सुरक्षालाई मध्यनजर गर्दै ताप्लेजुङका गाउँ–गाउँबाट प्रशासनले हतियार संकलन गर्न थाल्यो

 फागुन ३०, २०७५ बिहिबार १४:२३:२४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा सुरक्षालाई मध्यनजर गर्दै ग्रामीण क्षेत्रबाट हात हतियार संकलन सुरु गरिएको छ । अवैध रुपमा लुकाएर राखिएका तथा लाइसेन्स लिएर आधिकारिक रुपमा राखेका हातहतियारहरु संकलन गर्न जिल्ला प्रशासनले सुरु गरेको हो । 

जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका फक्ताङलुङबाट १० वटा हात हतियारहरु संकलन गरिएको छ । ९ थान भरुवा बन्दुक र एक थान एकनाले बन्दुक बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी संकलन भएका भरुवा बन्दुकहरु सार्वजनिक गरेको हो । 

फक्ताङलुङ गाउँपालिकाको ईखाबु, लिङखिम तथा खेजेनिमबाट ती हतियार संकलन गरिएको प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा बन्दुक पड्किएर जनधनको क्षति भएको तथा जिल्लामा अवैध शिकार गर्नेको संख्यासमेत उल्लेख्य मात्रामा बढेको हुनाले हा हतियार संकलन गरिएको डीएसपी थापाले बताउनुभयो । 

जिल्लाको मैवाखोला, सिदिङवा, फक्ताङलुङ तथा आठराई त्रिवेणी गाउँपालिकामा अवैधरुपमा शिकार गर्नेको संख्या बढेको भन्दै मैखिक रुपमा हल्ला आएको हुनाले पनि हात हतियार संकलन गर्न सुरु गरिएको हो । 

हातहतियार संकलनको लागि गएको माघ महिनामा जिल्लाका सबै गाउँपालिकालगायत सर्वपक्षीया भेला राखी सहमति जुटाएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो । त्यसपछि फागुन ९ गते सम्पूर्ण स्थानीय निकायलाई हातहतियार संकलन गर्नका लागि पत्र पठाएको प्रजिअ भण्डारीले बताउनुभयो । 

त्यसपछि हतियार संकलन थालिएको र पहिलो पटक फक्ताङ्लुङबाट संकलन गरिएको बताउँदै प्रजिअ भण्डारीले सूचना प्रवाह गरेपछि स्वतःस्फुर्त रुपमा केही संकलन भएका र सुराकीका आधारमा घर गई हतियार ल्याएको समेत बताउनुभयो । 

जिल्लामा वैधानिक रुपमा झण्डै २७५ जति हतियार रहेका र ती सबै संकलन गर्न सबैलाई अनुरोध गरिएको छ । अवैधानिक रुपमा भएका हतहतियार पनि सबै संकलनका लागि अनुरोध गरिएको छ । तर अटेर गरेर घरमै राखिए र प्रहरी प्रशासनले भेटेमा हतहतियार खरखनासम्बन्धी मुद्दा लगाएर कारबाही गरिने समेत प्रजिअ भण्डारीले बताउनुभयो । 

प्रजिअ भण्डारीले यदि प्रहरी प्रशासन तथा सम्बिन्धित निकायमा ल्याएर हातहतियार बुझाएमा पुरस्कारको व्यवस्थासमेत रहेको बताउनुभयो । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया