भारतीय पैसा सटहीमा दलाल सक्रिय, बराबरी मूल्यमा नेपाली दिँदै भारु लिँदै

 पुस ७, २०७५ शनिबार १९:४०:३१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङ जिल्लामा बराबरी मूल्य बनाएर दलालहरुले नेपाली रुपैयाँ दिँदै भारु लिँदै गरेका छन् । व्यापारी तथा दालालहरुले स्थानीयवासीहरुसँग भारु र नेपालीको मूल्य बराबरी बनाएर नेपाली रुपैयाँसँग भारु साटिरहेका छन् ।

नेपाल सरकारले भारतीय नोटमा प्रतिबन्द लगाएपछि स्थानीयवासीसँग रहेको भारु साट्न व्यापारी तथा दालालहरुले भारु बराबर मूल्यकै नेपाली रुपैयाँ दिने गरेको स्थानीयवासीहरु बताउँछन् । केदारस्युँ गाउँपालिकाकी सीता बिष्टले आफूसँग रहेका २ हजारका भारु पाँच नोट नेपाली दशहजारमा साटेको बताउनुभयो ।

श्रीमानले दसैँताका घरखर्चको लागि आफन्तलाई पठाएको भारु पैसा त्यही मूल्य बराबर नेपाली रुपैयाँमा स्थानीय बजार बागथलामा साँटेको उहाँले बताउनुभयो । 
नेपाल सरकारले भारतीय दुई सय, पाँच सय,  दुई हजार दरका नोट साट्न प्रतिबन्ध लगाएपछि बझाङका धेरै मानिसहरुको दैनिकी प्रभावित बनेको छ । घरका पुरुषहरु भारतमा रहेको र उनीहरुले पठाएको रकम साट्न नपाउँदा धेरै ग्रामिण महिलाहरुले घरखर्च जुटाउन समेत सकेका छैनन् ।

यही समस्यालाई मौका छोपेर महिलालाई ठग्नका लागि दलालहरु सक्रिय बनेका छन । कतिपयले महिलले बराबरी मूल्यमा भारुसँग नेपाली रुपैयाँ साटेर गर्जाे टारेको बताएका छन । छोराले दसैँमा घरखर्चको लागि आफन्तलाई पठाएको १० हजार भारतीय रुपैयाँ साट्न नपाउँदा दैनिक घरव्यवहार चलाउन समस्या भएको दुर्गाथली गाउँपालिकाकी रामकला धामीले बताउनुभयो ।

धामीलाई भारु पैसा नसाटिने हो कि भन्ने चिन्ताले सताउन थालेको छ  । ‘घरमा दैनिक उपभोग्य बस्तुहरु सकिन लागेको छ । केटाकेटीको न्यानो लुगा किन्नु बाँकी छ । जता गए पनि यो पैसा चल्दैनन भन्छन’, धामीले भन्नुभयो, ‘यी पैसा के गर्ने ?, बाल्ने कि फाल्ने ! निकै चिन्ता लाग्न थालेको छ ।’ 

आफन्तले भारतबाट पठाएको ठूला दरका नोट नसाटिँदा जिल्लाका अधिकांश भेगका ग्रामिण महिलाहरु तनावमा छन । धेरैलाई दैनिक घरब्यवहार चलाउन पनि समस्या भएको छ । छोटो तथा लामो अवधिको रोजगारीका लागि बझाङका ४०–४५ हजारभन्दा बढी युवाहरु छिमेकी देश भारतका विभिन्न शहरहरुमा रोजगारी गर्दै आएका छन ।

पुरुषहरु भारतमा कमाउन जाने हुनाले बझाङमा धेरै भारु पैसा आउने गर्छ । पुरुषहरु रोजगारीका लागि भारतमा हुने भएकाले अधिकांश घरब्यवहार महिलाहरुले नै चलाइरहेका छन । दलालहरुले महिलाहरुलाई यही मौकामा ठगीरहेका छन् ।

भारतबाट श्रीमानले पठाएको हजार दरका आठ हजार भारु चलेको दरमा कसैले नसाटिदिएपछि सदरमुकामका एक व्यापारीबाट आठ हजार नेपाली लिएर आठ हजार भारु दिएको थलारा गाउँपालिका मनिकला सुनारले बताउनुभयो । 

‘नोट साट्न धेरै ठाउँ धाएँ । कसैले अब यी नोट नै चल्दैन भने कसैले ५–६ हजार दिन्छौं भने’, मनिकला सुनारले भन्नुभयो, ‘एउटाले बराबरीमा साटिदिन्छु भन्यो । दिन–दिनै सदरमुकाम धाउनुभन्दा बराबरीमै साट्नु ठिक ठानेर साटे ।’

यस्तै भारतबाट श्रीमानले पठाएको ३० हजार भारु साट्न सदरमुकाम आएकी गडरायकी धौली खड्काले पनि दिनभर भारु साट्न भौतारिँदा पनि कसैले चल्तीको दरमा भारु नसाटिदिएको गुनासो गर्नुभयो । उहाँले भारु नसाटिँदा धेरै महिलाहरु तनावमा रहेको बताउनुभउयो ।

सदरमुकाम चैनपुरका कतिपय व्यापारीहरुले बराबरी मूल्यमा वा सोभन्दा कम मूल्यमा भारु नोट साट्ने गरेको पीडित महिलाहरुले बताएका छन् । महिलालाई भारु कहिल्यै नचल्ने भन्दै ‘ब्ल्याकमेल’ गरेर कम बराबरी मूल्य तथा कम मूल्यमा भारु पैसा लिएर नेपाली पैसा दिने व्यापारी तथा दलालको सक्रियता बढेको खप्तड छान्ना गाँउपालिकाका स्थानीय वीरेन्द्र बहादुर सिंहले बताउनुभयो ।

गाउँ–गाउँबाट भारु नोट संकलन गरेर उनीहरुले नजिकका भारतीय शहरहरु गएर बैङकिङ च्यानल (आईएमई गरेर) नेपाल पठाउने गरेको र नेपालमा आएर नेपाली नोट बुझ्ने गरेको बुझिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया