चिन्तामा छन् । गौशालामा रहेको पशुपतिको पार्किङ भएको जग्गामा पाल टाँगेर बसिरहेका छन् ।
सावाँ र ब्याज गरेर तोकिए भन्दा बढी तिरेको रकम फिर्ता गर्नुपर्ने तथा पीडित सबैको घरजग्गा फिर्ता गरिदिनुपर्ने उनीहरुको माग छ । तर, सिंहदरबारको काखमै आएर पीडा सुनाउँदा पनि सरकारले देखे, नदेखझैँ गरेको उनीहरुको गुनासो छ । पीडितहरुको गुनासो छ, ‘हाम्रो पीडा सिंहदरबारको कानमै आएर सुनाएका छाैँ, तर अझै कसैले सुनेको छैन ।’
छोटो समयमा चलन चल्तीको ब्याज प्रक्रियाभन्दा अत्यधिक धेरै रकम असुलउपर गर्नु मिटर ब्याज हो । मिटरब्याज कुनै कागज विना मौखिक रुपले आफूखुशी तोकिने ब्याज हो । मिटरब्याज गैरकानुनीसमेत हो ।
मुलुकी देवानी संहिता २०७४ को लेनदेन सम्बन्धी व्यवहारको दफा ४७८ बमोजिम साहुले ऋणीसँग ब्याज लिन पाउने व्यवस्था गरेको छ । लेनदेन सम्बन्धी लिखित हुँदा लिखितमा ब्याज लिनेदिने कुरा उल्लेख भएमा लेखिए बमोजिम ब्याज लिन पाउने व्यवस्था गरेको छ । तर कानुनले ब्याज भने सावाँ रकमको वार्षिक १० प्रतिशतभन्दा बढी हुन नहुने स्पष्ट कानुनी व्यवस्था गरेको छ ।
कानुनले ब्याजको ब्याज लिन नपाउने व्यवस्था पनि गरेको छ । ऐन विपरीत साहुले ब्याजको पनि ब्याज लिएको रहेछ भने त्यस्तो रकम सावाँमा कट्टी हुने र सावाँ चुक्ता भइसकेको छ भने त्यस्तो ब्याज रकम ऋणीलाई फिर्ता गर्नुपर्ने व्यवस्था छ ।
कानुनले लेनदेन व्यवहारमा साहुले ऋणीबाट सावाँभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था पनि गरेको छ ।
प्रहरीमा मिटरब्याज पीडितको उजुरी बढ्दै गएपछि गृह मन्त्रालयले यस्तो काम नगर्न, नगराउन सचेत गराएको छ । ठूलो रकम ब्याज असुल गर्ने कार्य कानुन अनुसार दण्डनीय भएकाले त्यस्तो काम नगर्न नगराउन तथा गरेको पाइएमा कानुन अनुसार कारबाही हुने गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।