१ सय ३० जना बालबालिका पढ्ने विद्यालय दुई शिक्षिकाको भरमा, पढ्न पालो कुर्छन् विद्यार्थी

 पुस १७, २०७९ आइतबार ११:२२:१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङकाे केदार स्युँ गाउँपालिका-९ मा रहेकाे जवा प्राथमिक विद्यालयमा १ सय ३० जना बालबालिका अध्ययन गर्छन् । शिशुदेखि कक्षा ३ सम्म अध्यापन हुने यस विद्यालयमा न त खानेपानीकाे व्यवस्था छ, न कक्षाकाेठा नै । भवनकाे अवस्था जीर्ण छ । विद्यालयकाे छानाबाट वर्षातमा पानी र हिउँदमा शीत चुहिन्छ। 

स-साना बालबालिका भुइँमा बसेर पढ्छन् । प्राय: दलित समुदायका बालबालिका अध्ययन गर्दै आएका याे विद्यालय दुई शिक्षिकाले धान्दै आएका छन् । ३ काेठा रहेकाे विद्यालयमा एउटा काेठामा कार्यालय र अर्का दुई काेठामा विद्यार्थी राखेर पढाइन्छ । विद्यार्थी पढ्नका लागि पालाे कुरेर बस्छन् । 

कक्षाकाेठाकाे अभाव भएपछि दुई वटा कक्षा एकै ठाउँमा खप्टेर पढाउने गरिएकाे छ । कक्षा २ र ३ का विद्यार्थि सँगै राखेर पढाउँदा केही नबुझिने कक्षा ३ मा अध्ययनरत छात्रा लक्ष्मी कामी बताउँछिन् । 'पाठ्यक्रम फरक-फरक हुन्छ तर पनि दुई कक्षाका विद्यार्थी एउटै कोठामा राखिन्छ । अलग बस्न काेठा पुग्दैन ।  शिक्षक पनि छैनन् । कतिबेला पढ्न पाइन्छ भनेर पालाे कुरेर बस्नुपर्छ ' उनले सुनाइन् । 

विद्यालयमा कार्यरत शिक्षिका मञ्जु विक काेठा अभावका कारण कहिलेकाहीँ विद्यालय छिट्टै छुट्टी दिने गरेकाे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ-'एउटै कक्षामा कक्षा २ र ३ का विद्यार्थी राखेर पढाउँदा गुणस्तरीय शिक्षाकाे कल्पनै गर्न सकिँदैन । एकतर्फ पढाउन खोज्यो अर्कोतर्फका विद्यार्थीले हल्ला गर्छन् । तैपनि, सिकाइ प्रभावकारी हुन्छ कि भनेर शैक्षिक सामग्री प्रयाेग गरेर, गृहकार्य दिएर पढाउँदै आएका छाैँ ।'

विद्यालयका प्रधानाध्यापक आशा सिंह शाही विद्यालयकाे अवस्थाबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि समाधान हुन नसकेकाे बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ ‘केही समयअघि पालिकाले स्वयम्सेवक शिक्षक उपलब्ध गराएको थियो । तलब कम भएको भन्दै उहाँ विद्यालय छाडेर भारत गएपछि थप समस्या भएको छ । विद्यालयको भौतिक संरचनाका बारेमा हामीले वडाबाट निर्वाचित भएका सबै जना प्रतिनिधिदेखि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य कर्मचारीहरुलाई पटक पटक जानकारी गराइसकेका छौँ । सुनुवाइ हुनसकेको छैन।' काम विशेषले एक शिक्षिका नआउँदा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउने उहाँले बताउनु भयाे । 

विद्यालयकाे नाजुक अवस्था देख्दा निक्नै दु:ख लाग्ने  स्थानीय बताउँछन् । स्थानीय गेडे कामी भन्नुहुन्छ' विद्यालयको भवनको माग गरेको वर्षौँ भयो । कसैले पनि हाम्रो आवाज सुनिदिएको छैन । सबै विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर पढाउनु परेको छ । चन्दा सङ्कलन गरेर विद्यालयमा केही काम गरौँ भने त्याे पनि सम्भव छैन। ' 

केदार स्युँ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर बोहाेरा, उपाध्यक्ष मनिसा धामी र प्रमुख प्रशासकीय अधिकृत पदम उपाध्यायसहितको टाेलीले विद्यालयको स्थलगत निरीक्षण गरेकाे थियाे ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले विद्यालयको निरीक्षण गरेको र तत्काल पालिकामा भवन निर्माणका लागि रकम नरहेको तर केही समयभित्रै बजेट विनियोजन गर्नेगरी काम अघि बढाइएकाे बताएका छन् । तत्काल समस्या समाधानका लागि पालिकाबाट केही रकम विद्यालयलाई विनियोजन गरिने अध्यक्ष बाेहाेराले बताउनु भयाे ।  शिक्षक उपलब्धताका लागि प्रक्रिया अघि सारिसकेको र केही दिनभित्रै शिक्षक विद्यालयमा पठाइने उहाँले बताउनु भयाे। 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया