ग्रेटर गर्मीका ग्रेटर फाइदाको कुरा नगरौँ, नत्र सरकारले ....!

 जेठ २८, २०८० आइतबार १६:२४:२२ | मिलन तिमिल्सिना
unn.prixa.net

अखण्ड भारतको नक्साले तातेको नेपाललाई ग्रेटर नेपालको नक्सा टाँसेर बालेन र गगनले अरू तताए । तर तातो यत्तिमै सीमित हुने कुरा भएन । ग्रेटर नेपालभन्दा पहिले भित्रिएको ग्रेटर गर्मीले तात्दिनँ भन्नेलाई अझै तताइरहेकै छ । ज्यानमा चिसो पानी खन्याउँदासमेत तातो बाफ उड्न थाल्दा मान्छे छटपटिएका छन् । के गरौँ र कसो गरौँ भनेर उकुसमुकुस भएको छ । तर जतिसुकै उकुसमुकुस र छटपटी भए पनि गर्मीबाट बेफाइदाभन्दा फाइदा नै बढी हुन्छ । ग्रेटर गर्मीका ग्रेटर फाइदा थाहा पाउने हो भने भित्तामा ग्रेटर नेपालको नक्सा टाँसेभन्दा पनि ग्रेटर आनन्द मिल्छ । हपहप गर्मीले आकुलव्याकुल भइरहेको बेला ग्रेटर आनन्द लिन मन छ भने एकछिन तातो दिमागलाई ठन्डा बनाऔँ ।

छोटा र पातला लुगा मन पराउनेलाई अनुकूल मौसम

हिजोआज छोटा र पातला लुगाको फेसन छ । चिसो जाडोमा पनि शरीरमा काँडा उम्रने गरी पातला लुगा लगाएर हिँड्नेहरू सडकमा धेरै भेटिन्थे । तर धेरैले मन भए पनि जाडोमा छोटा र पातला लुगा लगाउन सक्दैनन्, शरीर ढाकिने गरी बाक्ला र लामा लुगा लगाउनुपर्ने बाध्यता हुन्छ । तर गर्मीको यो बेला लामा र बाक्ला लुगा फुकालेर फाल्न पाइन्छ । जतिसुकै छोटा र पातला लुगा लगाएर हिँडे पनि कसले के भन्यो भनेर वास्ता गर्नै पर्दैन । त्यसैले लाजभन्दा फेसनको महत्त्व धेरै हुनेहरूका लागि गर्मी अनुकूल याम हो ।

काम गर्न र पढ्न मन नहुनेलाई फाइदैफाइदा

गर्मीको यो बेला घरबाहिर निस्कनै गाह्रो । न काममा जान सकिन्छ, न पढ्न । बिहान–बेलुका घाम नभएको मौका पारेर खेतबारीको काम गरे पनि अरू काम नगर्दा यो याममा सुखै पाइन्छ । काममा जानै परे पनि गाह्रो हुँदैन । ओहो ! कस्तो गर्मी भन्दै पङ्खा नजिक बसेर हाई काढ्न र टिकटक चलाउन पाइन्छ । अझ काम गर्ने ठाउँमा एसी र कुलरको सुविधा छ भने त घरमाभन्दा कार्यालयमै शीतल हुन्छ । यस्तो गर्मीमा किन काम नगरेको भनेर कसैले हप्कीदप्की र सोधखोज गर्न पाउँदैन । 

काम गर्न मन नपर्नेहरूका लागि जस्तै पढ्न मन नपर्नेहरूका लागि पनि यो बेला उपयुक्त मौसम हो । स्कुल, कलेज बन्द हुन्छन् । बन्द नभएका स्कुल, कलेजमा पनि किताबकापी पल्टाएर पढ्नुको सट्टा त्यही किताबकापीले हम्केर ज्यान शीतल पार्नुपर्छ । कक्षामा पनि पढाइ कम र गर्मीकै कुरा धेरै हुन्छ । पढ्न नपर्दा विद्यार्थीलाई पनि आनन्द, पढाउन नपर्दा शिक्षकलाई पनि आनन्द ।

खानेकुरा बचत

आर्थिक मन्दीका कारण हातमुख जोर्न धौधौ हुनेहरूका लागि गर्मी ठूलो वरदान हो । किनकि गर्मीमा धेरै खाना रुच्दैन । खाना नरुचेपछि भएकै खानेकुराको बचत हुन्छ, थप खानेकुराको जोहो गर्नुपर्ने बाध्यता हुँदैन । परिवारका कसैलाई धेरै रुच्यो भने पनि यस्तो गर्मीमा जे पायो त्यही खान हुँदैन भनेर पन्छाउन पाइन्छ । त्यसमाथि गर्मीको बेला परिवारमा कोही न कोही बिरामी भइरहन्छन् । बिरामी भेट्न आउनेले बिरामीका लागि फलफूल ल्याइदिन सक्छन् । बिरामीले त यसै पनि धेरै खान सक्दैन । बिरामीको नाममा आएको फलफूल परिवारका सबै मिलेर खान पाइन्छ । यसैगरी आफ्नो खानेकुरा बचत र अरूको खानेकुराको आयात बढ्न थाल्ने हो भने सबै नेपाली सुखी र समृद्ध हुन धेरै पर्खनै पर्दैन ।

सबै नागरिक सफा र स्मार्ट 

अरू बेला हप्तामा एक पटक पनि नुहाउन मन लाग्दैन । कसैकसैले त महिना दिनसम्म पनि ज्यानमा पानी हाल्दैनन्, सात/आठ दिनमा एक पटक पासपोर्ट साइजमा नुहाएर ज्यानको मयल छोप्छन् । तर गर्मीको यो बेला नुहाउँदिन भनेर सुख पाइँदैन । दिनकै तीन/चार पटक ज्यानमा पानी हाल्नुपर्ने हुन्छ । धारामा पानी नआए पनि पानी खोज्दै खोलातिर जानुपर्छ । खोलाको पानी फोहोर नै भए पनि ज्यानमा हालेपछि सफा ठान्नुपर्छ । पानी सफा ठानेपछि फोहोर पानी खन्याएको ज्यान पनि सफा र चिटिक्कको हुन्छ । 

त्यसमाथि गर्मीमा छोटा र पातला कपडा लगाउनु परेपछि शरीरमा देखिने भाग धेरै हुन्छन् । नदेखिने अङ्ग यसै देखिँदैन ढुक्कै भयो, तर देखिने अङ्गमा त मयल देखाउनुभएन । कपडाले पुछपाछ गरेर भए पनि मयल फाल्नुपर्छ । त्यसमाथि गर्मीको बेला यसै माड्दा पनि मयल निस्कन्छ । मयल निकाल्दै फाल्दै गरेपछि ज्यान जुनसुकै बेला पनि सफा र स्मार्ट देखिन्छ । त्यसैले सबै नागरिकलाई सफा र स्मार्ट बनाउन पनि गर्मी उपयुक्त सिजन हो ।  

ग्रेटर गर्मीका ग्रेटर फाइदाबारे योभन्दा धेरै नकोट्याऔँ । नत्र सरकारले पुस–माघलाई समेत गर्मी महिना घोषणा गर्ने नीति तथा कार्यक्रम बनाएर मुर्रा राँगा र ग्रेटर नेपालको चर्चालाई ओझेलमा पारिदिन सक्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया