४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेशन निर्माण सम्पन्न

 असोज ३०, २०८० मंगलबार १४:४३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सम्पन्न भएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेशनको निर्माण सम्पन्न गरी हिजाे सोमवार चार्ज गरिएको छ ।

देशभित्र पूर्व–पश्चिम बिजुली आपूर्ति र भारतसँगको विद्युत् व्यापारका लागि जीआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर देशकै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेशन हो । इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेशन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेशन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेशनमा ३१५ एमभीए क्षमताका ३ थान पावर ट्रान्सफर्मरहरू छन् । जसको क्षमता ९४५ एमभीए छ । इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेशनबाट झन्डै ४ हजार मेगावाट विद्युत् आदानप्रदान हुन सक्ने छ । इनरुवा–ढल्केबर प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लामा पर्ने जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली प्रसारण गर्न, स्थानीय रूपमा खपत गर्न र देशभित्र खपत गरी बाँकी भएको बिजुली भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेशन मेरुदण्डको रूपमा रहेको बताउनुभयो ।

‘सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली प्रवाहका साथै स्थानीय रूपमा आपूर्तिसमेत गरिने छ, यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई बिजुली आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ, यही सबस्टेशनबाट भारतसँगको बिजुली व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा  बङ्गलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘पूर्व–पश्चिम बिजुली आपूर्ति गर्न र भारतर्फ थप बिजुली प्रवाह तथा क्षेत्रीय बिजुली व्यापारका लागि इनरुवा सबस्टेशन अर्को ठूलो 'हब' बनेको छ ।’ मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरूलाई थप बिजुली दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेशनलाई महत्त्वपूर्ण मानिएको छ ।

अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुली कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेशनमा जोडिने छ । कोशी करिडोरको इनरुवा–वसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुङ्गेसाँघु खण्ड निर्माणाधीन छ । यस्तै तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । अरुण हब–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ ।

आयोजना प्रमुख शुक्र देवकोटाले इनरुवा सबस्टेशनलाई आउँदा दिनमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको बताउनुभयो । बर्खाको समयमा तराईमा हुने डुबान, विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको 'लकडाउन' र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिकहरू आउन नसक्दा सबस्टेशनको निर्माण प्रभावित भएको थियो । २०७८ कात्तिकमा सबस्टेशन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणहरूमा क्षति पुगी पुनः आयात गर्नु पर्दा निर्माणमा केही ढिलाइ भएको आयोजना प्रमुख देवकोटाले उल्लेख गर्नुभयो ।

आयोजनाअन्तर्गत नै ४०० केभी ढल्केबर सबस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा छ भने हेटौँडा सबस्टेशन निर्माणको अन्तिम चरणमा छ । इनरुवा र हेटौँडा सबस्टेशन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको इनरुवा सबस्टेशनको अनुमानित लागत १ करोड ४३ लाख अमेरिकी डलर र २० करोड ४८ लाख रुपैयाँ रहेको छ । सबस्टेशन निर्माण सुपरीवेक्षण एनईए इन्जिनियरिङ कम्पनीले गरेको थियो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया