कर्मचारीलाई योगपछि नागरिकलाई व्रत र उपवास अनिवार्य !

 असोज १४, २०८० आइतबार १३:३६:२७ | मिलन तिमिल्सिना
unn.prixa.net

देश र नागरिकको हितमा मात्रै काम गर्न जानेको सरकारलाई त्यसैअनुसारको नीति र योजना बनाउन भ्याइनभ्याइ छ । कतिपय ठाउँमा नागरिक पुग्न सक्दैनन् भनेर प्रधानमन्त्री र मन्त्रीहरु फुर्सद नभए पनि आफैँ कुदिरहेका छन् । तिब्बतको मानसरोवर पुग्न कोही नेपालीले आँट गर्न सक्छ ? एक त बाटो अप्ठ्यारो, अर्को पुगेर फर्कनै लाखौँ रुपैयाँ खर्च हुन्छ । यस्तो आर्थिक मन्दी र महँगीको बेला त्यतिका पैसा खर्च गरेर मानसरोवर पुग्ने आँट कस्ले गरोस् ! मन भए धन हुँदैन, धन भए स्वास्थ्यका कारण जान सकिँदैन । मन र धन भए पनि जो पायो त्यही जान सक्दैन भनेर सबैको तर्फबाट प्रधानमन्त्री, मन्त्री र अरु केही गन्नेमान्नेहरु चीन गएको मौकामा मानसरोवर पुगे । सबै नेपाली नागरिकको तर्फबाट फोटो खिचाए । कसैकसैको भाक्कल पनि पूरा भयो होला । प्रधानमन्त्री र मन्त्रीहरु पुगेपछि सबै नेपाली मानसरोवर पुगे सरह भयो । अब त्यतातिरको बाटो सम्झिरहनुपर्ने झण्झट कसैलाई भएन, आनन्दै भयो ।

आमनेपालीको प्रतिनिधि बनेर प्रधानमन्त्री र मन्त्रीहरु विदेशबाट फर्किएकै दिन नागरिकको हितमा अर्को काम भयो – तेल र ग्यासमा मूल्यवृद्धि ! दशैँको मुखमा सरकारको अर्को उपहार – मूल्यवृद्धिमाथि अर्को मूल्यवृद्धि ! मूल्यवृद्धिको चाङ ! कुरोको चुरो नबुझेका कतिपयलाई लागेको छ – सरकारले नागरिकको हित विपरीत काम गर्यो, तेल र ग्यासमा भाउ बढाएर नागरिकलाई थप पीडा दियो । तर कुरोको चुरो बुझ्ने हो भने सरकारले देश र नागरिककै हितमा यस्तो जोखिमयुक्त निर्णय गरेको हो । कर्मचारीलाई योग अनिवार्य गरेलगत्तै सरकारले नागरिकलाई व्रत र उपवास अनिवार्य गराउने नीति लिएको छ । जुन नीति स्वास्थ्य, वातावरण, अर्थतन्त्र र परम्पराको दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण छ । पछिल्लोपटक बढाएको मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गरेर सरकारले नागरिकको हितविपरीत काम गरेको छ । तर केही छैन, फिर्ता भएको मूल्यवृद्धि पनि नागरिकलाई व्रत र उपबास बस्न प्रेरित गर्ने खालकै छ । 

पहिलो कुरो अहिले तेल र ग्यासमा भाउ नबढाउँदा पनि बजारमा यसै पनि अरु सामानको भाउ बढेको छ । जो पायो त्यहीले तरकारी, चिनी, दाल, चामल, मरमसला केही पनि किनेर खान सक्दैन । अहिले ग्यासको भाउ बढ्दा पनि त्यही किनेर खान नसकिने कुरा पकाएर खान नसकिने मात्रै न हो । किन्नै नसकेपछि यसै पनि पकाउन परेको थिएन । यसै पकाउन नपरेपछि ग्यासको भाउ सय, हजार, लाख जतिसुकै बढोस् न, बालै भएन !

सबैभन्दा महत्त्वपूर्ण कुरा शरीरलाई स्वस्थ र फुर्तिलो बनाइराख्न योग, ध्यानसँगै व्रत पनि अनिवार्य चाहिन्छ । विज्ञानले मात्रै होइन, धर्मले पनि यसको पुष्टि गरेको छ । विज्ञानमा भन्दा पनि धर्मकर्म र पूजापाठमा बढी विश्वास गर्ने हाम्रा प्रधानमन्त्री र मन्त्रीहरुले व्रत र उपवासको महत्त्व बढी बुझेका छन् । 

हिजोसम्म बजारमा ग्यासबाहेकका सामानको मात्रै भाउ बढ्दा हुँदाखानेहरु मात्रै व्रत बसे । हुनेखानेहरुले महँगाे ‘क्यास’ मा खानेकुरा किनेर भए पनि ग्यासमा पकाएर खाइरहेका छन् । अब खाना पकाउने ग्यासकोसमेत भाउ बढाउँदा किनेर खान सक्नेहरुले समेत उपवास बस्नुपर्ने दिन आउँछ । हुँदाखाने र हुनेखानेहरु समेत व्रत र उपवासमा बस्न थाले भने थप महँगी र कालोबजारीको डर हुँदैन । त्यसैले सबै नागरिकलाई व्रत र उपवास अनिवार्य गराउन सरकारले ग्यासमा भाउ बढाएको हो ।

अर्को कुरा पेट्रोल र डिजलको भाउ भाउ बढेपछि जसले पायो त्यसले गाडीमा तेल हाल्न सक्दैन । तेल नहालेपछि गाडी गुड्दैन । गाडी नगुडेपछि सडकमा भिड कम हुन्छ । वातावरण सफा र स्वच्छ बनाउने पनि सरकारको प्रयास हो । गाडी नगुडेपछि धुवाँ धुलो उड्दैन । वातावरण त यसै पनि सफा हुन्छ ।

पेट्रोल र डिजल महँगाे भएपछि गाडी चढ्न सकिँदैन, हिँड्नुपर्छ । डाक्टरहरुले हिँड्नु स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ भनेर भन्दै आएका छन् । बिहान बिहान एकछिन हिँडेर फेरि बाइक र गाडी चढ्ने बानी भएकाहरु पनि अब हिँड्न थाल्छन् । आफ्नो खुट्टाको पैतालासमेत नदेखिनेगरी घ्याम्पे भुँडी भएकाहरुको पेट सुक्न थाल्छ । सारङ्गीजस्तो पेट भएकाहरुको फुक्न थाल्छ । एकातिर व्रत, अर्कोतिर हिँडाइ । सबै स्वस्थ, निरोगी, फूर्तिला, छरिता देखिन्छन् । सबै नागरिक स्वस्थ भएपछि पुरै देश नै स्वस्थ हुन्छ । 

त्यति मात्र कहाँ हो र पेट्रोलियम पदार्थको आयात शून्यमा पुर्याउने लक्ष्यअनुसार सरकारले काम गरिरहेको छ । पेट्रोलको भाउ यसैगरी बढाउँदै लगेपछि पेट्रोलियम पदार्थको माग नै घट्छ । माग घटेपछि आयात घट्छ । अहिलेदेखि नै मान्छेहरु पेट्रोलियम पदार्थको विकल्पतिर सोच्न थाल्छन् । विद्युतीय गाडी, सजिवनको तेल, घामको किरणतिर मान्छेको ध्यान जान्छ । अनि पेट्रोलको कुरा मान्छेले बिर्सन्छन् । पेट्रोलियम पदार्थ आयात गर्ने झण्झट र बाध्यताको अन्त्य हुन्छ । पेट्रोलियम पदार्थको आयात शून्यमा पुगेपछि अर्बौँ रकम विदेशिनबाट जोगिन्छ । देश धनी हुन्छ । देश धनी हुनु भनेको सबै नागरिक धनी हुनु हो । ग्यास र पेट्रोलको भाउ बढाएर नागरिकलाई स्वस्थ र धनी बनाउने सरकारको योजनामा विरोध गर्ने कि समर्थन ?

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया