ठेकेदारले हटाएका सौर्यबत्ती फेरि जडान गरिँदै

 चैत ३, २०७५ आइतबार १०:२६:२१ | विमल बिष्ट
unn.prixa.net

डोटी – सम्झौता अनुसार रकम नदिएको भन्दै निकालिएको दिपायलको पिपल्ला बजारको सौर्य बत्ती फेरि जडान गर्न थालिएको छ । ठेकेदार कम्पनी मनिङ सनले आफूहरुसँग गरिएको सम्झौता अनुसार रकम नदिएको भन्दै दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्ती गएको फागुन २५ गते निकालेर लगेका थिए । 

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासी, ठेकेदार कम्पनी मनिङ्ग सन, उद्योग बाणिज्य संघका पदाधिकारी, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्याल तथा पत्रकारसहितको बैठकले सौर्यबत्ती जडान गर्ने निर्णय गरेको हो ।

‘सौर्यबत्ती जडान गरेको रकम नपाउँदा हामीलाई समस्या भएकाले बत्ती उखेलेका हौँ, रकम दिने सहमति भएपछि पुनः बत्ती जडान गर्न थालेका छौँ ।’ ठेकेदार वेदप्रकाश कठायतले बताउनुभयो । 

जिल्ला प्रशासनमा भएको सहमतिमा  ७ दिन भित्रमा सबै सौर्य बत्ती (सडक बत्ती) मर्मत गरी बलेको हुनुपर्ने र यही अवधीमा नगर–पालिकाका प्राविधिकबाट फिल्ड प्रतिवेदन बुझाई दिपायल सिलगढी नगरपालिकाले आउँदो नगरसभाबाट बजेट व्यवस्था गरी भुक्तानी गर्ने सहमति भएको छ ।

सम्झौता अनुसार कूल ३२ लाख ७२ हजार ९२५ रुपैयाँमध्ये २३ लाख २ हजार ५०० भुक्तानी लिइसकेको र स्वयं उद्योग वाणिज्य संघले व्यहोर्नुपर्ने रकम ४ लाख ९० हजार ९३८ रुपैयाँ ७५ पैसा घटाउँदा ४ लाख ७९ हजार ४८६ रुपैयाँ २५ पैसा रकम भुक्तानी पाउन बाँकी रहेको देखिन्छ ।

 यसमध्ये पनि उद्योग वाणिज्य संघले व्यहोर्नुपर्ने जनश्रमदान रकममध्ये २ लाख २५ हजार रुपैयाँ दिपायल सिलगढी नगरपालिकाको खातामा जम्मा गरिसकेकाले अब ७ लाख ४ हजार ४८६ रुपैंया उक्त कम्पनीले पाउनुपर्ने देखिन्छ । सडक बत्ती जडान कार्यक्रम सञ्चालनका क्रममा प्रक्रिया नपुगेर भुक्तानी हुन नसकेको देखिएको र आफू पछि आएर मात्रै नगर प्रमूखमा निर्वाचित भएकाले यस विषयमा त्यतिबेलाका कर्मचारीलाई थाहा हुने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो ।

सरकारी अनुदानमा ठेकेदार कम्पनी मनिङ्ग सनले पिपल्ला बजारमा जडान भएका ३० वटा सौर्यबत्ती मध्ये ७ वटा बत्ती हटाएको थियो । तत्कालीन दिपायल सिलगढी नगरपालिकाका कार्यालय प्रमुख तुलसीप्रसाद आचार्यले यो कम्पनीसँग सोलार राख्नेबारे सम्झौता गर्नुभएको थियो । 

त्यतिबेला रकम भुक्तानी नभएको र उहाँ सरुवा भएर अन्यत्र गइसकेपछि पुरानो रकम भुक्तानी गर्न नसकिने दिपायल सिलगढी नगरपालिकाले अडान राख्दै आएको थियो । डोटी उद्योग वाणिज्य संघसँग २०७३ फागुन १७ गते नगरपालिकाले ३० लाखमा ३० पोलको सम्झौता गरी सौर्यबत्ती जडानका लागि कार्यादेश दिएको थियो । 

त्यसपछि उद्योग वाणिज्य सँघले त्यो काम २०७३ फागुन ६ गते मर्निङ्ग सन नेपाल कम्पनीलाई जडानका लागि ठेक्का दिएको थियो । कम्पनीले काम गरेबापत दुई पटकको किस्ता गरी २३ लाख रुपैयाँ भुक्तानी पाइसकेपछि बाँकी रकम उद्योग वाणिज्य संघलाई नै नगरपालिकाले नदिँदा ठेकेदारलाई दिन नसकिएको उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ३, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया