'टेरामोक्स' लागू नगर्ने प्रधानमन्त्रीको भनाइ, ३ अर्ब ११ करोड रुपैयाँका उपकरण अब के हुन्छन् ?

 साउन ३०, २०८० मंगलबार १९:१३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स) लागू नहुने बताउनुभएको छ ।

आज मङ्गलवार काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकका फोन ट्यापिङ गर्नेसहितका प्रयोजनका लागिसमेत प्रयोग गर्न खोजिएको विषय आइसकेकाले तत्कालै यो कार्यान्वयन नहुने बताउनुभएको हो । ‘उपकरण खरिदमा करोडौँ रुपैयाँ खर्च भए पनि नागरिकको फोन ट्याप गर्नेसहितको प्रविधि (टेरामाेक्स) लागू हुँदैन’, उहाँले भन्नुभएको छ ।

प्रधानमन्त्रीले टेरामोक्स लागू नहुने बताएसँगै नेपाल दूरसञ्चार प्राधिकरणले तीन अर्ब रुपैयाँभन्दा धेरै रकम खर्च गरेर ल्याएको प्रविधि र उपकरण काम नलाग्ने भएको हो । दुई करोड ३७ लाख ७० हजार अमेरिकी डलर (तीन अर्ब ११ करोड रुपैयाँभन्दा बढी) रकम खर्च गरी त्यसका लागि आवश्यक उपकरणसमेत विदेशबाट आयात भइसकेका छन् ।

टेरामोक्स प्रविधि लागू गर्न प्राधिकरणले पटक पटक नेपाल टेलिकम र एनसेललाई निर्देशन दिए पनि उनीहरूले लागू गर्न मानेका छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले भने दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स) को उद्देश्य व्यक्तिगत कल रेकर्ड गर्नका लागि नभएको स्पष्ट पारेको छ । टेलिकम कम्पनीहरूबाट भइरहेको सम्भावित राजस्व चुहावट रोक्न, भीओआईपी कल बाइपास नियन्त्रण गर्न र सेवाको गुणस्तर मापन गर्न टेरामोक्सको कार्यान्वयन गर्न लागिएको प्राधिरकणको दाबी छ । कल डिटेल, एसएमएसलगायत अति व्यक्तिगत विवरण सङ्कलन हुने भएकाले गोपनीयताको विषय जोडिएको भन्दै प्राधिकरणको टेरामोक्स प्रविधिबारे प्रश्न उठेको थियो । तर दूरसञ्चार प्राधिकरणले भने यसको खण्डन गर्दै राजस्व चुहावट हटाउन र सेवाको गुणस्तर बढाउन मात्रै यसको प्रयोजन भएको जनाएको छ ।

टेरामोक्स लागू भएमा दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण/न्यूनीकरण गर्न तथा सेवा प्रदायकहरूको नेटवर्कबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको मात्रा मापन गरी सेवाको गुणस्तर बढाउन सकिने प्राधिकरणको तर्क छ । प्रधानमन्त्री प्रचण्डले नै यो प्रविधि लागू नगर्ने बताएपछि तीन अर्ब ११ करोड रुपैयाँ तिरेर ल्याएका उपकरण के हुन्छन् भन्ने प्रश्न उठेको छ । यसबारे प्राधिकरणसँग नै जवाफ छैन ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया