स्कुले जीवनको यादलाई ड्रेसमा सम्हालेर राखेको छु

 पुस १०, २०७९ आइतबार ११:२१:३६ | जेनिश बाडे
unn.prixa.net

मोबाइल बज्यो । म बिउँझिएँ ।  बिहान ६ बजेर १० मिनेट गइसकेछ । कलेज जान ढिलो हुने पक्का भयो । हतार हतार उठेँ । कलेजको ड्रेस लगाउने बेला मेरो आँखा झुण्डिरहेको स्कुल ड्रेसमा पर्‍यो । दुई वर्षदेखि झुण्डिरहेको त्यो ड्रेसले मलाई एकै छिनमा त्यही स्कुले जीवनको याद दिलायो ।

स्कुलको त ड्रेस हेर्दा नै मन कति फुरुङ्ग हुने । लाग्थ्यो फेरि यो लुगा लगाएर स्कुल जान पाए पनि हुने ।

पछाडिबाट बुवाले भन्नुभयो ‘त्यो लुगा हेरेर नबस् त कलेज जान ढिला भइसक्यो ।’

त्यही बेला महसुस भयो स्कुलको जस्तो जीवन त कलेज कहाँ हुँदो रहेछ त । 

यो स्कुल ड्रेसमा मेरो थुप्रै यादहरू छन् । स्कुलमा बिताएका ती अविस्मरणीय पल, साथीहरूसँग बिताएका हरेक क्षणहरू । शिक्षकहरूको गाली र ताली अनि मैले सिकेका अनगिन्ती ज्ञानहरु यही लुगासँग जोडिएका छन् । 

खरानी रङको स्कुल ड्रेस लगाएर मैले जीवनमा के मात्र सिकिनँ । हुन त सिकाई जीवनभरि सकिँदैन भन्छन् । तर स्कुल नै त्यस्तो एउटा ठाउँ जहाँ मानिसले जीवन सिक्छ । त्यही भएर पनि होला  सायद स्कुलको यो पुरानो लुगाको पनि यति धेरै माया लाग्छ । 

तर अब स्कुलको सम्झनासँगै मलाई कलेज पढ्नु छ । जीवनमा धेरै अघि बढ्नु छ । हतार हतार कलेज ड्रेस लगाएँ अनि कलेज निस्किएँ । करिब ५ सय मिटरको दुरीमा रहेको कलेज पुग्ने हतारोले मलाई एकै छिन् स्कुल ड्रेस बिर्सायो । तर स्कुले जीवनलाई सम्झाइदियो । 

स्कुल जाँदा बाटैभरि कति रमाइलो हुन्थ्यो । बिहानीको किरण झैँ स्कुल जाँदा खुसीले अनुहार चम्किलो हुन्थ्यो । बाटोभरि साथीभाइ भेटिन्थेँ । एक अर्कासँग ठेलमठेल गर्दै हिँड्थ्यौँ । 

अनेक कुरामा ठट्टा गरिन्थ्यो । निस्फिक्री हाँसिन्थ्यो । अहिले त सुनसान सडकमा एक्लै । कति फरक हुने रहेछ ।

बदलिने त समय रहेछ । याद समयसँग सँगै अघि बढ्ने रहेछ । अनि यादलाई जीवित राख्ने चिजहरूको माया पनि उत्तिकै लाग्ने रहेछ । 

हरेक पटक स्कुल ड्रेस देख्दा मलाई त्यही स्कुले दिनहरू झलझली याद आउँछ । ती क्षणहरू सम्झँदा मात्रै पनि मन रमाउँछ । 

थाहा छ अब त्यो स्कुले दिनजस्तो समय फेरि आउँदैन । घरैमा राखे पनि यो ड्रेसको पनि अब उपयोग हुँदैन । तर स्कुले जीवनको याद बोक्ने यो ड्रेसको माया मार्न नसकिने रहेछ ।

त्यसैले पुरानो र कामै नलाग्ने भए पनि यो ड्रेसमा मैले स्कुले जीवनको यादहरू सम्हालेर राखेको छु  ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जेनिश बाडे

जेनिश कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया