महिनावारी हुँदा घरभित्र बस्नेलाई सम्मान

 मंसिर २४, २०७५ सोमबार ८:२८:१६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – तल्कोट गाउँपालिका १ खातीगाउँकी ३४ वर्षीया विन्दु खातीले आफ्नो जिवनको २० वर्ष हरेक महिनाको ५ दिन गोठमै बसेर बिताउनुभयो । गोठमा बस्दा उहाँले भोगेको दुःख भनि साध्य छैन । उहाँ भन्नुहुन्छ ‘कसैले दिएन भने तिर्खा लागेको बेला पानी पनि खान पाइँदैन थियो ।’  लामो समय गोठमा बसेका कारण चिसो लागेर अहिले पनि उहाँका हातखुट्टा सुन्निने गर्छ । 

गाउँभन्दा अलि टाढा भएको एक मात्र साँघुरो छाउ गोठमा कहिले गाउँभरीका महिला बस्न ठाउँ नहुने, कहिले एक्लै डराइ–डराइ बस्नुपर्ने, गोठमा ठाउँ नभएको दिन खेतको भित्तामा पाल टाँगेर बस्नुपर्ने तीता क्षणहरु उहाँको मस्तिष्कमा अझै पनि ताजा छन् । 

महिनावारी भएको समयमा घर नजिक आउनु हुँदैन, पानीका धारामा छुनु हुँदैन, देउता रिसाएर अनिष्ठ हुन्छ भन्ने मान्यताले जरो गाडेको समाजमा उहाँ छाउपडि प्रथाको विरुद्धमा लागेर सुरुमा घर भित्र बस्दा समाजले उहाँको धेरै कुरा काटे । उमेर पाक्दै जाँदा छाउपडी प्रथा महिलामाथिको हिंसा हो भन्ने बुझ्दै गएकी विन्दुले यस्ता कुरा सुने पनि खासै चासो दिनुभएन । ‘एकवर्ष यता महिनावारी (छाउ) भएको समयमा घर भित्रै बस्छु । न देवी रिसाउँछन् न देउता । यो त खाली अन्धविस्वास मात्र रहेछ ।’ उहाँले भन्नुभयो । 

अहिले गांउका धेरै महिला घरभित्र बस्न थालिसकेका छन् । एक पछि अर्काे गर्दै महिलाहरुले घरभित्र बस्ने र साविककोझै खानेकुराहरु खाने गर्न थालेपछि अहिले यहाँका धेरै जसो महिलाहरुले छाउपडि बार्न छोडिसकेका छन् । 

चौरगाँउकी रमकला विक भन्नुहुन्छ ‘छाउ भएको समयमा दही दुध खाँदा गाई भैँसी मर्ने, गाई भैसीले दुध नै नदिने, सन्तान नहुने भन्ने चलन थियो । सुरुमा त निकै नै डर लागेको थियो । पहिला घर भित्र बस्यौँ बिस्तारै दुध दही खान सुरु गर्यौँ । कसैलाई केही भएन ।’ ढिलै भए पनि छाउप्रथा भनेको नराम्रो हो भनेर बुझ्न पाएकोमा खुशी लागेको उहाँ बताउनुहुन्छ । 

पछिल्लो समय महिनावारी भएकी महिलालाई विभेद गर्ने चलन अझै भए पनि पछिल्लो समय बझाङ जिल्लामा छाउपडीको विरोध गर्ने महिलालाई विभिन्न संघ संस्थाले सम्मान गर्न थालेको छ । 

छाउपडी प्रथा, मदीरा न्युनिकरण र महिला हिंसा न्युनीकरणका लागि जिल्लाका विभिन्न गाउँपालिका तथा वडापालिकाले पनि विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गरिरहेका छन् । तल्कोट गाउँपालिका १ का वडा अध्यक्ष गोपाल बहादुर धामी भन्नुहुन्छ ‘यस्ता जनचेतनामूलक कार्यले अहिले छाउपडी रोक्नमा निकै महत्वपूर्ण भूमिका खेलेको छ । 

महिनावारी हुँदा घरभित्र बस्ने  १२  जना महिलालाई  स्थानीय महिला कल्याण बचत तथा ऋण सहकारी संस्था, महिला अधिकार मञ्च, तल्कोट गाँउपालिका वडा नम्बर एकको कार्यालयले सम्मान पनि गरेको वडा अध्यक्ष धामीले बताउनुभयो ।  गएको वर्ष पनि छाउ भएको बेला घरभित्रै बस्ने तल्कोट गाउँपालिका १ का  घट्टेबगर गाउँका १२ , बेडालका १२, गिरसयल, मौभेरा, खातीगाउँ, नुवापानीका ३÷३ जना, भाटगाउँ र असिसैनका २, सेरागाउँका ६ र चौरका १ गरी ४७ जना महिलाहरुलाई सम्मान गरिएको थियो । 
 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया