भागबन्डाकाे भागाभागमा भयो “भा ग बन् डा” !

 पुस २२, २०८० आइतबार १६:८:३४ | मिलन तिमिल्सिना
unn.prixa.net

स्वादिलो र मिठो पद मुखमै पर्ने पक्का भएपछि देशभरकै अल्छेका जिब्रो रसाए । तर एक्लै पोल्टामा पार्ने आँट छैन, अर्काको सहारा लिनुपर्छ । अर्कोको औँला नसमात्दासम्म ठिङ्ग उभिन सकिँदैन । कुर्सीको एउटो टेको निकाल्नेबित्तिकै गर्ल्यामगुर्लुम ढल्छ । फेरि मिल्न लागेको आहारा खान पनि उसकै सहारा नभइ हुन्न । तर आहारा थोरै, खाने मुख धेरै । सधैँझैँ यसपटक पनि सबैले थापेको भाँडोमा भाग पुग्ने गरी भागबन्डा मिलाउन गाह्रो भयो । अनि भागबन्डा शब्दलाई नै भागबन्डा किन नगर्ने भन्ने नयाँ प्रस्ताव आयो । भागबन्डा शब्दको चार अक्षरबाट मिल्ने भाग खोज्न अर्को प्रयास शुरु भयो ।

सबैभन्दा पहिले भागबन्डा शब्दको अघिल्लो अक्षर ‘भा’ बाट भए/नभएका भाग निस्के । कसैले ‘भा’ बाट भात मात्रै होइन भारतसम्मै ताके । भारत नै ताक्दा पाइन लागेको भातमा पनि लात पर्ने हो कि भन्ने त्रासले पनि केहीलाई सतायो । त्यसपछि भात र भारत भन्नेले भात र भत्ता हुन्छ भने । कसैले भाषण र भर्‍याङ खोजे । भोज र भोग गर्ने भुक्तभोगीलाई पनि ‘भा’ अक्षरले भुलायो । पहिले भिख मागेर भागबन्डाको भीडमा मिसिएकोले भिटो लाउनेसम्मको कुरा गरे । भिनाजु र भदाभदैसम्मलाई भाग चाहिन्छ भन्नेहरू पनि निस्के । कोही पोल्टो छोडेर भुइँकाे टिप्न निहुरिए, कोही भिसा खोजेर भीर बिर्सिन दौडिए ।

कसैले भने– ‘भा’ बाट भाषण मात्रै गर्ने अनि काम चाहिँ केही नगर्दा भाग्नुपर्ने स्थिति पनि आउँछ । यस्तालाई त अरूले भकुर्न सक्छन् भनेर अर्काथरी भुतभुतिए । भागबन्डाको ‘भा’ बाट माथि जान भर्‍याङ खोज्ने तर भाका र भाषण भुल्ने गर्दा त्यहाँ पनि भाग्नुपर्ने अर्को चिन्ता थपियो । कोही भुकिरहे, कोही भावुक भए । कोही भुसुनाजस्ता, कोही भेडाजस्ता । पदको भोकलाई भोज र भोगको भकारी लगाउनुपर्छ भन्दै जाँदा धेरैले भूतकाल र भूमिगतकाल भुले । फेरि भाक्कभुक्क भयो । ‘भ’ र ‘भा’ अक्षरबाट आउने भागमै भाँडभैलो भयो ।

‘भा’ अक्षरबाट आउने भागको चिन्ता भैरहँदा ‘ग’ को गुनगुन पनि सुनियो । गु, गोबर र गुँदलाई एकै ठाउँमा राखेर गोलमाल गर्दा गन्ध निस्कियो । गन्ध गोबर र गुको पनि हुन्छ, गोली र गोजीको पनि । त्यसैले भागबन्डाको ‘ग’ मा कसैले गोलीको भाग खोजे, कसैले गोजीको । गोली र गोजी दुवैमा गजबको शक्ति । तर ‘ग’ कै भागमा पर्ने गाँठी काम छोडेर गाँठो मात्रै पार्ने प्रवृत्तिले गोलमाल होला कि भन्ने डर भयो । ‘ग’ भित्रै गुट निस्के । गुणका गुरुभन्दा गुटका गुण्डा सलबलाए । गोली र गुलेली सोझिए । गुजुल्टो बटारिए । त्यसैले ‘ग’ को गनगन पनि गनि नसक्नुभयो । गनगन, गल्याङमल्याङ र गोलमाल भयो ।

उता भागबन्डाको अर्को अक्षर ‘बन्’ काे खोजी गर्दा आफूमात्रै बन्ने कुरादेखि बन्चरोले चिराचिरा पारेर भाग लगाउनेसम्मका योजना बने । कसैले अर्कोलाई बोक्ने भाग लगाए, कसैले अर्काको बुई चढ्ने भाग रोजे । बल, बुद्धि र विवेकको कुरा उठे । तर ‘ब’ र ‘बन्’ अक्षरबाट बल र बुद्धि लगाएर जतिसुकै बहस गरे पनि यसको भागबन्डाले पनि आफैँलाई बेर्न थाल्यो । कसैले भने– बन्छ मात्रै भन्ने, तर बन्धनले बाँधेर बन्नै नदिने बनमारा प्रवृत्ति भयो । बाँच्न खोज्नेलाई बच्नै नदिने बिप्ल्याँटो र विपरीत बुद्धि बढ्यो भनेर चिन्ता गर्नेहरू पनि देखिए ।

भागबन्डाकाे ‘डा’ अक्षरबाट पनि धेरै भाग छुट्टिए । कसैले भने डाङडुङ गर्ने । कसैले डस्ने र डोरीले कस्नेसम्मका कुरा गरे । आफू डगमग नगरिकन कुर्सीमा बसिरहन खोज्नेहरू पनि देखिए । कसैले डमरु बजाए, कसैले आफन्त र परिवारलाई डाके । डाँका पनि भेटिए, डन पनि देखिए । डर पनि बढ्यो । डाहा पनि भयो । डाङडाङ र डुङडुङ हुन थालेपछि भागबन्डाको ‘डा’ मा पनि भाग पुगेन ।

भागबन्डाको चार अक्षरलाई पनि भागबन्डा गर्दा भागभन्दा पनि गुणा गरेजस्तो भागैभाग धेरै भयो । भागैभाग धेरै भएपछि भाग लगाउन खोज्नेहरूको भागाभाग भयो । कोही डरछेरुवा भएर भागबन्डाबाट परै बसे । कसैले डर देखाएजस्तो गरेर जुठोपुरो र रहलपहलमा चित्त बुझाए । सधैँ गुलियोमा मात्रै भुल्न बानी भएकाहरू चाहिँ अर्काकोसमेत भाग खोसेर दङ्ग परे ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया