सिक्लेस र घान्द्रुक जानुअघि जानकारी लिन आग्रह

 मंसिर ३, २०८० आइतबार २०:३०:४९ | रासस
unn.prixa.net

फाइल तस्बिर

कास्की – दशैँ, तिहार सकिएलगत्तै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढेको छ । जसका कारण स्थानीयलाई गाउँ पुगेका पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ छ ।

पछिल्ला समय पोखरा घुम्न आएका पर्यटक लेकसाइडमा मात्र सीमित हुन चाहँदैनन् । वरपरका गाउँबस्ती र थुम्का उनीहरूको रोजाइमा पर्ने गरेको छ । त्यही कारण कास्कीका पर्यटकीय गाउँहरूमा ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १० र ११ मा पर्ने घान्द्रुकमा अस्ति शुक्रवार दुई हजारभन्दा बढी पर्यटक पुगेका घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार हिजाे शनिवार पनि दुई हजार जनाकै हाराहारीमा पर्यटक पुगेका छन् ।

‘पछिल्लो हप्ता घान्द्रुकमा पर्यटक पूर्णरूपमा भरिएका (हाउसफूल) नै भएको थियो’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘धेरै हुँदा हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ । पाहुनालाई हामीले फर्काएका छैनौँ ।’ घुमघामको सिजनमा यहाँ आउँदा यहाँको बासस्थान, मौसमी अवस्थालगायत आवश्यक विषयमा जानकारी लिएर मात्र आउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

‘घुम्न आएका पाहुनालाई बास छैन भनेर फर्काउन पनि भएन । हामीले मिलाएर त राखेकै छाैँ’, अध्यक्ष गुरुङले भन्नुभयो, ‘पाहुनाको सुविधाका लागि उहाँहरू आफैँले सिजनको समयमा हामीसँग समन्वय गरेर आउनुभयो भने राम्रो हुन्थ्यो ।’ उहाँका अनुसार घान्द्रुकमा पर्यटक राख्नका लागि ५५ होटल र २२ होमस्टे छन् । पाहुना बढी भएको अवस्थामा गाउँका घरमा व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङको भनाइ थियो । होटल, होमस्टे र घरमा गरी घान्द्रुकमा एक दिनमा दुई हजार दुई सय जनासम्म पाहुन राख्ने क्षमता रहेको उहाँले जानकारी दिनुभयो ।

कास्कीकै मादी गाउँपालिका–१ मा पर्ने पर्यटकीय गाउँ सिक्लेसमा पनि पर्यटकको चाप बढेको छ । दशैँ, तिहार सकिएसँगै सिक्लेसमा दैनिक पाँचदेखि छ सयको हाराहारीमा पर्यटक पुग्ने गरेका मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो । सिक्लेस हुँदै क्हपुचें हिमताल र कोरी डाँडा जाने पर्यटकका कारण पनि यहाँ पर्यटकको चाप बढेको उहाँले बताउनुभयो । वडाध्यक्ष गुरुङले पर्यटकको सङ्ख्या बढी हुँदा व्यवस्थापनमा गाह्रो हुने भएकाले सामाजिक सञ्जालमार्फत जानकारी दिएर आउन आग्रह गर्नुभयो ।

सिक्लेसमा आउने आन्तरिक पर्यटकको चाप बढ्दो छ । कतिपय पर्यटक गाउँमा आइसकेपछि बस्नलाई समस्या भएको गुनासो आइरहेको छ, उहाँले भन्नुभयो, तसर्थ गाउँमा आउनुभन्दा अघि नै बस्न चाहनुभएको होटल/होमस्टे सञ्चालकसँग सम्पर्क गरेर मात्र आउनुहुन अनुरोध छ । साथै क्हपुचें र कोरी ट्रेकका लागि सम्बन्धित होटल सञ्चालकसँग सम्पर्क गरेर आउँदा असहजता नआउने उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया