प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईको कथा सङ्ग्रह ‘दृश्य प्र...
पुस ७, २०८१ आइतबार
ए बुढा...कता जानुभयो खै, सुन्नुहोस् त..। एकछिन यहाँ आउनुस् न !
हैन किन कराउँछे ? एकछिन खेततिर जाउँ भनेर निस्कन लागेको, फेरि बोलाइ । किन के भयो ?
किन जानुपर्यो खेतमा ? तपाईँ र म मात्रैले रोपाइँ गरेर सकिने हैन । काम गर्ने खेताला पाइँदैन । शहरमा भएका छोरा बुहारी खेत रोप्न भनेर आउँदैनन् । त्यहाँमाथि अहिले त खेततिरभन्दा मोबाइलतिर पो धेरै रोपाइँ हुने रैछ ।
हैन के भन्छे यो, मोबाइलमा कसरी हुन्छ रोपाइँ ?
यहाँ आउनु न हेर्न, कसरी हुन्छ भन्ने त थाहा भैहाल्छ नि ।
खै त्यो मेरो चश्मा ले त । यो अस्ति छोराले पठाइदिएको नयाँ मोबाइल होइन र ?
हो हो यो मोबाइलमा त अनुहार हेरेर बात गर्न पनि मिल्ने । अनि फ्यासबुक हो कि फेसबुक हो, त्यो पनि चलाउन पाइने । टिकटाक कि ठिकठाक भन्ने पनि हुँदो रहेछ । हेर्न हुने/नहुने सबैथोक आउँदो रहेछ बुढा यसमा त ।
त्यही भएर पो हिजोआज मोबाइल मात्र हेरेर बस्दी रैछ त ।
अँ मोबाइल मात्र हेरेको छु नि ! भात पनि तिमीले नै पकाएका होलाउ ! घाँसभकारो र लिपपोत पनि तिमीले नै भ्याएका होलाउ ! फुर्सदमा एकछिन त हेर्नै पर्यो नि । कहिलेकाहीँ छोराबुहारी र नातिनातिनासँग कुरा गर्न पनि मन लाग्छ । अनि मोबाइल चलाउँदै गर्दा हेर्न हुने, नहुने के के देखिन्छ, देखिन्छ ।
अनि अहिले चाहिँ मलाइ हेर्न नमिल्ने कुरा देखाउन बोलाएकी कि हेर्न मिल्ने कुरा त ?
हेर्न मिल्ने नै कुरा हो क्या.... ल हेर्नुस् यहाँ धान रोपाइँ । हाम्रा छोरा बुहारीले पनि रोपाइँ गरेको फोटो राखेका रैछन् । अनि नेताहरु पनि हिलोमा पसेर धान रोप्दा रहेछन् । हेर्नुस् त यहाँ फोटा !
पख है त चश्मा लगाउँ । ...यी त ठूलै नेताजस्ता देखिन्छन् त । गफ गर्न र हँसाउन मात्रै जानेका होलान् भनेको त, खेत पनि रोप्दा रहेछन् !
अनि यहाँ तल हेर्नुस् न नयाँ पार्टीका युवा नेताहरु ! कस्तो मज्जाले हिलो खेल्दै, रमाउँदै धान रोप्दै छन् ।
खै खै ...हैन यिनीहरुको लुगामा त हिलोमैलो पनि लाग्दैन कि क्या हो । टलक्क टल्केको सेतो सुरुवाल लगाएरै हिलोमा पसेका छन् । नयाँ साडी, कुर्ता सुरुवाल र पाइन्ट लगाएरै रोपेका छन् । हाम्रो लुगामा त खेतमा पस्नेबित्तिकै हिलो लाग्छ । पखाल्दा पनि जाँदैन । के भएको यस्तो ?
अँ ठूलाबडाका लुगा तपाईं हामीले लगाउनेजस्तै हिलोमैलो देखिने खालको हुन्छ नि ! लाख र करोडको दाग लागेको हिलो त उनीहरुको लुगाले छेक्छ भने जाबो यो माटो र पानीको हिलो नेताहरुको लुगामा के लागोस् । लाग्नै नपाइ पखालिइ हाल्दो हो नि !
खै होला त नि । अनि हाम्रा छोरा बुहारीले पनि खेत रोपे भनेको हैन ?
अघि कता हो देखिएको थियो । खै मोबाइल ल्याउनुस् त । यी हाम्रो छोरो हाँस्दै हिलो खेल्दैछ ।
हाम्रो छोरो पनि पाइन्ट नै लगाएर हिलोमा पसेको रैछ त ! यसले पनि हिलो नलाग्ने र लागे पनि नदेखिने खालको पाइन्ट लाएको हो कि कसो ! हैन गाउँमा हुँदा त खेतमा जानै मान्दैनथ्यो । बल्लबल्ल गए पनि मैले पाँचवटा गरामा आली लगाउँदा उसले बल्लबल्ल एउटा सुर्को मात्र भ्याउँथ्यो । शहर गएर सुध्रेछ ।
अनि यिनी चाहिँ बुहारी । टिकट्याक कि ठिकठाक के पो भन्छन् यसलाई । ल हेर त नाच्दै धान रोपेकी !
यहाँ गाउँमा हुँदा त धान रोपेको कहिल्यै देखिएन । शहरमा पुगेपछि छोरा बुहारी दुवै मेहनती भएछन् ।
हैन बुढा छोरा बुहारीले शहरमा खेतबारी पनि किनिसकेका हुन् र, धान रोप्नलाई ?
खै अस्तिताका जाँदा त भाडामै बस्थे । कमाइ राम्रो छ जस्तो छाँटकाँट पनि थिएन । अर्काकै रोपाइँमा गएका होलान् नि ।
त्यो पनि फोटो खिच्नको लागि मात्रै रोपेजस्तो गरेका होलान् बुढा । साँच्चै रोपाइँ गर्नेलाई त यसरी फोटो खिच्ने, रमाइलो गर्ने फुर्सद कहाँ मिल्छ र भन्या ।
अहिले भने यसले ठिक कुरा गरी है । खै हामीले एउटा फोटो नखिचिकन त्यत्रा फाँट रोपेर सिध्यायौँ । अहिले पनि त साँच्चै धान रोप्ने तँ र म जस्ता मान्छेलाई फोटो खिच्ने र रमझम गर्ने फुर्सद कहाँ हुन्छ ! न मोबाइल खल्तीमा हालेर हिलोमा पस्न पाइन्छ, न हिलो हातले मोबाइल समातेर फोटो खिच्नै मिल्छ ? कताको फ्यासबुक, कताको टिकट्याक ! ठूलाबडा नेता र हाम्रा छोरा बुहारीले फोटो खिचाउनकै लागि धान रोपेजस्तो गरेर नाटक र नौटंकी गरेका हुन् ।
भनेको बेला मलबीउ कहिल्यै पाइँदैन । अहिले पनि सिँचाइ नभएर खेतमा धाँजा फाटेका छन् । रोप्न नपाएर खेतको बीउ सुकिसक्यो । रोपाइँ गर्न मिल्ने ठाउँमा पनि खेताला नभएर मेलो सार्न पाएको छैन । गाउँघरमा काम गर्न नसक्ने हामीजस्ता बुढाबुढी मात्रै छन् । काम गर्न सक्ने हातपाखुरा बलिया भएकाहरु कि शहरमा छन्, कि विदेशमा । उबेला हाम्रो पालामा बेसाउन या किनेर खान लाज हुन्छ भनेर पनि सबैले धान रोप्थे । वर्षभरीलाई पुर्याउँथे । खाइ नसकेर बेच्ने पनि चलन थियो । अहिले रोपेर भन्दा किनेर खान सजिलो मान्नेहरु धेरै भए ।
त्यही त भन्या बुढी । खेतमा भन्दा फेसबुकमा धान रोप्नेहरु धेरै भए । अब हामीले पनि फेसबुकबाटै चामल पठाउनुपर्छ बुझ्यौ ।
फेसबुकबाट कसरी पठाउने ?
ठूलाबडा नेता र छोराबुहारीले रोपाइँ गरेजस्तो गरेर फेसबुकमा फोटो राखेजस्तै हामीले पनि चामलको फोटो खिचेर फेसबुकमा राख्ने । छोराबुहारीले चामल पठाइदिनु भन्दा फेसबुकमा राख्देको छ हेर भन्ने । ठूलाबडा नेता र अरु रमितेहरुलाई पनि त्यही फेसबुकमा राखेको चामलको फोटो हेरेर भात खाउ भन्ने । जस्तालाई तस्तै !
यो मोबाइल भन्ने भाँडोबाट फोटो पो कसरी खिच्ने हो कुन्नि । अस्तिनै नातिनी घर आएका बेला फोन गर्न र उठाउन अनि फ्यासबुक कि फेसबुक हेर्न चाहिँ सिकाएकी थिइन् ।
अब फोटो खिच्न पनि सिक्नुपर्यो नि । खै मोबाइल ले त म पल्लोघरका मास्टरबाबुसँग सिकेर आउँछु । एक बोरा चामलको फोटो त आजै पठाउनुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।