रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
पुस ७, २०८१ आइतबार
यसपालि कुकुर तिहार सुरु नहुँदै गाउँगाउँ र टोलटोलमा देउसीभैलो भट्याउनेहरुको ताँती लागेको छ । छाती र चिउँडो बीच बोसोले बाक्लो बनाएको नाम मात्रको घाँटी वा गलामा मालाको भारी भिरेर असिनपसिन र स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै बल्लतल्ल गाउँमा पाइला राखेका उनीहरुले पालैसँग एकोहोरो फलाकिरहेका छन् ।
भनभन भाइ हो : के भन्ने ?
चुनावमा भोट : दे भन्ने ।
हातै जोडेर : भोट माग
खुट्टै ढोगेर : भोट माग
नमस्कार गरेर : भोट माग
लम्पसार परेर : भोट माग
भकारो सोरेर : भोट माग
भकारी फोरेर : भोट माग
धानै काटेर : भोट माग
धनै साटेर : भोट माग
फकाएर जनता : भोट माग
धम्क्याएर जनता : भोट माग
...............................
हामी यसै आएनौँ, सिंहदरबारले पठाएको
फेरि पनि सिंहजस्तै बन्न खटाएको ।
हात जोड्छौँ, भोट दिनुस् के के गर्छौँ हेरौँला
तपाईँको जुनी त यस्तै हो हाम्रो फेरौँला ।
..............................
सामूहिक भैलो भट्याएपछि अब कांग्रेस र एमाले समूहको छुट्टाछुट्टै पालो आयो । सबैभन्दा पहिले कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका पाँच भाइ अघि सरे । देउवा, प्रचण्ड र नेपाल पालैपालो भट्याउन थाले । चित्रबहादुर र महन्थले पछ्याए ।
आहै सिंहदरबारको थम्बा.....।
सिंहदरबारको हैन क्या, केराको थम्बा भन्ने हो ।
केराको थम्बा के काम ? सिंहदरबारकै भन्ने हो । सिंहदरबारको थम्बा बलियो भए पो त्यहाँ हामी पाँच भाइ जम्मा हुन पाइन्छ । केराको थम्बा भए नि नभए नि हामीले केरा खान पाए भैहाल्यो नि ।
ए हो त नि । ल ल सिंहदरबारकै भनौँ ।
ए सिंहदरबारको थम्बा : देउसिरे ।
देउसिरे भनेको कि देउशेरे भनेको हो ? उस्तै उस्तै सुनियो त ।
जे सुनियो, त्यही हो । ल ल भनाैँ भनाैँ ।
भनभन नेपालजी : गठबन्धन
भनभन देउवाजी : गठबन्धन
सुनसुन दाहालजी : गठबन्धन
कुनातिर केसीजी : गठबन्धन
स्वागत छ महन्थजी : गठबन्धन
कांग्रेस जस्तो माओवादी : गठबन्धन
माओवादी जस्तो कांग्रेस : गठबन्धन
को कसको हो : गठबन्धन
न यसको, न उसको : गठबन्धन
पालैपालो खान : गठबन्धन
सत्तामै जान : गठबन्धन
शेरपछि आरजु : गठबन्धन
हैन हैन, प्रचण्ड : गठबन्धन
नेपाललाई अपमान : गठबन्धन
महन्थलाई मौका : गठबन्धन
चित्रबहादुरलाई चिट्ठा : गठबन्धन
.....................
भोट दिनुस् जिताउनुस्, देशमा बस्नै पर्दैन
खाडीतिर पठाइहाल्छौँ, पैसै पर्दैन
फ्रि भिसा, फ्रि टिकट जिम्मा आरजु देउवाको
माधव नेपाल तालिम दिन्छन् बिना ढेउवाको ।
...................
चुनावपछि सबैलाई विदेश पठाउने वचन दिएर सत्ता गठबन्धनले भैलो सकायो । त्यसपछि पालो आयो एमाले गठबन्धनको । ओली भट्याउन अघि सरे । उपेन्द्र, कमल थापा र अरुहरु पछि लागे ।
खै त रावलजी र घनश्यामजी त देखिएनन् नि ?
तिनीहरुले हाम्रो तालमा सुर मिलाउन जान्दैनन् क्या । उपेन्द्रजी र थापाजीले मिलाइहाल्नु हुन्छ नि ।
ल ल सुरु गरौँ ।
कसले भन्यो गठबन्धन : ओलीबा
घनश्यामलाई बन्धन : ओलीबा
रावलको टाउको टनटन ः ओलीबा
दाहिनेतिर राजपा : ओलीबा
दायाँबायाँ दुई राप्रपा : ओलीबा
पछिपछि परिवार दल : ओलीबा
वरपर दलबल : ओलीबा
ओली नै ओली : ओलीबा
ओली मात्रै ओली : ओलीबा
ओलीकै बोली : ओलीबा
ओलीकै थैली : ओलीबा ।
...............
के-के भयो पाँच वर्षमा रेलै कुद्याे सररर ।
पानीजहाज खोलै पस्यो : झण्डा फररर ।
भोट दिनुस् हामीलाई, किन खेर फाल्नु हो
दुई तिहाइले के के गर्यो देखिहाल्नु'भो ।
..................
ओली बाको भैलो पनि सकियो । त्यसपछि देउसीभैलोलाई आशिष दिने पालो आयो मतदाताको ।
दिन्छौँ आशिष : गनेर
सबैले जितून् : भनेर
फ्रि भिसा : चाहिएन
उखान र किस्सा : चाहिएन
नेता नै जाउन् : विदेश
हामीलाई प्यारो : स्वदेश
दुई तिहाइको जस्तो : हाल नहोस्
दुई पाइलटको जस्तो : चाल नहोस्
...............
पाँच वर्षमै आए पुग्छ, मध्यावधि नगर्नू
कांग्रेस–कम्युनिष्ट चिन्न पाइयोस्, डेरा नसर्नू
भोट दिन्छौँ जिताउँछौँ पालैपालो रमाओ
जितेपछि हाम्रो के काम, तिमेरले कमाओ ।
..................
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।