पाकिस्तानको कराची विमानस्थल नजिकै विस्फोट हुँदा दुई जना चिनियाँ नागरिकको ज्यान गयो

 असोज २१, २०८१ सोमबार १२:५५:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानको कराचीमा रहेको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा दुई जना चिनियाँ नागरिकले ज्यान गुमाएका छन् । पाकिस्तानमा रहेको चिनियाँ राजदूतावासले भने गएराति भएको विस्फोटमा अरू धेरै पाकिस्तानी नागरिकले पनि ज्यान गुमाएका र धेरै घाइते भएका जनाएको छ । तर मृतकको सङ्ख्या अझै पनि स्पष्ट नरहेको बीबीसीले जनाएको छ ।

घटनास्थल पुगेका एक जना प्रहरी प्रवक्ता गुलाम अजफर महेशरले एउटा इन्धन ट्याङ्करमा पनि आगो लागेको र त्यसले गर्दा नजिकै रहेका गाडीहरू पनि जलेका बताउनुभएको खबरमा उल्लेख छ । एउटा पृथकतावादी समूह बलोच लिबरेशन आर्मी (बीएलए) ले आफूले चिनियाँ इन्जिनियर र लगानीकर्ता चढेका गाडी लक्षित आक्रमण गरेको भन्दै घटनाको जिम्मेवारी लिएको छ ।

उग्रवादी समूहले आज सार्वजनिक गरेको विज्ञप्तिमा कराची विमानस्थलबाट आइरहेको चिनियाँ इन्जिनियर र लगानीकर्ताको गाडीलाई आफूले निशाना बनाएको उल्लेख छ ।

चिनियाँ राजदूतावासले भने सिन्ध प्रान्तमा रहेको एउटा ऊर्जा परियोजनाका इन्जिनियरहरूलाई लक्षित गरी आक्रमण भएको बताएको छ । चिनियाँ लगानीको पोर्ट कासिम पावर जेनेरेशन कम्पनी लिमिटेडका इन्जिनियरहरू आक्रमणमा परेका चिनियाँ राजदूतावासले जनाएको छ ।

यो कम्पनीले कराचीको पोर्ट कासिम नजिकै दुई वटा कोइलाबाट चल्ने ऊर्जा केन्द्र बनाइरहेको छ । यो ऊर्जा उत्पादन केन्द्र चीन–पाकिस्तान आर्थिक करिडरको हिस्सा हो । त्यसले पाकिस्तानको बलोचिस्तान प्रान्तमा कैयौं ऊर्जा र पूर्वाधार परियोजनामा लगानी गरिरहेको छ ।

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया