प्रहरी वरिष्ठ उपरीक्षक गोपालचन्द्र भट्टराईको कथा सङ्ग्रह ‘दृश्य प्र...
पुस ७, २०८१ आइतबार
जाजरकोटमा गएको भूकम्पले गहिरो निन्द्रामा परेका काठमाण्डौमा नेताका खाट रातिको १२ बज्न लाग्दा मज्जैले हल्लियो । आँखा मिच्न नभ्याउँदै फोनका घण्टी टरटराउन थाले । मध्यरातमा भूकम्पले सखाप बनाएको सुन्नेबित्तिकै डाडुपन्यौ समाएर बसेका नेता खाटबाट उठे । हतारहतार दौराको तुना कसे । अनि फेसबुकमा स्टाटस लेखे: भूकम्प प्रभावित क्षेत्रमा तुरुन्त उद्धार र राहतको काम थाल्न निर्देशन दिन्छु ।
त्यही डाडुपन्यौको अर्को छेउ समातेर बसेका अर्का नेताले निद्रामै उनको स्टाटस पढे । अनि फोन गरेर भने : यो त आफूले आफैँलाई निर्देशन दिएजस्तो भयो नि नेताज्यू । डाडुपन्यौ समाउने मुख्य ठाउँमा त तपाईँ नै हुनुहुन्छ । अब आफैँले आफैँलाई के निर्देशन दिनु ? बरु तपाईँ उद्धारमा लाग्न थाल्नुहोस् । निर्देशन दिने काम हामी गरिहाल्छौँ।
अनि डाडुपन्यौ समाउने पालो पर्खेर बसेका उनले उसैगरी फेसबुकमा निर्देशन दिए । ध्यानाकर्षण भएको भन्दै अरुको ध्यान आफूतिर तान्ने प्रयास गरे । त्यसपछि फेसबुकमा सुझाव र निर्देशन दिनेहरुको ताँती लाग्यो । केही पनि नलेखीकन चुप लागेर बस्दा राजनीतिमा पछि परिने हो कि भनेझैँ गरी यो, त्यो, उ त्यो सबैथरी नेताले फेसबुकमा उद्धार र राहतको निर्देशन दिए । निर्देशन दिनेहरुको हूलमा मिसन ०८४ मा कुदेका नेताहरु मात्रै होइनन्, अहिलेकै मिसन मिस हुने हो कि भन्ने चिन्तामा रहेका विभिन्न पेसा, व्यवसाय, सङ्घसंस्थाका मान्छेहरु पनि थपिए । फेसबुकमा सुझावमाथि सुझाव, निर्देशनमाथि निर्देशनको खात लाग्यो।
फेसबुकमा सुझाव र निर्देशन दिने काम त सकियो, अब के गरेर बस्ने ? नयाँ आइडिया नफुरेपछि एउटाले पुरानै ढर्रामा पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । तँभन्दा म के कम, मेरो खल्तीको जाने होइन क्यारे भनेझैँ गरी अर्कोले एक करोड दिने वाचा गरे । त्यसपछि यसले, उसले, त्यसले लाखलाखका सहयोग गर्ने आश्वासनको ओइरो लाग्न थाल्यो ।
एकातिर फेसबुकमा सुझाव र निर्देशन, अर्कोतिर लाख र करोडका सहयोग गर्ने होडबाजी । अनि रातको निद्रा मारेर, आफ्नै निवासमा पाक्ने मिठोमसिनो खानेकुरा र भाषण–उद्घाटनको काम छोडेर विपद् बस्तीमा पुगेकाहरुले छाती ठटाएर भने : उद्धार र राहतमा केही कमी हुँदैन । चिन्ता नगर्नुहोस् ।
कोही हेलिकप्टरमा पुुगे । कोही गाडीको लावालस्कर लिएर पुगे । कोही औषधि पानी लिएर पुुगे । कोही दाल, चामल र नुन खुर्सानी लिएर पुगे । कोही गफ लिएर पुगे । कोही बिहान पुुगे । कोही साँझपख पुगे । कोही फर्किए, कोही उतै बसे ।
उनीहरुको दौडधूप र चुरीफुरीका कारण भूकम्पको त्रासले छर्लङ्गै रात कटाएकाहरुको आँत रसायो । गुलिया आश्वासनले पेट नै भरिएलाजस्तो भयो । परिवार, आफन्त र घरबास गुमाएको पीडामा थोरै भए पनि राहतको टुसो पलायो । उनीहरुका अनुहारमा आशाका रङ्ग भर्न सफल भइयो भन्दै आश्वासन बाँड्नेहरु मख्ख परेर बासस्थान फर्किए ।
भोलिपल्ट उठेर समाचार पढ्दा त पीडितका गुनासा मात्रै सुनिन्छन् । कोही भन्छन् : चिसो भुइँमा सुत्यौँ । कोही भन्छन् : भोकभोकै रात कटायौँ । कोही भन्छन् : राहत पाएनौँ । कोही भन्छन् : खाने–लगाउने कुरा सबै घरभित्रै पुरियो, अब के खाएर बस्ने ?
सुझाव र निर्देशन दिएकाहरु आपसमा कुरा गर्न थाले ।
‘हैन यसपालि त राम्रै काम गरेका छौँ त । त्यत्तिका सहयोग गर्ने आश्वासन दिँदा पनि किन उनीहरु गुनासो गर्छन् ?’
‘यस्तै हुन्, साथीहरु गुनासा मात्रै गर्छन् । भएन, पुगेन भन्ने त बानी नै भसक्यो भन्या । त्यतिका सहयोग गर्छौँ भनेकै छौँ । सुझाव र निर्देशन दिएकै छौँ । त्योभन्दा बढी के गर्ने त ? भन्नेबित्तिकै खान र सुत्न कहाँ पाइन्छ त ? सहनु पनि पर्यो नि ।’
‘त्यो त हो । तर हामीले पनि निर्देशन र सुझाव दिने परिपाटीलाई अलिकति परिमार्जन गर्न आवश्यक छ कि जस्तो लाग्छ मलाई त । निर्देशन नै दिएपछि किन भूकम्पलाई नै पहिले नदिने ?’
‘हो त नि, त्यो त दिमागमै आएनछ । ल अब अर्को स्टाटस लेख्नुपर्यो : हामीलाई गुनासाको भारी थप्ने अपजसे भूकम्पलाई आउँदा दिनमा यसरी नआउन निर्देशन गर्दछु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।