मागको ९० प्रतिशत फूल स्वदेशमै उत्पादन

 कात्तिक १५, २०८० बुधबार ९:७:१९ | वैद्यनाथ पाैडेल
unn.prixa.net

हातमा गोदावरी र लाहुरे फूलका दुई वटा पोली प्याक बोकेर बनेपा नगरपालिकाकी महिला वडा सदस्य सरिता कुमारी श्रेष्ठ गोदावरी पुष्प मेलामा घुमिरहनु भएको छ । मेलामा भएका फूलहरु देख्दा त अझ अरु पनि किनौँ भन्ने उहाँको इच्छा छ । तर, उहाँलाई मन परेका फूलहरु अलि महँगो भएका कारण किन्नु भएन । उहाँ भन्नुहुन्छ, ‘फूलहरु हेर्दा कत्ति किनौँ जस्तो लाग्छ तर, महँगो छ ।’

उहाँले लिनु भएको गोदावरी तथा लाहुरे फूलको पोली प्याकको सय/सय रुपैयाँ पर्यो । तर, उहाँलाई एकदमै मन परेको एउटा गोदावरी फूलको गमलाको भने आठ सय रुपैयाँ छ । मन परे पनि महँगो भएका कारण उहाँले किन्नु भएन ।

उहाँ भन्नुहुन्छ, ‘मलाई मन परेको गोदावरी भने अलि महँगो नै लाग्यो । आठ सय भन्छ एउटा गमलाको । तर राम्रो भने निकै नै छ । अर्को भनेको हामीले लगेर कतिन्जेल टिक्ने भन्ने पनि हुन्छ ।’

जनप्रतिनिधि पनि भएका कारण आफूले पनि नगरपालिकामा फूल खेती सम्बन्धी तालिमको व्यवस्था पनि गर्ने र फूल खेतीमा लाग्न चाहनेहरुलाई गोदावरी पुष्प मेला घुमाउने ल्याउने पनि उहाँको योजना छ ।

जाउलाखेलमा आउँदो शनिवारसम्म चल्ने गोदावरी पुष्प मेलामा ७० वटा स्टलहरु रहेका छन् । यसमा विभिन्न किसिमका फूल मात्र नभएर फलफूल, कृषिऔजार, मलबीउ तथा गमलाहरु पनि रहेका छन् । नाम अनुसार नै गोदावरी पुष्प मेलाको आकर्षण भने सम्झना नर्सरीको गोदावरी फूलमा देखिन्छ । जहाँ विभिन्न किसिमका आकर्षक गोदावरी फूलहरु रहेका छन् । एउटा गमलामा फूलेको एउटै ठूलो गोदावरी र विभिन्न किसिमका गोदावरी फूलेको एउटै गमला प्रदर्शनीमा राखेको सम्झना नर्सरीले मेलामा भएको प्रतियोगितामा उत्कृष्ट पुरस्कार पनि हात पारेको छ ।

झण्डै ३८ वर्ष अगाडिदेखि पुष्प व्यवसाय गरिरहनु भएका सम्झना नर्सरीका तीर्थबहादुर महर्जन अहिले फूल खेती निकै विस्तार भएको र आम्दानी पनि राम्रो भएको बताउनुहुन्छ । उहाँले चार जनालाई रोजगारी पनि दिनुभएको छ । उहाँको मुख्य आम्दानीको स्रोत पनि यही नर्सरी व्यवसाय नै हो ।
उहाँ भन्नुहुन्छ, ‘अहिले फूल खेतीको व्यवसाय राम्रो छ । गर्नसक्ने र खट्न सक्नेलाई यो व्यवसाय अहिले राम्रो छ । यसकारण अहिले फूल पनि धेरै बाहिरबाट ल्याउनु पर्दैन ।’

उहाँको स्टलमा रहेको एउटै गोदावरी फूलको आठ सय रुपैयाँ पर्छ । विभिन्न किसिमका गोदावरी फूलेको एउटा गमलाको दुई हजार रुपैयाँ छ । यी गोदावरी फूलहरु मेलाको आकर्षण पनि रहेका छन्।

अहिले नेपालमा झण्डै ४४ हजार मानिसहरु फूल खेतीमा लागेका छन् । ४८ जिल्लाका दुई सय २१ हेक्टरमा फूल खेती गरिन्छ भने ११ सयभन्दा धेरै पुष्प व्यवसायीहरु फूल खेतीमा संलग्न हुनुहुन्छ ।

फूल खेतीमा आकर्षण बढेका कारण ९० प्रतिशत स्वदेशी उत्पादनले आत्मनिर्भर रहेकाे बताउनुहुन्छ फ्लोरिकल्चर एसोसियनका अध्यक्ष मिनबहादुर तामाङ । तर, अहिले पनि १० प्रतिशत फूलका लागि आयातको भर पर्नुपर्ने हुन्छ । १० प्रतिशत आयातमा भर पर्नु पर्ने कारण भने तिहारको तीन दिन सयपत्री फूलको अत्यधिक माग हुने र अरु समयमा भने त्यसले बजार नपाउने प्रमुख कारण हो ।

तामाङ भन्नुहुन्छ, ‘यो तिहारको तीन दिनका लागि भनेर मात्र हामी सयपत्री फूलको खेती  गर्न सक्दैनौँ । यसले अरु समयमा बजार पाउँदैन । र, भारतमा निर्यात गर्नका लागि त्यहाँ उत्पादन लागत कम भएका कारण बजार पाउन सक्दैन ।’

१० प्रतिशत आयातमा जोडिन आउने अर्को प्रमुख हिस्सा भनेको भ्यालेन्टनइन डे को दिन खपत हुने रातो गुलाफ पनि हो । भ्यालेन्टाइन डे चिसो मौसममा हुने कारणले यहाँ त्यो समयमा गुलाफ उत्पादन हुँदैन । 
तमाङ भन्नुहुन्छ, ‘भ्यालेन्टाइन डे मा चिसो मौसमका कारण यहाँ फूल फुल्दैन । यसकारण हामीले ८० प्रतिशत रातो गुलाफ भारतबाटै आयात गरेर बजार धान्नुपर्ने अवस्था छ । र, हाइब्रिड बीउ आयात गर्नुपर्ने कारणले १० प्रतिशत आयातको अवस्था अझ केही समय रहने देखिन्छ ।’

फूलको धेरै माग हुने तिहारमा अघिल्लो वर्ष पनि २० प्रतिशत सयपत्रीको माला आयात भएको थियो । यस वर्ष पनि १५ देखि २० प्रतिशत आयात गर्नुपर्ने हुन्छ । तर, यस पटक भने भ्याटका कारण सयपत्रीको माला केही महँगो हुने बताउनुहुन्छ तामाङ ।

उहाँ भन्नुहुन्छ, ‘यो वर्ष सयपत्रीको माला भ्याटको कारणले अलिकति महँगिनेछ । गएको वर्ष एक सय रुपैयाँमा कारोबार भएको देखिन्थ्यो । यो वर्ष एक सय २५ देखि ५० सम्म जान्छ कि भन्ने हाम्रो अनुमान छ । यो खुद्रा मूल्य भयो । थोक मूल्य भने ७५ रुपैयाँ पर्ने अहिलेको अवस्थाले देखाउँछ ।’

मखमली फूल भने स्वदेशी उत्पादनले नै धान्ने भएकाले गएको वर्षकै भाउमा कारोबार हुने व्यवसायीको अनुमान छ । गएको वर्ष ५०/६० रुपैयाँमा खुद्रा कारोबार भएको मखमली फूलको माला यस वर्ष पनि नबढ्ने एसोसियसनको भनाइ छ ।

खुला सीमाका कारण भारतबाट फूल आयात भएको र लगानीको वातावरण नबनेका कारण फूलमा आत्मनिर्भर हुन नसकिएको तामाङको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘खुला सिमानाका कारणले निर्वाधरुपमा भारतबाट फूल आयात भइरहेको अवस्था हो । सस्तो उत्पादन त्यो पनि अवैध हिसाबले, अवैध तरिकाले भइरहेको छ । त्यो रोकिने बित्तिकै हामीकहाँ लगानीको वातावरण बन्छ । अनि हामी आत्मनिर्भर बन्छौँ ।’

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया