बाढी पैरो पीडितलाई नदीखोलाका मुखियाको नम्र धम्की !

 साउन २९, २०८० सोमबार ९:५४:१९ | मिलन तिमिल्सिना
unn.prixa.net

यसपालिको वर्षामा पनि बाढी र पहिरोबाट मान्छेले दुःख पाए भन्ने खबर सुनेपछि नदीखोलाका मुखियाले आकस्मिक बैठक बोलाए । बैठकमा सधैँ एकनासले बगिरहने नदी, खोला तथा कहिलेकाहीँ मात्रै आफ्नो रुप देखाउने खोल्सा, खहरे, भेल, कुलोका प्रतिनिधि उपस्थित भए ।

मुखियाले सबैभन्दा पहिले नदीलाई सोधे : मान्छेहरुको बस्तीमा पसेर किन दुःख दिएको ? नदी खोला बहुलायो भनेर मान्छेले हामीलाई धारे हात लगाइरहेछन् ।

बस्ती नै सुसाउँदै आएको नदीका प्रतिनिधिले जवाफ दिए : हामी मान्छेको बस्तीमा पसेको हैन मुखियाज्यू, मान्छे हाम्रो बाटोमा बसेका हुन् । हिउँदमा हामी सानो हुन्छौँ । सानो भएको बेला हामीलाई सानै ठाउँ भए पुग्छ । बालुवा र गिट्टीको चिनो छोडेर वर्षा कुर्दै सानो भएर बहन्छौँ । वर्षामा फेरि ठूलो भएर फर्कँदा पहिले छोडेको बालुवा र गिट्टी केही पनि हुँदैन । कतै घर हुन्छ, कतै क्रसर मेसिन । आफ्नो भइरहेको खेतबारीले नपुगेर मान्छेले हामी हिड्ने बगरमा खेती गर्छन् । त्यहीँ घर ठड्याउँछन् । हामी हिँड्ने बाटोमा खेती र बस्ती भएपछि हामी के गरौंँ ? बस्ती र खेती छलेर बहन सकिँदैन । आफ्नो पावर भएको बेला केही साथीहरुले धार बदलेर बाटो बिराउनुबाहेक हामी नदीहरुले पहिले हिँड्ने गरेको बाटो छोडेका छैनौँ । आफ्नै बाटो हिँड्दा बाटोमा परेका बस्ती र खेतीमा हलका असर परेको मात्र हो ।

नदीपछि खोलाका प्रतिनिधि अघि सरे : हामी हिँड्ने पहाडतिर पनि उस्तै समस्या छ मुखियाज्यू ! हामी कमजोर भएको मौका पारेर मान्छेले हिउँदमा हाम्रो बाटो मासिदिन्छन् । खोलामा कतै घर बनेको छ, कतै खेतबारी । यता शहरतिर पनि हामी हिँड्ने बाटोमा जग्गा दलालहरुले घडेरी बनाएका छन् । हामीलाई नै पुरेर घर ठड्याएका छन् । सस्तोमा पाइयो भनेर किन्ने मान्छे पनि हाम्रो वास्तै नगरी घरघडेरी किन्छन् । खोला छ, भेलबाढी आउँछ भन्ने सोच्दैनन् । हिउँदमा हामीलाई हेप्छन्, चेप्छन् । वर्षा लागेपछि हेप्ने र चेप्ने हाम्रो पालो आउँदा विनासित्त रडाको मच्चाउँछन् । हामी हिँड्ने बाटोमा मान्छेले निहुँ खोजेको र अवरोध खडा गरेको कारण यस्तो भएको हो । यसमा हाम्रो दोष छैन ।

खोलाले पोल खोलेपछि आकलझुक्कल उर्लने खहरे बोल्न अघि सर्यो । उसले भन्यो : मुखियाज्यू त पहाड र डाँडाकाँडामा उक्लन सक्नुभएको छैन । हामी तिनै अग्ला डाँडाकाँडा, पहाड र चुरे हुँदै नदी खोलामा भेट हुन आइपुग्छौँ । हिजोआज चुरे र पहाडका बस्ती हेरिसक्नु छैन । जताततै डोजरले बाटो खनेका छन् । डाँडाकाँडा उजाड भइसके । मान्छेले अहिलेको सुख हेर्छन्, भोलि आउन सक्ने दुःख देख्दैनन् । जानै नसक्ने, नमिल्ने ठाउँमा पनि मोटरबाटो पुर्याउन खोज्छन् । जथाभाबी डोजरले बाटो खन्दा हामी हिँड्ने बाटो नै मेटिएको छ । हिउँदमा हामी नभएको मौकामा मान्छेले डोजर चलाउँछन् । अनि वर्षामा हामी आउँदा बाटो हुँदैन । बाटो नभएपछि जता सजिलो हुन्छ, उतैबाट बग्दै नदी खोलासम्म पुग्नुपर्छ । अनि बाटै नभएर हिँड्नुपर्दा पहिरोले पनि हामीलाई साथ दिन्छ । हामी र पहिरो सँगसँगै हिँड्न थालेपछि मान्छेको बस्ती, खेतबारी र वनजङ्गल त मासिने नै भयो ।

सबैको कुरा सुनेपछि नदीका मुखियाले सोधे : नदी खोला हिँड्ने बाटोमा घरखेत बनाउन हुँदैन, बगरका ढुङ्गा गिट्टी र माटो झिक्न हुँदैन, जथाभाबी डोजरले बाटो खन्न हुँदैन भन्ने मान्छेलाई थाहा छैन र ?

नदी, खोला र खहरले एकसाथ जवाफ दिए : सबै थाहा छ मुखियाज्यू, किन थाहा नहुनु । त्यसमाथि मान्छेले आफूलाई सबैभन्दा बुद्धिमान सम्झन्छ । आजको मात्र होइन, भोलिको कुरा पनि थाहा पाउँछ । बाढी, पहिरोको भविष्यवाणी पनि गर्छ । तर सबै थाहा पाएर पनि नगर्नुपर्ने काम गर्न छाड्दैन । त्यसमाथि नेपालका ढुङ्गा, गिट्टी, बालुवा र माटोका तस्कर तथा कतिपय जग्गा दलाल र ठेकेदारलाई त कसैले पनि सक्दैन । सरकार पनि उनीहरुले भनेकै मान्छ । उनीहरुले जथाभाबी डोजर चलाउँदा, ढुङ्गा गिट्टी बालुवा झिक्दा, प्लटिङ गरेर घडेरी बनाउँदा यस्तो समस्या आएको हो । उनीहरुका कारण सोझासिधा मान्छेले दुःख पाइरहेका छन् । सरकारले हामी नदी खोला हिँड्ने बाटोमा घर बनाउन, जथाभाबी ढुङ्गा गिटी र बालुवा निकाल्न तथा गाउँ बस्तीमा जथाभाबी डोजर चलाउन नदिएमा यस्तो समस्या आउने नै थिएन । 

सबैको कुरा सुनेपछि नदीका मुखियाले लामो सास ताने । अनि बैठक सकाउँदै भने : नेपालको भूबनोटको बारेमा मलाई राम्रैसँग जानकारी छ । अघि खहरेका प्रतिनिधिले भनेजस्तो मैले पहाड र डाँडाकाँडा नदेखेको हैन, देखेको छु । मेरो जन्म त्यही पहाड र डाँडाकाँडामै भएको हो । अहिले पो भेल र खहरेले जस्तो त्यहाँबाट हिँड्न सक्दिनँ, तर सबै थाहा छ । यहाँको भूबनोट नै यस्तै भएकाले मान्छे र हामी मिलेरै हिँड्नुपर्छ, रहनुपर्छ । मान्छेको बस्तीमा हामी पस्नु हुँदैन, हाम्रो बाटोमा मान्छे बस्नु हुँदैन । मान्छेहरुले वर्षाको बेला मात्रै बाढीपहिरो आउँछ भनेर झल्याँस्स हुने अरु बेला कानमा तेल हालेर बस्ने प्रवृत्ति सुधार्न आवश्यक छ । सबैभन्दा ठूलो कुरा त हामी नदी, खोला, खहरे, भेल हिँड्ने बाटो मान्छेले नै जोगाएर राख्न सक्नुपर्छ । हामी हिँड्ने बाटो मान्छेले जोगाए भने मात्रै हामीले पनि मान्छेलाई जोगाउन सक्छौँ । नत्र मान्छे त हाम्रो ताकतका अघि के हो र ? 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया